बीपी गौतम
बुटवल, पुस २९ । यातायातसँग सम्बन्धित कार्यालयहरु आएसँगै रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा चहलपहल बढेको छ । बुटवलमा रहेका यातायात पूर्वाधार निर्देशनालय, यातायात व्यवस्था कार्यालय (सवारी) एक महिनाअघि मणिग्राम सरेका हुन् । बुटवलमै रहेको यातायात व्यवस्था कार्यालय (लाइसेन्स) पनि मणिग्राममै सार्ने तयारी भैरहेको बताइन्छ । प्रदेश सरकारले यी तीनैवटा कार्यालय तिलोत्तमाको मणिग्राममा सार्ने निर्णय यसअघि नै गरेको थियो ।
यातायातसँग सम्बन्धित कार्यालय मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको विज्ञान संकायको भवनमा सरेका हुन् । तीनतल्ले सो भवनको भुइँतल्लामा यातायात व्यवस्था कार्यालय (लाइसेन्स), पहिलो तल्लामा यातायात व्यवस्था कार्यालय (सवारी) र तेस्रो तल्लामा यातायात पूर्वाधार निर्देशनालय रहनेगरी तोकिएको छ । भुइँतलाको दुई वटा कोठा सवारीका लागि दिनेगरी व्यवस्था मिलाइएको छ ।
छैन पार्किङको समस्या
पर्याप्त पार्किङसहितको भवनमा यातायात कार्यालयहरु सरेका हुन् । बुटवलमा पर्याप्त पार्किङ नहुँदा नामसारी, दर्ता, जाँचपास, रुटपरमिट लिने पुग्ने ठूला सवारीसाधनलाई सडकमै पार्किङ गर्नुपर्ने बाध्यता थियो । ‘पर्याप्त स्थान भएकाले बुटवलमा जस्तो पार्किङको समस्या यहाँ छैन । सेवाग्राहीबाट यस सम्बन्धमा कुनै पनि गुनासो सुनिएको छैन ।’ यातायात व्यवस्था कार्यालय (सवारी) का निमित्त कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेयले भन्नुभयो ।
व्यवस्थापनको काम चलिरहँदा कार्यालयले सेवा प्रवाह गरिरहेको छ । यातायात व्यवस्था कार्यालय (सवारी) मा २८ कर्मचारीको दरबन्दी रहेकोमा २५ जना कार्यरत रहेका बताइएको छ । निर्देशनालयमा सह–सचिवको नेतृत्वमा २३ जना कर्मचारीको दरबन्दी रहेको जनाइएको छ । तिलोत्तमा नगरपालिकाले प्रदेश मन्त्रालय नै ल्याउने पहल गरे पनि अन्ततः यातायातसँग सम्बन्धित कार्यालय मणिग्राम आएका हुन् ।
‘अर्को व्यवस्था नभएसम्म’ कार्यालयहरु अहिलेको भवनमा
निमित्त कार्यालय प्रमुख पाण्डेयका अनुसार कार्यालयहरुले भवनको भाडा राममणि क्याम्पसलाई बुझाउनु पर्दैन । क्याम्पसले भारतीय दूतावासको सहयोगमा सो भवन बनाएको हो । प्राविधिक कक्षा चलाउने उद्देश्यले भवन बनाइए पनि क्याम्पसले सम्बन्धित विश्वविद्यालयबाट सम्बन्धन नपाएपछि सो भवन प्रयोगमा आउन सकेको थिएन । क्याम्पसले सो भवन ‘अर्को व्यवस्था’ नभएसम्मका लागि यातायात कार्यालयलाई दिएको हो । ‘भाडा नलिने गरी अर्को व्यवस्था नहुँदासम्मका लागि भवन यातायात कार्यालयलाई प्रयोग गर्न दिइएको हो ।’ क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष गोपाल भट्टराईले भन्नुभयो ।
बढ्दै छ चहलपहल
जनसरोकारका कार्यालय आएसँगै मणिग्राम आसपासमा चहलपहल बढेको छ । यातायातसँग सम्बन्धित सेवा प्रदान गर्ने ड्राइभिङ इन्स्च्यिुट, लेखापढी व्यवसायी, खाजा पसल, फोटोकपी, लेमिनेसनलगायतका सेवा प्रवाह गर्नेहरुले कार्यालयभन्दा बाहिरी परिसर भरिएको छ । शान्ति नमूना माविले आफ्नो जग्गा भाडामा दिएसँगै त्यहाँ ट्रष्टले भरिएका छन् । शान्तिले ३३ वटा सटर राख्नेगरी एघार बाई एघारको जग्गा भाडामा दिएको छ । निजी जग्गामा समेत यस्तै प्रकारका ट्रष्ट बनेका छन् ।
स्थानीय उत्साहित
मन्त्रालयको सट्टा जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय आएसँगै स्थानीय उत्साहित भएका छन् । ‘सवारी, लाइसेन्स भनेका आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय हुन् । यी कार्यालय यहाँ आउँदा स्वभावैले हामीहरु उत्साहित भएका छौं ।’ तिलोत्तमा–५, का मोहन गौतमले भन्नुभयो । उहाँले यातायात सम्बन्धि कार्यालयहरू आउँदा मणिग्रामको चहलपहल बढेको बताउनुभयो । उहाँले तिलोत्तमा नगरपालिकामा प्रदेशका अन्य कार्यालयहरू पनि ल्याउन पहल गर्नुपर्ने बताए ।
पुग्ने बाटो समस्या
कार्यालयसम्म पुग्ने बाटो व्यवस्थित नहुँदा केही समस्या देखिएको सेवाग्राहीहरुको गुनासो छ । यहाँ पुग्ने शंकरपुर चोकदेखि पश्चिमको मुख्यबाटो हो । मणिग्रामदेखि पश्चिम हुँदै शान्ति स्कूलदेखि दक्षिणबाट यहाँ पुग्न सकिन्छ । कार्यालयसम्म पुग्ने बाटाहरु व्यवस्थित नभएको गुनासो सेवाग्राहीले गर्ने गरेको कार्यालय निमित्त कार्यालय प्रमुख पाण्डेयको भनाइ छ । कार्यालय बाहिरको बाटो धुलाम्मे हुँदा सेवाग्राहीले समस्या भोग्नुपरेको छ । धुलो व्यवस्थापनमा सम्बन्धित पक्षले ध्यानदिनपर्ने सेवाग्राही तथा जग्गामा भाडामा लिनेहरु बताउँछन् ।
यातायात कार्यालयले बढायो मणिग्राममा चहलपहल
on:

सेवाग्राहीको लाइन ः यातायात व्यवस्था कार्यालय (सवारी) मा सेवाग्राहीहरुको लाइन ।