लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

मेचीकाली संवाददाता

२१ असार २०८०, बिहीबार
199 shares

बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको दोस्रो अधिवेसनको १८ औं बैठकले असार १ गते प्रस्तुत गरिएको बजेट बहुमतले पारित गरिएको हो । प्रदेश सरकारको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको सभामुख तुलाराम घर्तीले घोषण गरे ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागी ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सरकारले ल्याएको बजेटमा असहमती जनाउदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो । जसका कारण चार पटकसम्म सदन अवरुद्ध हुन पुगेको थियो । मंगलबार बेलुका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भएको वार्तापछी संसद बैठक सुचारु भएको थियो । आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरिसोस भन्ने प्रस्ताव प्रस्तुत गरेको थिए । उक्त प्रस्ताव ध्वनी मतको आधारमा बहुमतले पारित भएको घोषणा सभामुख घर्तीले गरे ।

सरकारले असार १ मा ल्याएको बजेट चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार थियो । त्यस्तै, वित्तिय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख छ । जुन चालुतर्फ ३३.६८ प्रतिशत, पुजिगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत रहेको छ । आगामी वर्ष आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भइ प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैँया हुने अनुमान गरिएको छ ।

त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, ससर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक बर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको छ । चालु वर्ष २०७९/८० मा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो । तर, यो पटक २ अर्ब १५ करोड कम बजेट आएको हो ।