हरि शर्मा
परासी, माघ २ । विभिन्न स्थानबाट बरामद गरी अनुसन्धानका लागि बुझाउन लगिएका अवैध सामानहरु सम्बन्धित निकायले बुझ्न नमान्दा समस्या भएको प्रहरीको गुनासो छ । भारतबाट भन्सार छलेर ल्याएका लत्ताकपडा, इलोक्ट्रिोनिक सामान, मेशिनरी सामानसहित अन्य सामान र ओसारपसारगर्दै गरेका चौपायाहरु पश्चिम नवलपरासीका विभिन्न स्थानबाट पक्राउ पर्नेगरेका छन् । सामानसहित ओसारपसारमा संलग्न व्यक्ति र सवारीसाधनलाई प्रहरीले पक्राउ गर्ने गरिएपनि कारबाहीका लागि राजश्व अनुसन्धान र भन्सार कार्यालयहरुमा पठाउँदा झण्झटिलो मान्दै बुझ्न नमान्ने गरेको प्रहरीले जनाएको छ ।
अवैध भएको आशंकामा बरामद भएको समयमा आवश्यक पर्ने भन्सार कागजसहित अन्य कागजपत्र सम्बन्धित कारोबारीहरुले देखाउँदैनन् । कागजपत्र नभएपछि अवैध भएको भन्दै प्रहरीले त्यस्ता सामानहरुलाई सम्बन्धित कार्यालयहरुमा कारबाहीका लागि पठाउने गरेको छ । तर, कार्यालयमा पुगिसकेपछि कारोबारीहरुले बिल, बिजक र अन्य कागजपत्र एक दुई दिनपछि ल्याउने गरेको बताइएको छ । सोही कागजको आधारमा कार्यालयहरुले सामान फिर्ता गर्ने गरेका हुन् । सामान पक्राउ परेपछि नेपालका अन्य पसलबाट त्यस्ता सामानहरुको बिल, बिजक ल्याउने गरेको पाइएको छ ।
केही कारोबारीहरुले पहिला खरिद गरेको बिलको फोटोकपी पेश गर्ने गरेको प्रहरीले जनाएको छ । सुराकीका आधारमा मेहनतका साथ सामानहरु पक्राउ गरेपनि कारबाही गर्ने निकायले गहिरो रुपमा प्रमाण नहेरी सामान फिर्ता गर्ने गरेको प्रहरीको भनाइ छ । केही सामानहरु थोरै मूल्यको भन्दै कार्यालयहरुले सम्बन्धित व्यक्तिलाई फिर्ता दिने भन्दै फर्काउने गरेका छन् । व्यक्ति र सवारीसाधनसहित लैजादा कार्यालयहरुले कानुनी प्रकृया झण्झटिलो भन्दै फकाइदिदा समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामानको भन्दा व्यक्तिलाई पक्राउ गरेर लैजादा कानुनी प्रकृया लामो भएकाले कार्यालयहरुले झण्झट मान्ने गरेका हुन् ।
सीमा नाकासहित विभिन्न स्थानबाट बरामद भएका सामानहरु पक्राउ गरेर पठाउँदासमेत कानूनी झण्झटिलो र पछि ल्याइएका बिलबिजकको आधारमा फिर्ता पठाउँदा काम गर्न समस्या भएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । कारबाही नहुँदा अवैध कारोबारीहरुको मनोबल बढ्न गई तस्करी नियन्त्रणमा पनि उत्तिकै समस्या आउने गरेको भट्टको भनाइ छ । ‘सामान पक्राउ गर्दा सम्बन्धित व्यक्तिले कुनै पनि कागजपत्र देखाउँदैनन् । राजश्व कार्यालय र भन्सार कार्यालयमा सामान बुझाउन जाँदा एक दुई दिनपछि कागजपत्र पेश गर्ने गरेका छन् । गहिरो अध्ययन नगरी फिर्ता पठाउँदा प्रहरीले नै अनाहक दुःख दिएको जस्तो देखिएको छ ।’ प्रहरी उपरीक्षक भट्टको गुनासो छ । राजश्व कार्यालयमा बुझाइएका सामान भन्सार पठाउने र भन्सारले आफ्नो नाकाबाट नआएको भन्दै फिर्ता पठाउने गरेका छन् । जसका कारण अवैध रुपमा ल्याइएको सामानसमेत सम्बन्धित व्यक्तिलाई फिर्ता दिनुको विकल्प नरहेको भट्टको भनाइ छ ।
