काठमाडौँ । वर्ष २०१८ लाई विदाई गरेर नयाँ वर्षलाई स्वागत गरिसेका छौँ । वर्ष २०१८को सर्वश्रेष्ठ प्रविधि, ग्याजेट्स, गियर लगायतका नयाँ उत्पादनहरुबारे जानकारी दिने उद्देश्यले यो सामग्री तयार पारिएको हो । नयाँ प्रविधि र उत्पादनहरुबारे विभिन्न सञ्चार माध्यमहरुको आ–आफ्नै दाबी छ । तर, सुक्ष्म विश्लेषणका आधारमा केही राम्रा उत्पादनहरु यहाँ पस्कने जमर्को गरिएको छ । ‘वायर्ड’ अनलाइन पत्रिकाले तयार पारेको सूचीमा सामसङको ‘८ के टिभी’ देखि ‘ग्यालेक्सी एस नाइन प्लस’ स्मार्टफोनसम्म समेटिएका छन्। पत्रिकाका अनुसार सामसङले गत वर्ष आफ्नो कम्पनीको महत्वाकांक्षी र सर्वाधिक चर्चामा रहेको टेलिभिजन बजारमा ल्यायो।
कम्पनीले ल्याएको सामसङ ‘क्युइ ६५क्यु ९००’ नामको ‘८के टिभी’ वर्षभरी चर्चामा रहयो। तीन साईज (८५ इन्च, ७५ इन्च र ६५ इन्च) मा उपलब्ध यो टिभी पूर्ण एचआरडी हो। ४ हजार निट्स( १ निट्स बराबर १ क्यान्डेलाप्रति वर्गमिटर) को चम्किलोपना रहेको यसमा दर्शकले वास्तविकताको अनुभूति गर्न सक्छन्। यसमा जडान गरिएको १५ एमएस इन्पुट ल्यागले खेलका लागि क्यु ९०० लाई पूर्ण बनाइदिन्छ। यसको मूल्य ४ हजार ९ सय ९९ पाउन्ड(करिब ७ लाख ११ हजार रुपैयाँ) निर्धारण गरिएको छ। ग्राहकका लागि यो मूल्य चर्को हो। तर नयाँ अनुभव लिनका लागि यो टिभी धेरैका लागि रोजाईको वस्तु बनेको छ।
सन् २०१८मा वायरलेस हेडफोन्सको संसारमा ‘सोनी डब्लूएच–१००० एक्सएमटू’ लाई तारविहिन कोलाहल रोक्ने हेडफोनमा राम्रा उपकरणको उपाधि प्राप्त भयो। यसअघि बोस क्वीसी ३५ लाई यो कामका लागि प्रयोग गरिन्थ्यो। सोनी कम्पनीका उत्पादन ध्वनी र डिजाइनका लागि प्रसिद्ध छ।
तर कम्पनीले कोलाहल नसुन्ने हेडफोन बजारमा ल्याएर चर्चा बटुल्न सफल भएको छ। यो सेटलाई एक पटक पूर्ण चार्ज गरिसकेपछि ३० घन्टासम्म लगातार प्रयोगमा ल्याउन सकिन्छ। टच कन्ट्रोल प्रणाली रहेको यसलाई सजिलै आफू अनुकूल उपयोग गर्न सकिने दाबी कम्पनीको छ। सुरुमा यसको मूल्य अलिक बढी छ। यो वायरलेस हेडफोनको मूल्य ३ सय २९ पाउन्ड(४६ हजार ७ सय ९७ रुपैयाा) रहेको छ।
