बुटवल, पुस २९ । प्रदेश नम्बर पाँचमा गाडी खरिद गर्दा भएको अनियमितता छानबिन गर्न गठित प्रारम्भिक अध्ययन समितिले काम थालेको छ । अध्ययन समितिले विभिन्न मन्त्रालयबाट झिकाइएका फाइलहरू खोलेर त्यसको अध्ययन सुरू गरेको हो ।
सार्वजनिक लेखा समितिले प्रदेशसभाले गाडी खरिद गर्दा अनियमितताको खवर बाहिर आएपछि त्यसप्रति गम्भीर चासो देखाउँदै छानबिनका लागि झिकाइएका फाइलहरू खोलेर अध्ययन थालेको हो । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय र महान्याधिवक्ताको कार्यालयबाहेक अन्य सबै मन्त्रालयले गाडीका सबै डकुम्मेन्ट लेखा समितिलाई बुझाइसकेका छन् । दुई कार्यालयलाई पनि तीन दिनभित्र कागजपत्र बुझाउन परिपत्र गरिएको छ । शुक्रबारको सार्वजनिक लेखा समितिको बैठकले प्रारम्भिक अध्ययन समिति गठन गरेको थियो ।
नेकपाका सांसद कुलप्रसाद पोखरेलको संयोजकत्वमा बनाइएको उप–समितिमा कांग्रेसका वैजनाथ कलवार र राजपाकी कल्पना पाण्डे सदस्य रहनुभएको छ । फाइल खोल्दै संयोजक पोखरेलले सवारी साधन खरिद प्रकरणमा उठेका विषयको यथार्थ विवरण सत्य तथ्य रिपोर्ट छिट्टै तयार गर्ने बताउनुभयो ।
अध्ययन समितिलाई सात दिनको समय दिइएको छ । संसद्का विभिन्न समितिका सभापतिहरुदेखि प्रमुख प्रतिपक्ष दलका नेता, सत्ता पक्षका प्रमुख सचेतकलगायतका लागि खरिद गरिएका १३ वटा सवारी साधनमध्ये अधिकांश बजार मूल्यभन्दा बढीमा खरिद भएको र एक महिनामा नै बिग्रन थालेपछि अनियमितता भएको आशंका गरिएको छ ।
आफूले चढेको नयाँ गाडी बिग्रन थालेपछि सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले शुक्रबार समितिको बैठक बस्नु अगाडि नै आफ्नो सवारी साधन संसद् सचिवालयलाई फिर्ता गर्नुभएको छ ।
प्रदेशमा गाडी खरिद प्रकरण: प्रारम्भिक अध्ययन समितिले थाल्यो काम
on:
