भैरहवा भन्सारको राजश्व आधाले खुम्चियो

मेचीकाली संवाददाता

६ श्रावण २०८०, शनिबार
168 shares

बुटवल । मुलुकै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा जम्मा ७० अर्ब मात्र आम्दानी गरेको छ । यो कुल लक्ष्यको ४९.४१ प्रतिशत मात्र हो । भैरहवा भन्सारले गत आवमा १ खर्ब ५५ अर्ब ६० करोड राजश्व संकलन गर्ने तोकिएको थियो । जमध्ये असार मसान्तसम्म ७० अर्ब २ करोड ४० लाख रूपैयाँ मात्र उठाउन सकेको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जुन पछिल्लो ८ वर्ष यताकै कम राजश्वक संकलन भएको देखिएको बताउँछन् ।

‘आर्थिक मन्दीका कारण कम आयात हुनु, राज्यको अन्य नीतिगत समस्याका कारण राजस्व असुली खुम्चिन पुगेको देखिन्छ,’ पौडेलले भने । आर्थिक वर्ष २०७८/७९ मा पनि भन्सार विभागले दिएको लक्ष्य भैरहवा भन्सारले ९ प्रतिशतले पूरा गर्न सकेको थिएन । १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २४ हजार संकलन भएको थियो । मुलुकको समग्र भन्सार राजश्व संकलनमा भैरहवा भन्सारका योगदान १२ प्रतिशत भन्दा बढी छ ।

तर, यसपटक भने, राजश्व असुली घट्दा मुलुकको राजश्व लक्ष्यमै प्रभाव परेको छ । राजश्वक संकलन कम भएपछि भैरहवा भन्सारले सीमावर्ती बजारमा किनमेल गर्न जाने नेपालीलाई कडाइँ गर्न थालेको छ ।
सरकारले एमएस फलामे ब्लेडको आयातमा अन्तःशुल्क बढायो भने त्यसको कच्चा पदार्थ स्पन्ज आइरनको आयातमा भन्सार महसुल छुट दियो । यसबाट स्पन्ज आइरनको आयात बढ्यो तर राजस्व बढेन र साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झन्डै २५ प्रतिशत योगदान रहने गरेको थियो ।

भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा यी वस्तुको आयातबाट ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठेको थियो । तर गत आर्थिक वर्षमा यी वस्तुको आयात घट्दा ३० अर्ब ७२ करोड रुपैयाँमात्र राजस्व उठेको छ । मुलुकको समग्र भन्सार राजस्व संकलनमा भैरहवा भन्सार कार्यालयको योगदान करिब १२ प्रतिशत छ ।

भैरहवा भन्सारबाट निर्यात भने बढेको छ । अघिल्लो आवको तुलनामा ३८ दशमलव ८ प्रतिशतले बढेको कार्यालय प्रमुख पौडेलले बताए । अघिल्लो आवमा ७ अर्ब ८९ करोड रुपैयाँ बराबरका विभिन्न नेपाली वस्तु विदेश निकासी भएकामा आव २०७९/८० मा १० अर्ब ९५ करोड रुपैयाँ बराबरको निकासी भएको छ ।

भारतीय बजारमा दैनिक उपभोग्य सामान किनेर आउने नेपालीलाई १०० रूपैयाँ भन्दा बढीको किनमेललाई अनिवार्य भन्सार गर्न थालिएको प्रमुख पौडेल बताउँछन् । भन्सारमा कडाइ गर्दा चोरी तस्करी बढेको छ । देशमा देखिएको आर्थिक मन्त्री र सबै क्षेत्र सुस्ताउँदा त्यसको असर भन्सार राजश्वमा पनि ठूलो मात्रामा देखिएको पौडेलको बुझाइ छ । तर, भैरहवा भन्सार हुँदै निर्यात हुने भने बढेको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९÷०८० मा ३८ दशमलव ८ प्रतिशतले निर्यात वृद्धि भएको देखिन्छ ।

कार्यालयको तथ्यांकअनुसार अघिल्लो आवमा ७ अर्ब ८९ करोड २३ लाख ५४ हजार रुपैयाँ मूल्यको विभिन्न नेपाली वस्तु निकासी भएकोमा २०७९÷०८० मा यो निकासी बढेर १० अर्ब ९५ करोड ७६ लाख ९१ हजार रुपैयाँ पुगेको छ । खजुरको प्रशोधित तेल, खोटो रोजीन, पिना, चोकर भुस लगायतका वस्तु भैरहवा हुँदै निर्यात हुने गरेका छन् । गत आवबाट बेलहिया नाका हुँदै सिमेन्ट र छड पनि निर्यात भएको थिए । भन्सार तथ्यांकअनुसार सेन्थेटिक यार्न ३ अर्ब १६ करोड ५३ लाखको निर्यात भएको छ । यस्तै, खजुरको प्रशोधित तेल १ अर्ब ३ करोड, खोटो रोजीन ५४ करोड ३९ लाख रुपैयाँको निर्यात भएको छ ।

यस्तै, वनस्पति उत्पादनहरु ४६ करोड २ लाख, पिनालगायत अन्य वस्तु ४५ करोड २६ लाख, सिमेन्ट र क्लिंकर ४० करोड ९१ लाख, अल्किड रेजीन र अन्य पीभीसी ३६ करोढ ८९ लाख, चोकर, भुुस ३६ करोड २० लाख रुपैयाँको निकासी भएको छ । नुडल्स, पास्तालगायत ३२ करोड ४८ लाख रुपैयाँ र सिमेन्ट खैरो ३१ करोड ८६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सरकारले निर्यातमा केही नीतिहरू सुधार गर्दा निकासी बढेको जनाए ।