जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

मेचीकाली संवाददाता

२० असार २०८०, बुधबार
366 shares

पार्वती आचार्य

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ६५ औं एक्सटेन्सन काउन्टरको उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले एक कार्यक्रमको बिच संयुक्त रुपमा काउन्टरको उद्घाटन गर्नु भएको हो । एक्सटेन्सन काउण्टरको सुरुआत भएसङ्गै सरकारी राजश्व बुझाउन तथा कार्यालयबाट सेवाग्राहीहरुलाई छिटोछरितो सेवा प्रवाह गर्न सहज भएको छ ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले जनताको आवाज र सुविधालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयको प्रांगण भित्र एक्सटेन्सन काउन्टरको स्थापना गरी जनतालाई सर्वसुलभ सेवा दिन शुरुवात गरेको भन्दै प्रमुख जिल्ला अधिकारी लगाएत जिल्ला प्रशासन कार्यालय परिवारलाई धन्यवाद दिनु भयो । आम नागरिकले भरोसा गर्ने सरकारी बैंक भएको तथा नागरिकको सेवाका लागि कार्यालय परिसर भित्र काउन्टरको स्थापना गर्नु गौरवको बिषय भएको बताउनु भयो ।

उहाँले राजस्व बुझाउन राष्ट्रिय बाणिज्य बैंकमा लामो समय सम्म लाईन लाग्ने झन्झटबाट नागरिकहरुलाई सहज हुने बिश्वास व्यक्त गर्नु भयो । प्रमुख जिल्ला अधिकारी यस जिल्लामा आएसंगै जनताले धेरै सेवा सुविधाहरु सजिलै प्राप्त गर्न पाएका छन् । यस अघि राहदानीको अनलाईन टोकनमा धेरै गुनासाहरु आएका भए पनि अहिले नागरिककै सुविधाका लागि सबै सेवा कार्यालय भित्रैबाट दिन थालेपछि सेवाग्राहीहरु धेरै खुसी भएको नगर प्रमुख पौडेलले बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जिल्ला प्रशासन कार्यालय भित्र काउन्टरको स्थापना भएपछि प्रशासनमा सेवालिन आउने सेवाग्राहीहरुलाई राजस्व बुझाउन बाहिर जान नपर्ने र सेवाग्राहीहरुले एकै ठाउँबाट सेवा प्राप्त सहज हुने बताउनु भयो । जिल्ला प्रशासन कार्यालय देखि करिव तिन सय मिटरको दुरीमा रहेको राष्ट्रिय बाणिज्य बैंक बाटै सेवाग्राहीहरुले सेवा पाईरहेको भएता पनि यस काउन्टरको संचालनबाट बैंकमा भिड समेत कम हुनुका साथै सेवाग्राहीले छिटो सेवा प्राप्त गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भिमार्जुन ज्ञवाली, नेकपा एमाले महाराजगंज नगर कमिटी अध्यक्ष निजामुद्दिन खाँले काउन्टरको स्थापनाबाट नागरिकले सहज सेवा प्राप्त गर्ने बताउनु भयो ।

कार्यक्रम राष्ट्रिय बाणिज्य बैंक तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्लेको अध्यक्षतामा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको स्वागत मन्तव्य तथा जिल्ला प्रशासन कार्यालयका नासु बाबुराम शर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यालय परिसर भित्र सेवा संचालन भएसंगै सेवाग्राहीहरुले खुशी व्यक्त गरेका छन् ।