युगपुरुष पुष्पलालप्रति श्रद्धाञ्जली

मेचीकाली संवाददाता

७ श्रावण २०८०, आईतवार
338 shares

मिनप्रसाद पोखरेल

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी, नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको आज ४५ औँ स्मृति दिवस हो । नेपालमा कम्युनिष्ट आन्दोलानको सूत्रपात गर्ने पुष्पलाल समग्र नेपाली राजनीतिमै उच्च सम्मानका साथ लिइने एक युग पुरुषको नाम हो । नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो । नेपाली राजनीतिलाई एउटा बाटो देखाउने महान् नेताको आज स्मृति दिवस । उहाँलगायतका नेताहरुले देखाएको बाटो हिँडेरै आजको नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।

वि.सं. १९९७ सालमा आफ्ना दाजु अमर सहिद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ भन्नुभएको थियो र उहाँका दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बनेको थियो । पुष्पलालका छानिएका रचनाहरुमा यो कुरा प्राथमिकताका साथ उल्लेख भएको पाइन्छ ।

वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभएको थियो । संघमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो । संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका (सिपमूलकसमेत) तालिम दिन्थ्यो ।
भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं.१९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्य रूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभएको थियो ।

एकप्रकारले कमरेड पुष्पालल अग्रज पत्रकार पनि हुनुहुन्थ्यो । २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल (श्रेष्ठ), शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधानलगायतले गर्नुभएको थियो । जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण राणा प्रधानमन्त्री पद्म शमशेरबाट सुधारको कदम चाल्ने घोषणा भएको थियो । सोही बखत पद्यमकन्या क्याम्पसलयातको स्थापना भएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीको स्थापना गर्ने महान् नेता पुष्पालको विचार अहिले पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण छ । उहाँले माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचारप्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभयो । सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो । उहाँको विवाह साहना प्रधान (तत्कालीन एमाले नेत्री हाल निधन) सँग भएको थियो । २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७ मा पार्टी प्रभाव बिस्तार गर्न तेह्रथुम (लिम्बुवान) बजारमा पुग्नुभयो । २०१६ सालमा उहाँ सोभियत संघमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीनको पनि भ्रमण गर्नुभएको थियो ।

२००६ साल अथात् सन् १९९४ सेप्टेम्बरमा प्रकाशित अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका महान् नेता माक्र्स तथा एङ्गेल्सद्वारा रचिएको विश्वप्रसिद्घ कम्युनिष्ट घोषणापत्र, सोही समयमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र प्रकाशित भएको थियो । २२ अप्रिल अथात् २००६ वैशाख १० मा प्रकाशित नेपाल कम्युनिष्ट पार्टीको प्रकाशमा आएको पर्चा नै पहिलो प्रकाशन मानिएको छ । नेपालको इतिहासमा एक युगान्तकारी परिघटनास्वरुप कम्युनिष्ट पार्टी स्थापनालाई लिइन्छ । नेपाल कम्युनिष्ट आन्दोलनका एक अग्रज नेता कमरेड पुष्पलालको समग्र मूल्याङ्कन, उहाँद्वारा पार्टीमा प्रस्तुत तथा पारित गरिएका प्रस्तावहरु र उहाँका सबै रचनाहरुको समग्र अध्ययन गर्नुपर्ने आवश्यकता छ । पुष्पलाल श्रेष्ठका योगदानको उचित मूल्यांकन हुनुपर्छ ।

‘नेपाली जनताले एउटा भिन्नै बाटो लिनुपर्छ, त्यो बाटो हो–विश्व जनवादी शिविरसित सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी–पुँजीवादी आधिपत्यलाई पूरैसित खतम पार्नु र मजदुर वर्गको नेतृत्वमा मेहनतकश जनताको जनवादी राज्य स्थापना गर्नु ।’ (पुष्पलाल छानिएका रचनाहरु, भाग–१, पृ.५९, मदन–आश्रित स्मृति प्रतिष्ठान नेपाल २०५३ जेठ) । यसबाट पनि कमरेड पुष्पलालको दूरदृष्टि प्रष्ट हुन्छ ।