त्यसैगरी मासु प्रयोजनका लागि नेपाल हुँदै बंगलादेश पु¥याउने उद्देश्यले लैजादै गरेका गोरुहरु प्रहरीले पक्राउ गर्ने गरेको छ । तर, भन्सार कार्यालयले पक्राउ गरेका गोरु व्यवस्थापन र कानुनी प्रकृया झण्झटिलो हुनेभन्दै फर्काइदिने गरेको प्रहरीले जनाएको छ । पटक–पटक गोरु पक्राउ गरी लैजादासमेत भन्सारले बुझ्न नमानेको भट्टले बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर नं. २६ बेलासपुरका उपरीक्षक गहार्धन राईले सामान बरामद गर्दा भन्सार दस्तुर तिरेको बिल नदेखाउने र सम्बन्धीत निकायमा बुझाएको केही दिनपछि कागज पत्र देखाउने गरेको बताउनुभयो । जसका कारण अवैध सामानसमेत पछि लगेको बिलमार्फत वैध बनाउने गरेको उहाँको भनाइ छ । प्रहरीले बिल बिना लगेका सामानहरुको सूक्ष्म अनुसन्धान हुन सके चोरी नियन्त्रणमा कमि आउने राइको विश्वास छ ।
यसैबीच भारतीय बोलेरो जीपमा नवलपरासीका विभिन्न स्थानमा बिक्री गर्नका लागि ल्याइएका ९ वटा एलइडी टिभी साता दिनअघि इलाका प्रहरी कार्यालय सुनवलले बरामद गरेको थियो । भारतबाट भन्सार छली बिक्री गर्नका लागि ल्याइएका टिभीहरु बरामद गर्ने समयमा सम्बन्धित व्यक्तिले कुनै कागजपत्र नदेखाएको प्रहरीले जनाएको छ । कागजपत्र नदेखाएपछि प्रहरीले कारबाहीका लागि बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा पठाइएको थियो तर कार्यालयले बिल बिजक रहेको भन्दै सम्बन्धित व्यक्तिलाई फिर्ता दिन भन्दै प्रहरी कार्यालयमै पठाएको प्रहरीको भनाइ छ । पक्राउ परेर राजश्व कार्यालयमा पठाएपछि कारोबार गर्ने व्यक्तिले नारायणगढ लैजानका लागि नेपालगञ्जबाट टिभी खरिद गरेको भन्दै बिल पेश गरेका थिए । उक्त टिभी सुनवल बजारमा बिक्री गर्दै गरेको अवस्थामा बरामद गरिएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।
महेशपुर नाकाबाट सवारीसाधनको प्रज्ञापन पत्र ल्याएर टिभी ओसारपसार गरिएको थियो । सामान पक्राउ परेको भोलिपल्ट सम्बन्धित व्यक्तिले २४ हजार ६ सय ४० मा खरिद गरेको भन्दै छुट्टाछुट्टै प्यान नम्बर भएको बिल राजश्व कार्यालयमा बुझाएका थिए । दुई वटा सक्कल बिल भएपनि अन्यको भने फोटोकपी पेश भएको प्रहरीले जनाएको छ । नेपालगञ्जको श्री बागेश्वरी टे«ड कन्सर्नबाट काटिएको उक्त बिलको आधारमा राजश्व कार्यालयले प्रहरी कार्यालयमा सामान फिर्ता पठाएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । बिलमा टिभीको सिरियल नं. र कम्पनी खुलाइएको छैन । प्रहरीले कारबाहीका लागि सामानहरु लगिसकेपछि सम्बन्धित कार्यालयहरुले त्यसबारे गहिरो अनुसन्धान गर्न जरुरी रहेको भट्टले बताउनुभयो । कारबाहीका लागि प्रमाण आवश्यक भएकाले त्यस सम्बन्धिका कागजपत्र पेश गर्नेहरुको सामान कानुनअनुसार छाड्ने गरिएको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानाले बताउनुभयो । केही सामानहरु थोरै मूल्यको हुने र त्यसलाई कानुनी प्रकृयामा लैजादा समय लाग्ने भएकाले एक पटकलाई जुन भन्सार नाकाबाट आएको हो त्यही गएर राजश्व तिर्न पठाउने गरिएको रानाको भनाइ छ ।
‘पहिला थोरै मूल्यका सामानहरु कार्यालय नै जफत गरेर भन्सार पठाउन सकिने प्रावधान थियो । अहिले जतिसुकैका सामान भएपनि अदालतमा मुद्दा दायर गर्नुपर्ने प्रावधान छ । त्यसरी जाँदा लामो समय लाग्ने भएकाले थोरै मूल्यका सामानहरुलाई राजश्व तिर्न भन्सार पठाउने गरिएको हो । यसले गर्दा राजश्व संकलनमा पनि सहयोग पुगेको छ,’ रानाले भन्नुभयो । पछिल्लो पटक प्रहरीले बरामद गरी ल्याएका ९ वटा टिभीलाई भन्सार गराउन पठाइएको रानाले बताउनुभयो । राजश्व कार्यालयले पठाएको उक्त सामान भन्सारले आफ्नो नाकाबाट नआएको भन्दै बुझ्न नमानेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिइएको प्रहरीले जनाएको छ ।
तस्करीको सामान बुझाउन प्रहरीलाई झण्झट
on: