जग्गाको बिषयमा विवाद हुँदा देवरले गरे भाउजुको हत्या

मेचीकाली संवाददाता

२५ असार २०८०, सोमबार
158 shares

बुटवल । पश्चिम नवलपरासीमा देवरले भाउजुको हत्या गरेका छन् । रामग्राम नगरपालिका वडा नम्बर १० मन्झरियाका २७ वर्षीय चन्दन चौधरीले जग्गाको बिषयलाई लिएर विवाद हुँदा आफ्नै भाउजु २५ वर्षीया मिरा चौधरीको हत्या गरेको नवलपरासी प्रहरीले जनाएको छ ।

आइतबार साँझ जग्गाको विषयमा वादविवाद भईरहेका बेला देवर चन्दनले भाउजु मिराको टाउकोमा मोटरसाइकलको सकर प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार चन्दनले प्रहार गरेको सकरले चोट लागि गम्भीर घाइते भएकी मिरालाई पृथ्वी चन्द्र अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चन्दनलाई आइतबार रातिनै पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।