रनिङ वाच ‘जर्मिन फोररनर ९३५’ पनि वर्षको चर्चित उत्पादन बन्यो। ४ सय ३९ पाउन्ड(६२ हजार ४ सय ४३ रुपैयाँ) मूल्य राखिएको यो वाच दौड्नमा रुची राख्नेहरुका लागि महत्वपूर्ण अविष्कार हो। यसमा धेरै समय टिक्ने ब्याट्री जडान गरिएको छ। यसलाई स्ट्यान्वाई मोडमा राख्दा कम्तिमा एक सातासम्म आफ्नो गतिविधिहरुलाई २४ घन्टासम्म बिना ण्कुनै अवरोधको नियाल्न सकिन्छ।
यो घडीले पौडी, साइकलिङ, गल्फसहितका विभिन्न गतिविधिलाई रेकर्ड गर्ने क्षमता राख्छ। यसले शारीरिक व्यायामसँग सम्बन्धित विभिन्न प्रशिक्षणको सुविधा पनि उपलब्ध गराउँछ। यति मात्रै होइन, मुटुको गति दरलाई पनि मोनिटर गर्न सक्छ। मात्र ४९ ग्राम तौल रहेको यो ग्याजेटले एउटा रनिङवाचमा हुने सबै गतिविधिलाई कैद गर्न सक्छ।
सन २०१८ को अर्को महत्वपूर्ण उत्पादनमध्ये वायरलेस इयरबर्ड्स ‘ज्याब्रा इलिट ६५ टी’ पनि एक हो। यसको प्रयोग गरिए एपलको एयरपोड्सलाई बिर्सिन सहयोग गर्छ। एक सय ३९ पाउन्ड (१९ हजार ७ सय ७१ रुपैयाँ) मूल्य रहेको यो वायरलेस इयरबर्ड कुनैपनि समारोहमा सजिलै प्रयोग गर्न सकिने दाबी कम्पनीको छ। यसलाई जिम र दौड तथा अन्य गतिविधिमा पनि उपयोगमा ल्याउन सकिन्छ। यसलाई एक पटक पूर्ण चार्ज गरेपछि पाँच घन्टासम्म नन–स्टप प्रयोग गर्न सकिन्छ। यसमा दुईवटा चार्ज केस जडान गरिएको छ।
‘वायर्ड’ का अनुसार ल्यापटपको संसारमा ‘डेल एक्सपीएस १३’ लाई वर्षको महत्वपूर्ण उत्पादनमा दरियो। एक हजार ९९ पाउन्ड(१ लाख ५६ हजार ३ सय २२ रुपैयाँ) मूल्य रहेको यो ल्यापटपलाई म्याकबुकको किलरका रुपमा प्रस्तुत गरिएको छ। मात्र १ दशमलव २ किलो तौल भएको यो ल्यापटप १३ इन्चको छ। ह्याभी वर्कलोड हुनेहरुका लागि चाहिने शक्तिशाली क्षमता यसमा छ। यसमा नन–ग्लेयर पर्दा र टचस्क्रिन सहित विविध अप्सनहरु समेटिएका छन्। ४ एमएमको पातलो रहेको यो ल्यापटपलाई जुनसुकै झोलामा पनि सजिलै राख्न सकिन्छ। यो बोक्न पनि सजिलो छ।
एप्पलले ल्याएको ‘एप्पल आइप्याड ९.७’ ट्याबलेटले सन् २०१८मा चर्चा कमायो। केहीले आईप्याड प्रो मन पराउँछन्। तर, धेरै मासिनको राम्रो छनौटमा ‘ ९.७’ इन्चको आइप्याड पर्ने गर्छ। यो साइजलाई धेरैले मानकका रुपमा पनि लिएको पाइन्छ। त्यसैले यो धेरैको चाहना बन्न पुग्यो। उच्च रिज्योलुसन स्क्रिन रहेको यो ट्याबलेटमा महत्वपूर्ण सफ्टवेयर र एपहरुको विशाल संग्रह सञ्चित छ।
