नमस्ते नेपालमा जोडिए ९० जना नयाँ सदस्य

मेचीकाली संवाददाता

१७ असार २०८०, आईतवार
428 shares

बुटवल । वि.सं २०६८ सालमा बाल समूहको प्रतिभा प्रस्फुटन र उनीहरुलाई समाजमा स्थापित गराउने उद्देश्यले खोलिएको संस्था नमस्ते नेपाल रूपन्देहीमा अहिले यूवाहरुको सहभागिता बढ्दै गएको छ । हालै एक साताको लागि खुलाइएको सदस्यता फारममार्फत ९० जना नयाँ सदस्य जोडिएका छन् ।

सामाजिक कार्यमा अग्रसर संस्थामा जोडिएका नव आगन्तुक सदस्यहरूलाई शनिबार स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष मनिस भुसालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अर्जुन खरेल, संस्थापक उपाध्यक्ष दिपेन कंडेल, नेपाल स्वयंसेवि रक्तदाता समाजका केन्द्रिय महासचिव कृष्ण चौहान क्षेत्री, युवा समाजसेवि भरतजंग क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका नव आगन्तुक सदस्यहरूलाई टिका लगाएर स्वागत गरिएको थियो । संस्थापक अध्यक्ष खरेलले नयाँ सदस्यहरुलाई प्रशिक्षण दिएका थिए । नयाँ सदस्यले लगाएको टिका राष्ट्र र समाज प्रतिको जिम्मेवारीको प्रतिक रहेको उनले बताए ।

यस्तै, कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भुसालले संस्थालाई थप उचाईमा पुराउन छिट्टै देशका सातै ओटै प्रदेशमा शाखा विस्तार गर्ने बताए । कार्यक्रम संस्थाका प्रवक्ता प्रशान्त ज्ञवालीको स्वागत, सचिव सन्दिप पौडेल क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।