बुटवल, माघ १ । बुटवल वडा नम्बर १ र २ मा खड्किएको खानेपानीको समस्या अब अन्त्य हुनेभएको छ । बटौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बुटवल–१, को पहलमा बुटवल मावि नजिकै खानेपानी आयोजनाको निर्माण थालिएको हो । आयोजनाको सोमबार बुटवल वडा नम्बर १ र २ का वडा अध्यक्षहरू महेन्द्रप्रसाद लिगल र रमेश नेपालले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।
सो अवसरमा बोल्दै लिगलले वडा नम्बर १ र २ का जनताले भोग्दै आएको खानेपानीको सास्ती अब अन्त्य हुने बताउनुभयो । आयोजनाबाट करिब १ हजार घरधुरीमा पानी पु¥याइने बताउनुभयो ।
बटौली संरक्षण संवद्र्धन समितिको मागमा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थ मन्त्री विष्णु पौडेलको पहलमा पाँच करोडको लगानीमा आयोजना निर्माण थालिएको हो । एक करोड जनसहभागितामा उठाइने छ । त्यहाँका जनता वर्षातमा धमिलो पानी खान बाध्य थिए भने हिउँदमा पानी नपाउँदा टाढा–टाढासम्म लिन जानुपर्ने बाध्यता थिए । २ लाख लिटरको ओभरहेड ट्याङ्की बन्नेछ । जहाँ दुई वटा बोरिङ पनि जडान गरिएका छन् । जसबाट २४ सै घण्टा वडाका जनतालाई पानी उपलब्ध गराइने योजना छ ।
बुटवल वडा नम्बर २ का वडा अध्यक्ष रमेश नेपालले मणिमुकुन्द टोल र बजार लाइनलाई लक्षित गरी आयोजना निर्माण थालिएको बताउनुभयो । बटौली संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष रवीन्द्र गोपाल लाकौलले आफूहरूको पहलले पूर्व अर्थमन्त्री पौडेलले योजना पारेको बताउनुभयो । योजना जनसेवा कन्ट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको छ । योजनाले २ वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
दुई लाख लिटर क्षमताको ट्याङ्कीको शिलान्यास
