नेत्र गैरे
पाल्पा, पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका केन्द्रीय महासचिव राजेन्द्र बानियाँले नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी उच्च रहेको बताउनुभयो ।
प्याब्सन पाल्पाको सातौँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय महासचिव बानियाँले निजी क्षेत्रकै योगदानको कारण शिक्षाको लागी विदेशीने रकम स्वदेशमै परिचालन भएकोले सरकारले निजी क्षेत्र लाई सम्मान र सहयोग गर्नुपर्ने बताउनुभयो ।
निजी क्षेत्रले शिक्षामा गरेको लगानीको कारण राज्यको अरबौँ खर्च बचाइदिएको अवस्थामा राज्यबाटै शिक्षामा लगानी गरेका व्यक्ति र संघसंस्था चेपुवामा पारेको बताउनुभयो । देशकै एउटै नियम कानूनबाट संचालन हुने एउटै परीक्षा प्रणालीबाट जाँच दिने परिक्षार्थी माथि राज्यले विभेद गरेको बताउँदै महासचिव बानियाँले सामुदायिक र संस्थागत विद्यालयमा पढ्ने बालबालिकाहरुलाई समान अवसर र छात्रवृत्ति दिनुपर्ने बताउनुभयो । राज्यद्वारा गठित उच्चस्तरीय शिक्षा आयोगले निजी क्षेत्रको मर्म र भावनाअनुसार काम नगरेकोसमेत महासचिव बानियाँको भनाइ थियो ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद डा. पुरनमान बज्राचार्यले समुदायिक र संस्थागत बिद्यालयहरु एकअर्काबीच समन्वय गरी अघि बढनुपर्ने बताउनुभचयो । प्रदेश सांसद वीरबहादुर रानाले विद्यालयहरुले विद्याार्थीहरुलाई शिक्षाका साथै संस्कारसमेत सिकाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता नेत्र पाण्डे, राप्रपा प्रजातान्त्रिका केन्द्रिय सदस्य डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, त्रिभुवन बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख कृष्णबहादुर कार्की, प्याब्सन ५ नं प्रदेशका संयोजक कृष्ण खनाल, प्याप्सु पाल्पाका अध्यक्ष चर्तुभुज नेपाललगायतले निजी क्षेत्रले शिक्षामा गरेको लगानी प्रसंशनीय भएकोले प्राविधिक शिक्षा, सिपयुक्त शिक्षा, घोकन्तेभन्दा व्यवहारिक शिक्षामा प्रदान गर्न सक्रिय लाग्न सुझाव दिनुभयो ।
संस्थाका सचिव डासुराम पन्तले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल पाल्पामा २० वटा मा. वि. र ३० वटा आधारभूत तह गरी जम्मा ५० वटा संस्थागत विद्यालय रहेको जसमा १५ हजार ८ सय ७४ विद्यार्थी, ८ सय ४७ शिक्षक र १ सय ५० कर्मचारी रहेको र गुणस्तरीय शिक्षाका लागि समयसमयमा शिक्षकलाई तालिमहरु प्रदान गर्दै आएको बताउनुभयो । उहाँले आउँदा दिनमा प्राविधिक शिक्षा, शिक्षक कल्याणकारी कोषको स्थापना गर्ने र प्याब्सनको भवन निर्माण गर्नेलगायतका लक्ष्य रहेको बताउनुभयो ।
उपाध्यक्ष महेश बज्राचार्यले स्वागत गर्नुभएको कार्यक्रममा विभिन्न व्यक्ति तथा उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको थियो । सचिव डासुराम पन्त, सहसचिव अशेष भट्टराईको सञ्चालन र प्याब्सन पाल्पाका अध्यक्ष भरत न्यौपानेको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।
अधिवेशनले भरतप्रसाद न्यौपानको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा महेशमान बज्राचार्य, सचिव डाँसुराम पन्त, सहसचिव अशेष भट्टराई, कोषाध्यक्ष गंगाबहादुर खत्री, सहकोषाध्यक्ष दिलीप रायमाझी, सदस्यहरू दुर्गा बश्याल, पुर्णबहादुर थापा, मन्जु ज्ञवाली, लक्ष्मण भण्डारी, ऋषिराम अर्याल, भेषराज पंगेनी र यमबहादुर दर्लामी रहनुभएको छ ।
प्याब्सन पाल्पाको सातौँ अधिवेशन सम्पन्न
