प्रकाश आचार्य
बुटवल, पुस । प्रदेश नम्बर पाँचको सार्वजनिक लेखा समितिले गाडी खरिदमा अनियमितता भएको खबर बाहिर आएपछि प्रयोग गर्दै आएको गाडी प्रदेशसभा सचिवालयमा बुझाएको छ । अनियमितता छानबिन गर्न नैतिक संकट आउने भन्दै सत्यतथ्य बाहिर नआउँदासम्म आफू उक्त गाडी नचढ्ने जानकारी गराउँदै समिति सभापति डिल्लीबहादुर चौधरीले शुक्रबार दिउँसो सचिवालयका शाखा अधिकृत कृष्णप्रसाद गौतमलाई गाडीको चापी र बिलबुक हस्तान्तरण गर्नुभयो ।
प्रदेशसभाले उपलब्ध गराएको लु १ झ ४४१ नम्बरको गाडी चौधरीले चढ्नुहुन्थ्यो । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सभापतिले सचिवालयको जिन्सी शाखामा गाडीको साँचो र बिलबुक हस्तान्तर गरेको आफूलाई जानकारी आएको बताउनुभयो । प्रदेशसभाले बजार मूल्यभन्दा बढीमा गाडी खरिद गरेको सार्वजनिक भएपछि त्यसमा अनियमितता भएको आशंका गरिएको छ ।
प्रदेशसभा सचिवालयले उप–सभामुखसहित विषयगत समिति सभापतिका लागि १३ गाडी खरिद गरेको थियो । त्यसमध्ये ११ वटा टाटा स्ट्रोम भीएस फोर हवील गाडी हुन् । ११ वटा गाडी प्रदेशसभाले एउटा मूल्यमा र मन्त्रालयले अर्को मूल्यमा किनेको पाइएको छ । ती गाडीहरू बुटवल कालिकानगरस्थित सफल अटो इन्टरनेशनलबाट खरिद गरेको हो । ती गाडीहरू बजार मूल्यभन्दा झण्डै तीन लाख ५० लाख रूपैंयाँ बढीमा खरिद गरेको पाइएको हो ।
बजारमा ६८ लाख रूपैंयाँ पर्ने गाडी ७२ लाखभन्दा बढी मूल्यमा प्रदेशसभाले खरिद गरेको खबर सार्वजनिक भएको छ । सफलले स्थानीय गाडी खरिदकर्तालाई सफलले ती गाडी ६८ लाख ५५ हजार रूपैंयाँमा विक्री गर्दै आइरहेको बताइएको छ । प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा बढीमा गाडी खरिद गरेको गुनासो आएपछि प्रदेशसभाको सार्वजनिक लेखा समितिले प्रारम्भिक अध्ययन समिति गठन गरेको छ ।
समितिको शुक्रबार बसेको बैठकले ३ सदस्यीय प्रारम्भिक अध्ययन समिति गठन गरेको हो । नेकपा सांसद तथा समितिका सदस्य कूलप्रसाद पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको हो । जसको सदस्यहरूमा कांग्रेसका बैजनाथ कलवार र राष्ट्रिय जनता पार्टीकी कल्पना पाण्डे रहनुभएको छ । गठित समितिलाई ७ दिनको समय दिइएको छ ।
समितिले गाडी खरिदप्रति गम्भीर चासो देखाउँदै छानबिनका लागि फाइल झिकाइसकेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय र महान्याधिवक्ताको कार्यालयबाहेक अन्य सबै मन्त्रालयले गाडीका सबै डकुम्मेन्ट लेखा समितिलाई बुझाइसकेका छन् ।
समितिका सभापति चौधरीले अनियमितता भएको खबर आएकाले त्यसको गम्भीर रूपमा छानबिन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसको गम्भीर छानविन गछौं । हामीहरू कसैप्रति ‘बायस’ हुँदैनांै । जनताले तिरेको करको दूरूपयोग गर्ने छुट कसैलाई छैन ।’ छानबिन समितिका संयोजक पोखरेलले शनिबार बिहान १० बजे अध्ययन समितिले गाडी खरिदका बारेमा विभिन्न मन्त्रालयबाट आएको डकुमेन्टको पोको फुकाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ती मन्त्रालय र आएका डकुमेन्टमा के–के छन् । के के अपुग छ ? त्यसको अध्ययन गर्छौँ र आवश्यक देखिएको विज्ञ समूह पनि गठन गरी अनियमितताको सत्यतथ्या बाहिर ल्याउँछौँ ।’
टाटाका ती गाडीहरू भारतमा फेज आउट रहेको बताइएको छ । नेकपाका मुख्य सचेतक भूमिश्वर ढकाल लु १ झ ४५६, कांग्रेस विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले लु १ झ ४४७, सामाजिक विकास समिति सभापति दीर्घनारायण पाण्डेले लु १ झ ४४५ नम्बरको टाटा गाडी चढ्दै आउनुभएको छ । यस्तै प्रदेश मामिला तथा कानुन समिति सभापति दामाकुमारी शर्माले लु १ झ ४४० नम्बरको टाटा गाडी चढ्नुभएको छ । अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने शर्माले लु १ झ ४४९ नम्वरको गाडी पाउनुभएको छ । प्रतिपक्ष दलका प्रमुख सचेतक सुरेन्द्र हमालले लु १ झ ४४३ नं. को गाडी पाउनुभएको छ ।
यस्तै कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले लु १ झ ४४२, भौतिक पूर्वाधार विकास समिति सभापति आशा स्वर्णकारले लु १ झ ४४६ नम्बरको गाडी चढ्नुभएको छ । विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले लु १ झ ४४८ पाउनुभएको छ भने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले लु १ झ ४६७ नम्बरको निसान गाडी चढ्दै आउनुभएको छ ।
नेकपा सचेतक ढकालले आफूलाई जोडेर समाचार आएको भन्दै गाडी खरिदमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभयो । ‘संस्थामा मेरो लगानी छ’ ढकालले भन्नुभयो,‘त्यसमा म संलग्न छैन । राजनीतिक पूर्वाग्रहले मलाई जोडिएको छ ।’ रिपोर्टर्स क्लब प्रदेश नम्बर पाँचले गाडीको घोटला विषयमा साक्षात्कारसमेत गरेको थियो । संघीय समाजवादी फोरमा सांसद सन्तोष पाण्डेयले अबको संसद् बैठकमा गाडी खरिदको विषयमा आफूहरू आवाज उठाउने बताउनुभयो ।