गाउँपालिकाका सूचनालाई एकद्धार प्रणालीबाट प्रवाह गरिने ः अध्यक्ष चिदी

मेचीकाली संवाददाता

३ श्रावण २०८०, बुधबार
319 shares


नेत्र गैरे

पाल्पा । बगनासकाली गाउँपालिकामा सूचना तथा अभिलेख केन्द्रको शुभारम्भ गरिएको छ । अभिलेख केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले गाउँपालिका भित्रका हरेक सूचनाहरुलाई एकद्धार प्रणालीबाट प्रवाह गर्ने गरि सूचना केन्द्र सञ्चालनमा ल्याइएको बताईन । उनले पालिका र पालिका अन्तरगतका सबै शाखाहरुको प्रगति तथा सम्पुर्ण सूचनामूलक अभिलेखहरु कोठामा मात्र सिमित नराखी जनताको हात हातमा पु¥याउन सुरु गरिएको बताईन । उनले गाउँपालिका र सो मार्फतका सुचना तथा तथ्यांकहरु सोही केन्द्र मार्फत प्रवाह गरिने समेत बताईन । अहिले चिलाङ्दीमा निर्माणाधिन अवस्थामा रहेको गाउँपालिकाको भवन निर्माण सम्पन्न भएपश्चात सोही भवनमा कार्यालय सरेपछि केन्द्रलाई थप ब्यवस्थित बनाउँदै लैजानका लागि सबै क्षेत्रको साथ र सहयोग रहने समेत अध्यक्ष चिदीको भनाई थियो ।


गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले बनाएका ऐन, कार्य बिधि लगायतका महत्वपूर्ण प्रकाशनहरु सहित पालिकासँग सम्बन्धित सम्पुर्ण सूचनाहरु यो केन्द्रमा सुरक्षित रहने बताए । गाउँपालिकाको ईतिहास र बर्तमान उपलब्धीहरुलाई जोगाइराख्न पनि केन्द्रले सहयोग पुर्याउने उनले बताए ।


नागरिकले सूचना माग गर्दा वा पालिकाका लागि पनि विभिन्न सूचनाहरु आवश्यक पर्दा यो केन्द्र सहयोगी बन्ने गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले बताए । प्रवक्ता थापाले बगनासकाली गाउँपालिका पारदर्शी गाउँपालिकाको रुपमा रहेको र यो केन्द्रले थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताए ।


नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले पालिकाले गर्दै आएका राम्रा काम र प्रगतिहरुको अभिलेखीकरणमा यो सूचना केन्द्र अब्बल बन्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा बगनासकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र संचार क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले गर्नुभएको थियो ।