बुटवल, माघ ७ । बुटवल उद्योग वाणिज्य संघले अन्तर्राष्ट्रिय क्षेत्रका उद्योग वाणिज्य संघ र वरिष्ठ उद्योगपतिहरुलाई बुद्धजन्मस्थल लुम्विनीको अवलोकन गर्न र यस क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ । भारतको गुजरातमा ३ दिनसम्म चलेको गुजरात ग्लोवल समिटका अवसरमा आयोजित गोष्ठिमा सहभागी एक सय बढी उद्योग वाणिज्य संघ र वरिष्ठ उद्योगपतिहरुलाई संघका अध्यक्ष खिमबहादुर हमालले बुद्धजन्मस्थल लुम्बिनीको अवलोकन गर्न र यस क्षेत्रमा उद्योग क्षेत्रमा लगानी गर्न उद्योग वाणिज्य संघहरु र बरिष्ठ उद्योगपतिहरुलाई आग्रह गर्नुभएको हो ।
समिट समापनअघि आइतबार भएको लगानी तथा व्यापार सम्बन्धि गोष्ठिमा अध्यक्ष हमालले नयाँ संविधानपश्चात् भएका निर्वाचनबाट स्थायी सरकार गठन भएपछि नेपाल दीगो विकासतर्फ अघि बढ्न खोजीरहेको उल्लेख गर्दै नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई ठूलो अवसर भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी वर्षलाई लुम्बिनी भ्रमण वर्ष र नेपाल सरकारले नेपाल भ्रमण वर्षको घोषणा गरेकाले सो अवसरमा नेपाल आउन पनि आग्रह गर्नुभयो । त्यस्तै संघका कार्यकारी सचिव सञ्जय ज्ञवालीले नेपाल–भारत विश्वकै नमुना देश भएको र दुई देशबीच उद्योग तथा व्यापारको प्रयाप्त सम्भावना रहेको बताउनुभयो । उहाँले अहिले नेपालबाट भारततर्फ न्यून वस्तु निर्यात भएकाले त्यो बढाएर व्यापार सन्तुलन कायम गर्न भारतका उद्योगीहरुले नेपालका उद्योगमा लगानी बढाउन आवश्यक भएको बताउनुभयो । उहाँले विश्वका लगानीकर्ताले पर्यटन र कृषि क्षेत्रमा लगानी गरेर नेपालको विकासमा ठूलो सहयोग पु¥याउन सक्ने बताउनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष हमालसहित पूर्वअध्यक्ष जीवनप्रसाद वझा, अर्जुनमान सैजू,नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ र निवर्तमान अध्यक्ष महेशमान सिंहले गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष डा. जयमिन भाषासहित संघका पूर्वअध्यक्षहरुलाई नेपाली ढाका टोपीसहित बुद्धमूर्तिले सम्मान गर्नुभएको थियो । त्यस्तै गुजरात उद्योग वाणिज्य संघले पनि बुटवल उद्योग वाणिज्य संघका अध्यक्षसहित सहभागीहरुलाई सम्मान गरेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुभएको समिट आइतबार सकिए पनि समिटका अवसरमा आयोजित प्रदर्शनी अझै चार दिनसम्म चल्ने छ । समिटमा बुटवल उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघसहित २६ देशका उद्योग वाणिज्य संघले कार्यपत्र तथा आफ्नो देशको उद्योग व्यापारको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
समिट तथा प्रर्दशनीमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष हमालसहित निवर्तमान अध्यक्ष महेशमान सिंह, पूर्र्वअध्यक्ष तथा सल्लाहकारहरु सुरेन्द्रप्रसाद श्रेष्ठ,जीवनप्रसाद वझा, अर्जुनमान सैजू र नवराज श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, वाणिज्य उपाध्यक्ष हरी अर्याल, महासचिव दिनेशप्रसाद श्रेष्ठ, कोषाध्यक्ष बिमलराज भट्टराई, सचिव कमल पौडेल र कार्यसमिति सदस्यहरु नबिन श्रेष्ठ, निर्मित कसजू, सञ्जय जैसवाल, मनोज ध्वजू, मुक्ति अधिकारी, प्रतिक पोखरेल, शुक्रप्रसाद बस्याल, प्रकाश श्रेष्ठ, दिनेश श्रेष्ठ तथा कार्यकारी सचिव सञ्जय ज्ञवाली र पत्रकार डायलसन अधिकारी सहभागी हुनुभएको छ । त्यस्तै महिला उद्यमी पूजन श्रेष्ठ, युवा उद्यमी निखिल वझा, व्यवसायी अशोककुमार श्रेष्ठ र कृष्णप्रसाद ज्ञवाली पनि भ्रमण टोलीमा हुनुहुन्छ ।
लुम्बिनी क्षेत्रमा लगानी गर्न आग्रह
