बन्दना पोखरेल
रामपुर, पुस २८ । बेलडाँडा–ढुंगनाबेशी–मित्याल–अरुणखोला मोटरबाटोको प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले शनिबार एक समारोहका बीच उद्घाटन गर्नुभएको छ । निस्दी गाउँपालिका मित्यालमा भएको मोटर बाटो उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री पोख्रेलले दुई वटा प्रदेशलाई जोड्ने बाटोलाई निरन्तर रूपमा संचालनको लागि जलुके घाटमा पक्की पुल निर्माणको लागि पूर्वी पाल्पालाई प्रदेश नम्बर ५ को उपहार दिने बताउनुभयो ।
मुख्य मन्त्रीले अबको ६ महिनापछि जनतालाई भ्रमको खेती गर्ने खेलाडीहरुको अन्त्य हुने र सरकार नयाँ ढंगबाट आगडि बढ्ने बताउनुभयो । साथै उहाँले प्रदेश सरकार कृषिलाई आधुनिकीकरण बजारीकरण र व्यवसायीकरण गरेर आगडि बढ्ने बताउनुहुँदै प्रदेश नम्बर ५ को हरेक केन्द्रहरुमा जोडिने गरी सडक विस्तार गरिने छ भन्नुभयो ।
निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रदेश नम्बर ५ का संघीय संसद दलबहादुर राना, गण्डकी प्रदेशका संघीय संसद तिलक महत, प्रदेश सभा सदस्य युवाराज खनाल, गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठलगायतले बोल्नुहुँदै अब यस क्षेत्रका जनताहरुले परिश्रमको फल खेर नगई फाइदा लिन सजिलो भएको बताउनुभयो ।
मध्यबिन्दु नगरपालिका नवलपुरका प्रमुख चन्द्रबहादुर रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष लोक गायक बद्री पंगेनीको सांगीतिक प्रस्तुति तथा स्थानीय कौरा नाचसमेत रहेको थियोे । कार्यक्रममा मोटरबाटो निर्माण कार्यमा सहयोग पु¥याउनेलाई सम्मान गरिएको थियो । साथै कार्यक्रम तोकिएको समयभन्दा अगावै बाटो खोल्न सफल पर्ने स्कभेटर मेसिन चलाक पदमबहादुर गुरुङ र पहिलो पटक बस गुडाउने बस चालक शेरबहादुर बयम्बूलाई नगद र दोसल्लाले सम्मान गरिएको थियोे ।
पाल्पाको मित्याल हुँदै नवलपुरको अरुणखोला महेन्द्र राजमार्गसम्म जोड्न बीचमा रहेको ढाँडको बाटो खोल्न सफल भएपछि पूर्वी पाल्पाको रामपुर–मित्याल हुँदै अरुणखोला जना धेरै सजिलो भएको छ । पाल्पाको मित्याल लामेदमार र नवलपुर दमारको बीचमा रहेको करिब १३ किलोमिटर बाटो खुलाउन संघीय संसद् दलबहादुर राना र तिलक महतले ५०÷५० लाख, मध्यविन्दु नगरपालिकाले ५० लाख र निस्दी गाउँपालिकाले ४० लाख रकम विनियोजन गरेका थिए । पूर्वी पाल्पा र नवलपुर जिल्लाका जन्ताहरुको उल्लेख सहभागिता रहेको कार्यक्रमको संचालन निस्दी गाउँपालिका प्रवक्ता मेखबहादुर सुनारीले गर्नुभएको थियो ।
मित्याल–अरुणखोला मोटरबाटो उद्घाटन
