हरि शर्मा
परासी, माघ ४ । सहमतिबीच हुने यौन सम्बन्धलाई कानूनले पनि दण्डनीय मान्दैन तर यी दुईबीच मध्ये कुनै एकको इच्छा विपरीत हुन गए कानूनले अपराध मानेको छ । पछिल्लो पटक पश्चिम नवलपरासीमा पति÷पत्नीबीचको यौन सम्बन्ध जबर्जस्ती गरिएको भन्दै मुद्दा दर्ता हुने क्रम बढेको छ ।
आफ्नै पति(श्रीमान्) ले बलात्कार गरेको भन्दै उजुरी दिने पत्नी (श्रीमती)हरुको संख्या बढ्न थालेको प्रहरीले जनाएको छ । केहीले प्रहरीमार्फत अदालतमा मुद्दा दर्ता गराएका छन् भने केही मौखिक उजुरी लिएर आउने गरेका छन् । लामो समयदेखि श्रीमान्सँग अलग बस्दै आएपनि इच्छा विपरीत धम्काएर यौन सम्पर्क गर्ने गरेको पीडित महिलाहरुको गुनासो छ ।
श्रीमतीले नै बलात्कार गरेको भन्दै उजुरी दिएपछि त्यस्ता श्रीमान्लाई पक्राउ गरेर कानूनी कारबाही प्रकृया अघी बढाइएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । पश्चिम जिल्लामा दुई वटा वैवाहिक करणीका मुद्दा दर्ता भएका छन् । त्यसरी श्रीमान्विरुद्ध उजुरी दिएको जानकारी पाएपछि गाउँलेहरुले महिलाहरुलाई सामाजिक बहिष्कारसमेत गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।
बलात्कारका मुद्दा दिने श्रीमती र श्रीमान्बीच अदालतमा अंश मुद्दा र सम्बन्ध विच्छेदका मुद्दा चलिरहेका छन् । प्रहरी उपरीक्षक भट्टका अनुसार मुद्दा चलिरहेको अवस्थामा श्रीमान्ले आफूमाथि बलात्कार गरेको भन्दै श्रीमतीहरुले उजुरी दिएका छन् । एउटै घरमा बसेपनि उनीहरुको खानपान छुट्टाछुट्टै छ ।
एउटै घरमा बसेकोबखत श्रीमान्ले गाली गलौज गर्ने गरेको पीडित महिलाहरुको भनाइ छ । पटक–पटक घरेलु हिंसा र मानसिक यातना सहेपनि पछिल्लो पटक जबर्जस्ती यौन सम्बन्ध राखेपछि महिलाहरु कानूनी उपचारमा आएको प्रहरीको भनाइ छ । आफूहरुलाई हेरचाहासमेत नगर्ने र कोठामा एक्लै भएको मौका छोपेर जबर्जस्ती गर्न आउने गरेको पीडित महिलाहरुको भनाइ उद्दृतगर्दै प्रहरीले जनाएको छ । पछिल्लो पटक पश्चिम जिल्लाको रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका दुई महिलाले श्रीमान्ले बलात्कार गरेको भन्दै मुद्दा दर्ता गराएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो ।
दुवैजनाका सन्तान छन् । मुद्दा दिनेमा ३० देखि ४० वर्षसम्मका महिला छन् । एक दम्पत्तिका दुई छोरी छन् भने अर्को दम्पत्तिका एक छोरा छन् । उनीहरुको ८ वर्षअघि विवाह भएको हो । छोरा÷छोरीलाई समेत हेरचाहा नगरी आफूखुसी हिँड्ने गरेका कारण छुट्टै बस्ने गरेको पीडित महिलाहरुले जनाएका छन् । हेरचाहा पनि नगर्ने र उल्टै सम्बन्ध विच्छेद र अंश दिएर छुट्टाउने भन्दै मुद्दा दिएपछि महिलाहरु श्रीमान्प्रति आक्रोशित भएको प्रहरीको बुझाइ छ ।
श्रीमान्ले जबर्जस्ती गरेपछि महिलाले तत्कालै स्वास्थ्य परीक्षण(मेडिकल जाँच) गराउने गरेको पाइएको छ । प्रमाणका आधारमा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । पुस महिनामा मात्र उक्त दुई वटा मुद्दा वैवाहिक जबर्जस्ती करणीमा दर्ता भएका छन् ।
मुलुकी अपराध संहितामा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पनि पाँच वर्षसम्म कैद हुने व्यवस्था छ तर कानूनअनुसार दर्ता भएका दुई मुद्दा भने वैवाहिक सम्बन्ध कायम नभएको अवस्था रहेको प्रहरीले जनाएको छ ।
अपराधसंहिताको व्यवस्थाअनुसार पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको, पतिसँग अंश लिई छुट्टै बसेको र पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको अवस्थामा वैवाहिक सम्बन्ध कायम नहुने उल्लेख छ । उनीहरुको अदालतमा अंश मुद्दा र सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन रहेकाले वैवाहिक सम्बन्ध कायम भएको अवस्था नरहने देखिन्छ । वैवाहिक सम्बन्ध कायम नभएको अवस्थामा जबर्जस्ती करणी गर्नेमाथि उमेरअनुसार दण्ड सजाय तोकिएको छ । जसअनुसार अठार वर्ष वा सो भन्दाबढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म कैद हुन सक्ने अपराध संहितामा व्यवस्था छ ।
सामाजिक बहिष्कार
श्रीमान्विरुद्ध बलात्कार आरोपमा मुद्दा दिएपछि गाउँलेहरुले पीडित महिलालाई सामाजिक बहिष्कार गर्न थालेको पाइएको छ । श्रीमान्–श्रीमतीबीचको यौन सम्बन्धलाई बदनाम गराउने प्रयास गरेको भन्दै गाउँलेहरु महिलाहरुप्रति आक्रोशित बन्न थालेका हुन् ।
श्रीमान्लाई अनाहकमा दुःख दिएको भन्दै गाउँलेहरु प्रहरी कार्यालयमा आउने गरेको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । प्रहरी कार्यालयमा आफूविरुद्ध गएको जानकारी पाएपछि पीडित महिलाले गाली गलौज गर्न थालेपछि गाउँलेहरु आक्रोशि भएका हुन् । पीडित महिलाहरु पसलमा सामान किन्न जाँदासमेत नदिने र छिमेकी कहाँ नुन, तेललगायतका सामान सापट माग्न जाँदासमेत नदिने गरेको गाउँलेहरुलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।
बढ्दै छन् वैवाहिक बलात्कारका मुद्दा
on: