तिलोत्तमा, माघ १० । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्ना उपभोक्ताहरुलाई घर निर्माण, फुलबारी तथा तरकारी खेतीमा खानेपानीको पानीबाट सिँचाइ नगर्न अनुरोध गरेको छ ।
संस्थाको कार्यसमितिको नियमित बैठकले खानेपानीको जथाभावी अन्य क्षेत्रमा प्रयोग भइरहँदा उपभोक्तालाई नै समस्या हुन सक्ने ठहर गर्दै खानेपानीको जथाभावी प्रयोग नगरी घर निर्माण वा अन्य कार्यमा वैकल्पिक व्यवस्था गर्न उपभोक्तालाई आग्रह गर्ने निणर्य गरेको हो ।
संस्थाले खानेपानीको दुरुपयोग भए नभएका सम्बन्धमा अनुगमन गर्ने र दुरुपयोग भएको पाइए कारवाही गर्ने सम्मको निणर्य गरेको अध्यक्ष हरीप्रसाद तिवारीले जानकारी दिनुभयो ।
शंकरनगर क्षेत्रमा घर निर्माण तीव्र बढेको र निर्माणाधीन घरको सिँचाइ खानेपानीबाट भइरहेकाले त्यसलाई रोकी उपभोक्तालाई प्रयाप्त खानेपानी उपलबध गराइरहन यस्तो निणर्य गर्नुपरेको तिवारीले बताउनुभयो ।
संस्थाले आफ्नो कार्य क्षेत्रलाई सरसफाइयुक्त राख्न आफ्ना उपभोक्ताहरुलाई नियमित टोल सफाइ अभियान जारी राख्न पनि आग्रह गरेको छ । साविकको शंकरनगरलाई पूर्ण सरसफाइयुक्त बनाउन संस्थाले पूर्ण सरसफाइका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उपाध्यक्ष ओमप्रकाश खरेलले बताउनुभयो ।
खानेपानीलाई सिँचाइमा प्रयोग नगर्न आग्रह
