प्रतियोगितामा सहभागि खेलाडीहरुले राज्यले एम्प्युटी खेलहरुको विकास गर्नुपर्ने माग राखेका छन् ।
काठमाडौं, पुस २७ । नेपाली फुटवल ईतिहासमा पहिलो पटक राष्ट्रिय स्तरमा अपाङ्गता भएका व्यक्तीहरुले फुटवल खेल्ने भएका छन् । जावलाखेल स्थित सेन्ट जेभियर्स स्कुलको ग्राउण्डमा आज र भोली अपाङ्गता भएका खेलाडीहरुहरुले राष्ट्रिय स्तरमा फुुटवल खेल्ने भएका हुन् ।
एम्प्युटी सोसाईटी स्पोर्टस नेपालले आयोजना गरेको प्रथम पारा राष्ट्रिय खेलकुद च्याम्पीयन्ससिप २०७५ अन्तर्गत फुटवल प्रतियोगिता हुन लागेको हो । दुई चरणमा हुने प्रतियोगितामा एम्प्युटी स्पोर्टस सोसाईटि नेपालको समूह ‘ए’, समूह ‘बी’ र आर्मी बिच प्रतिस्पर्धा हुँदै छ । आज पहिलो चरणमा हुने खेलहरुमा तिनै टिम एक अर्का संग भिड्ने सोसाईटीका उपाध्यक्ष तथा समूह ‘बि’ टिमका कप्तान विपिन पौड्यालले बताउनुभयो ।
प्रतियोगितामा एक टिमबाट ७ जना खेलाडीको सहभागिता रहने छ । एक हातको अशक्तता भएकालाई गोल रक्षक र एक खुट्टाको अशक्तता भएका लाई डिफेन्स तथा फर्वाडको रुपमा छनौट गरिएको सोसाईटीका उपाध्यक्ष पौड्यालले बताउनुभयो ।
एम्प्युटी स्पोर्टस सोसाईटी नेपाल ‘ए’ मा डिल्लीबहादुर बिष्ट, एम्प्युटी स्पोर्टस सोसाईटी नेपाल ‘बी’मा विपिन पौड्याल र आर्मीमा मुकुन्द बहादुर ढुँगानाले कप्तानी सम्हाल्दै हुनुहुन्छ ।
प्रतियोगितामा सहभागि खेलाडीहरुले राज्यले एम्प्युटी खेलहरुको विकास गर्नुपर्ने माग राख्नुभएको छ । एम्प्युटी स्पोर्टस सोसाईटी नेपाल ‘ए’ का कप्तान डिल्लीबहादुर बिष्टले राज्यले प्यारा ओलम्पीक खेलहरुमा आवश्यक लगानी गरेर खेलाडीहरुलाई हौसला प्रदान गर्नुपर्ने बताउनुहुन्छ । त्यस्तै समूह ‘बि’का कप्तान विपिन पौड्यालले नेपालमा अपाङ्गता भएका खेलाडीहरुलाई प्रशिक्षणको कमी भएको बताउनुहुन्छ । ‘हामीलाई उचित प्रशिक्षणको व्यवस्था हुन सकेको छैन, अन्तराष्ट्रिय स्तरमा आफुलाई उभ्याउन सक्ने खालका प्रशिक्षणका कार्यक्रमको आवश्यक छ ।’ कप्तान पौड्याल भन्नुहुन्छ । अर्को टिम आर्मीका कप्तान मुकुन्द बहादुर ढुँगानाले फरक क्षमता भएका व्यक्तीहरुका लागि राष्ट्रय स्तरमा अझैं धेरै प्रतियोगिताहरु संचालन हुनु पर्नेमा जोड दिनुभयो । उहाँले अपाङ्ग भएका खेलाडीहरुको मनोबल उच्च राख्न पनि यस्ता खाले प्रतियोगिताको आयोजना हुनुपर्ने बताउनुहुन्छ ।
खेलकुद परिषद्को आथिक सहयोग र नेपाल पारा ओलम्पीक कमिटिको समन्वयमा एम्प्युटी स्पोर्टस सोसाईटी नेपालको आययोजनामा हुन लागेको फुटवल प्रतियोगिताको भोली समापन हुने छ । प्रतियोगिताको समापन एन्फाका उपाध्यक्ष कृष्ण बहादुर थापाले गर्ने एम्प्युटी सोसाईटी स्पोर्टस नेपालका अध्यक्ष मदनबहादुर रोकायाले जानकारी दिनुभयो । प्रतियोगिताका विजयीलाई ट्रफी र मेडलसहित सम्मान गरिनेसमेत अध्यक्ष थापाले बताउनुभयो ।
यस अघि बुधबार प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले अपाङ्गता भएका खेलाडीले राज्यबाट पाउनुपर्ने सेवा सुविधाको वारेमा पनि सम्वन्धित तह तप्कामा पहल गर्ने बताउनुभएको छ । उहाँले नेपाली अपाङ्गता भएका खेलाडीहरुले पनि विभिन्न देश विदेशमा हुने प्रतियोगितामा पदक जित्न हौसला समेत दिनुभयो ।