सनिउल्ला धोबी
कपिलवस्तु, पुस २९ । नेपाल सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अहिलेको सरकार दिगो योजनाका साथ अघी बढी रहेको बताउनु भएको छ । उहाँले यो सरकार ९ महिने सरकार नभएकोले सय वर्षको सोच, ५० वर्ष योजना र २५ वर्षको कार्यक्रम साथ अघि बढिरहेको बताउनुभयो । कपिलवस्तुको चन्द्रौटामा नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रमा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री खनालले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा राखेको र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।
मन्त्रीले कृषिको लागि रासयनिक मललाई हटाउँदै प्रगांरिक मल व्यवस्थापनका लागि विशेष योजनाका साथ कार्य भैरहेको बताउनुभयो । साथै कपिलवस्तुको कृषि योग्य जमिनको लागि कपिलवस्तुको विजयनगर गाँउपालिकामा कृषि अनुसान्धान केन्द्र स्थापन गरी कृषि व्यवस्थापन गरिने बताउनुभयो । कपिलवस्तुको ८५ प्रतिशत जनता कृषि पेशामा निर्भर रहेकाले उनीहरुको हक र अधिकार संरक्षणका लागि वर्तमान सरकार लागिपरेको बताउनुभएको छ । तत्काल कपिलवस्तुमा ५ हजार मेट्रिक टन क्षमता भएको कोल्ड स्टोर निर्माण कार्य थलानी भएकोसमेत बताउनुभयो । ‘ अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको छ, दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफुललगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको छ ।’ मन्त्री खनालले अब पनि भूमि व्यवस्थापन गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा ठूलो समस्या आउने बताउँदै भूमिलाई वर्गिकरण गर्नु आवश्यकता रहेको बताउनुभयो ।
कपिलवस्तुलगायत देशैभरिको जमिन खण्डीकरण हुँदा खेतीयोग्य जमिन सकिँदै गएको भन्दै उहाँले यसलाई रोक्नका लागि भूउपयोग नीति तथा भूनीतिको तयारी भइरहेको जानकारी दिनुभयो । भारतलगायत तेस्रो मुलुकबाट नेपालजस्तो कृषिमा निर्भर मुलुकले चामललगायत माछामासु, तरकारी, फलफूल आयात गर्नु दुःखद् भएकाले कृषि क्षेत्रलाई व्यवसायीकरण र किसानलाई आत्मनिर्भर बनाउनु आवश्यक रहेको छ उहाँले भन्नुभयो । कार्यक्रमा प्रदेश नं ५ का सांसद अर्जुनकुमार केसीले कृषि क्षेत्रलाई व्यवसायीकरण, प्रतिस्पर्धी एवं गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । कृषि क्षेत्रलाई प्रदेश सरकारले व्यवसायिक नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै कृषि क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेकाले किसान आधुनिक खेतीतर्फ जान आग्रह गर्नुभयो ।
दिगो योजनाका साथ सरकार अघि बढेको छ: मन्त्री खनाल
