चार करोड ७५ लाख लागत अनुमान
दीपेश पछाई
भैरहवा, माघ १० । सिद्धार्थनगर नगरपालिकाले बेलहियास्थित डण्डा नदीको छेउमा करिब पाँच करोडको लागतमा पर्यटकीय द्वार बनाउन सुरु गरेको छ । बुधबार एक समारोहकाबीच प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले शिलान्यास गर्नुभयो । स्थल मार्गको बाटो हुँदै लुम्बिनी आउने पर्यटकहरुको स्वागतका लागि महत्वपूर्ण काम हुने उहाँले बताउनुभयो । यो पर्यटक क्षेत्रको विकासमा स्वागत द्वार एउटा कोशेढुंगा भएको भुषालको भनाइ छ ।
विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनको तयारी भइरहेको जनाउँदै उहाँले बेलहिया बन्ने भनिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण र भैरहवा क्षेत्रको ऊर्जासम्बन्धी समस्या समाधान गर्न आफू लागि परेको बताउनुभयो । आर्थिक वर्षको बजेटमा विशेष योजना पारेर क्षेत्रको एकीकृत विकास गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा प्रदेश ५ सभाका सदस्य सन्तोष पाण्डेय, पूर्व राज्यमन्त्री हकीकुल्लाह खाँ र जिल्ला समन्वय समिति सभापति एकराज विश्कर्माले नेपाल आउने पर्यटकलाई बुद्ध जन्मस्थल आयौं भन्ने आभास दिलाउन नगरपालिकाले गरेको प्रयास सकारात्मक भएको बताउनुभयो ।
नगर प्रमुख हरिप्रसाद अधिकारीले नेपाल आउने पर्यटकहरुले बुद्धभूमि आइपुगियो भन्ने सन्देश दिन कलात्मक द्वार निर्माण गर्न लागेको बताउनुभयो । नगरमा न्यून बजेट हुँदाहुँदै पनि विभिन्न माध्यमबाट स्रोत जुटाई पर्यटन प्रवद्र्धन गर्न लागिएको उहाँले बताउनुभयो ।
उपप्रमुख उमा काफ्लेले नगरलाई पर्यटकीय हब बनाउने प्रयासस्वरुप द्वार निर्माण गर्न लागिएको बताउनुभयो । ‘यसले बौद्धमार्गीहरुलाई नेपाल र बुद्धजन्मस्थल लुम्बिनीप्रति थप माया बढाउने हाम्रो विश्वास छ,’उहाँको भनाइ छ ।
बुद्धत्व झल्कने द्वार बन्ने
पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्ति अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजिवी, इन्जिनियर, जनप्रतिनिधि, परामर्शदाता, बौद्धज्ञाता र नगरवासीको छलफलमा द्वारको डिजाइन तयार पारिएको नगरपालिकाले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिकाले नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक पर्यटकीय द्वार बनाउन लागेको हो । निर्माणका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ ।
चार करोड ७५ लाखमा निर्माण हुने द्वार दुई वर्षभित्र सक्नेगरी प्रकृति निर्माण सेवा प्रालि भैरहवाले निर्माणको जिम्मा पाएको लेखा अधिकृत गणेश क्षेत्रीले जानकारी दिनुभयो । यो द्वार ५० मिटर लम्बाइ, २३ मिटर ८० सेन्टिमिटर चौडाइ तथा सडकदेखि २९ मिटर अग्लो हुनेछ ।
द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डा र बुद्ध झण्डाले सिंगारिने वरिष्ठ इन्जिनियर यमलाल पाण्डेले बताउनुभयो । यस्तै द्वारामा बौद्ध ध्वनी गुञ्जाएमान पनि हुने छ भने यो नेपालकै नमूना गेट हुने नगरपालिका प्रमुख अधिकारीको दावी छ ।