हालसम्म ट्याबलेटमा असम्भव रहेको एप्स पनि यसमा राखिएका छन्। यो २०१८ संस्करणले एपल पेन्सिललाई सपोर्ट गर्छ। ब्लुतुथ किबोर्ड भएको यो सेटलाई एउटा ल्यापटप र फोरजी भर्सन मोबाइलको विकल्पका रुपमा प्रयोग गर्न सकिन्छ। यसलाई जहाँसुकै र जुनसुकै बेलामा पनि स्वतन्त्रतापूर्वक प्रयोग गर्न सकिन्छ। कम्पनीले यसको मूल्य ३ सय १९ पाउन्ड (४५ हजार ३ सय ७४ रुपैयाँ) निर्धारण गरेको छ।
‘अमेजोन किन्डल पेपरह्वाइट’ ई–रिडर पनि चर्चा बटुल्यो। १ सय २० पाउन्ड(१७ हजार ६८ रुपैयाँ) मूल्य रहेको यो ई–रिडर सोचे जस्तो अत्याधुनिक नभएपनि एक जना व्यक्तिको सबै खाले इलेक्ट्रोनिक आवश्यकता पुरा गर्न सक्छ। यसमा जडान गरिएको प्रकाशले पाठकलाई पढ्न अनुकूल बनाउँछ। ३०० पीपीआईको स्क्रिन आनन्दको अनूभूति गराउन काफी छ। इलेक्ट्रोनिक्स भर्सन पढ्नेहरुका लागि यसलाई गजबको ग्याजेट भनिएको छ।
यसैगरि फिटनेस ट्रयाकर ‘फिटबिट अल्टा एचआर’ पनि राम्रै उत्पादनका रुपमा चर्चामा रहयो। यति तपाईले अहिलेसम्म कुनै फिटनेस ट्रयाकर खरिद गर्नु भएको छैन भने यो तपाईका लागि उपयोगी हुन सक्छ। यो एउटा स्मार्टवाचको जस्तै काम गर्छ। यसमा जडित ब्याट्री धेरै समयका लागि टिकाउ हुने खालको छ। यो डिभाइसबाट मानिसको स्टेप्स, क्यालोरी बर्न, सुतेको समय र मुटुको गतिबारे राम्ररी जानकारी प्राप्त गर्न सकिन्छ। कम्पनीले हाल यो छ रङमा बजारमा ल्याएको छ। यसको कमजोरी भनेको यो वाटरफ्रुप छैन। यदि तपाई पौडीको पारखी हुनुहुन्छ भने यो फिटनेस ट्रयाकर तपाईका लागि काम लाग्दैन। यसको मूल्य सय पाउन्ड (१४ हजार २ सय २४ रुपैयाँ) निर्धारण गरिएको छ।
यो वर्षको अर्को महत्वपूर्ण ग्याजेटमा नदेखिने गरी राखेर पनि चलाउन मिल्ने अडियो साउन्डबार ‘क्यू एकास्टिक्स एमथ्री’ पनि हो। यो उच्च गुणयुक्त छ। कुनैपनि टिभीको तल सजिलै जोडन मिल्ने यो स्पिकरको मूल्य दुई सय १९ पाउन्ड(३१ हजार १ सय ५० रुपैयाँ) रहेको छ। यसलाई पर्खालमा पनि झुन्ड्यान सकिन्छ। यसमा ब्लुतुथ र एचडीएमआई जडान गरिएको छ।
यो वर्ष स्मार्टफोनमा सामसङको ‘ग्यालेक्सी एसनाइन प्लस’ चर्चाको शिखरमा रहयो। ८ सय ६९ पाउन्ड मूल्य(१ लाख २३ हजार ६ सय ७ रुपैयाा) पर्ने यो फोनको डिस्प्ले ६.२ इन्चको छ। यो सेट ‘ग्यालेक्सी एस एट प्लस’ भन्दा खासै फरक नभएपनि यसमा प्रयोग गरिएका हाडवेयर चाही गजबको भएको दाबी कम्पनीको छ। (एजेन्सीहरुको सहयोगमा)