मनाङ एयर हेलिकप्टर दुर्घटनाः ५ जनाको शव फेला

मेचीकाली संवाददाता

२६ असार २०८०, मंगलवार
211 shares
फाइल फोटो

काठमाडौं । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका ५ को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनास्थलनजिकै रहेका सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको बताए । उनले भने, ‘बेनी प्रहरी चौकीले दिएको जानकारीअनुसार ५ जनाको शव भेटिएको छ । तर उनीहरूको पहिचान भइसकेको छैन ।’ एक जना भने बेपत्ता रहेको उनले बताए ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका ५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जनाएको छ ।

दुर्घटनास्थलमा रहेका सोलु दूधकुण्ड नगरपालिका २ बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले पनि दुर्घटना भएको पुष्टि गरे । ‘हामी दुर्घटनास्थलमा छौँ । हेलिकप्टर दुर्घटना भएको हो । थप जानकारी पछि गराउनेछौं,’ बस्नेतले भने ।

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकोप्टर

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।

हेलिकप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए । हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उनका अनुसार हेलिकप्टर १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको थियो ।