२००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको थियो । सो सम्मेलनमा कमरेड पुष्पलालद्वारा नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रम तथा नीतिसम्बन्धी राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको र पारित भएको थियो । सो प्रस्तावमा भनिएको छ–‘मुलुकमा सर्वाेच्च अधिकार जनताको हातमा हुनुपर्दछ । यसै अधिकारको आधारमा शासनव्यवस्था खडा हुनुपर्दछ । शासन व्यवस्थामा साम्रज्यवाद–सामन्तवाद विरोधी सम्पूर्ण जनता–मजदुर, किसान र जातीय पुँजीपति सामेल छन् । यसको रुप नयाँ जनवादी हुन्छ । शासन गर्ने तरिका जनताको जनवादी अधिनायकत्व हुन्छ । जनताका निम्ति जनवाद र साम्राज्यवाद र तिनका दलालहरुका निम्ति अधिनायकवाद हाम्रो सरकारको नीति हुन्छ ।’ (पुष्पलालका छानिएका रचनाहरु, पृ.९, पुष्पलाल स्मृति प्रतिष्ठान २०५५ श्रावण) ।

तेस्रो महाधिवेशनपश्चात् पार्टीमा दुईलाईन संघर्ष तीव्र बन्दै गएको थियो । त्यस स्थितिमा आफ्नो ‘मूल बाटो’ शीर्षक प्रस्तावमा क.पुष्पलाल भन्नुहुन्छ–‘संसदीय प्रजातान्त्रिक व्यवस्था भन्नेबित्तिकै पुँजीवादी प्रजातन्त्र भन्नु एक गलत समझदारी हो, संसदीय प्रजातन्त्र पुँजीवादी प्रजातन्त्र अथवा राष्ट्रिय प्रजातन्त्र अथवा जनवादी प्रजातन्त्र दुवै हुन सक्छ । निश्चय पनि ठाउँठाउँमा आफ्नो आर्थिक स्थितिले गर्दा देशको पुँजीपति वर्गले संसदमाथि कब्जा गरी यसलाई आफ्नो स्वार्थ साधन गर्ने यन्त्र बनाउन समर्थ भएको छ ।
२०१७ साल पुस १ गते घटित कालो काण्डपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो । नेका र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुनसक्छ भन्ने भविष्यवाणी गर्नुभएको थियो । उहाँले उतिबेलै गणतन्त्रको कुरा गर्नुभएको थियो । युगपुरुष पुष्पलालको २०३५ साल साउन ७ गते आजकै दिन भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदै निधन भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको एक अग्रज तथा सम्मानित नेताप्रति भावपूर्ण श्रद्धासुमन ।
अनेक जात, भाषा, धर्म, संस्कृति र परम्परा रहेका नेपालीबीच भाइचारा र सद्भावपूर्ण सम्बन्धले नै देश र जनताको उन्नति देख्ने पुष्पलाल सदैव सामाजिक सद्भाव, समन्याय र सहअस्तित्वको पक्षमा हुनुहुन्थ्यो । तत्कालीन नेपाललाई अर्धसामन्ती र अर्धऔपनिवेसिक भनेर विश्लेषण गर्ने पुष्पलाल कति दूरदर्शी हुनुहुन्थ्यो भन्ने कुरा सोही बेलाको उहाँको निचोड आजसम्म देखिनुले पुष्टि गर्छ ।

आज नेपाली कम्युनिष्ट राजनीतिले अगाडि सारेको वैज्ञानिक समाजवादको नारा उतिबेला पुष्पालालकै विचारको योगदानबाट भएको हो । तात्कालीन नेपाली समाजलाई विविध कोणबाट हेर्ने र त्यसको सही विश्लेषण गरी समाजलाई समृद्धिको मार्गमा लैजानका लागि वैज्ञानिक विचारधाराको अनुशरण गर्न प्रेरित गर्ने पुष्पलालका विचार र मान्यताबाटै आजको नेपाली कम्युनिष्ट आन्दोलन अभिप्रेरित छ । विडम्बना राजनेता केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार ढालेर कम्युनिष्ट नेताहरु नै खुशीयाली मनाए । अझ भनौं अपवित्र गठबन्धन बनाएर अहिले पनि जनताको चाहना र इच्छाविपरीतका गतिविधिमा सरिक तिनै नेताहरु छन् ।

आफ्नै पार्टीमा अन्तर्घात गरेर विजय उत्सव मनाउनु, आफैँले कैयौं वर्षसम्म नेतृत्व गरेको, सबै खाले अवसरहरु लिएको पार्टीका विरुद्ध विषवमन गर्दै पराईसँग लपक्कै टाँसिएर क्रान्ति गरेको ठानिरहेका छन् । आदरणीय नेता, नेपाली राजनीतिका, नेपाली समाजका युग पुरुष पुष्पलालको स्मृति दिवसका अवसरमा ती सबैखाले स्वार्थी, गद्दार र अन्तर्घातीहरुलाई पश्चाताप होस् । अझ भनौं उनीहरुमा अब सत्बुद्धि पलाओस् र नयाँ शिराबाट कम्युनिष्ट आन्दोलन अगाडि बढोस् । फेरि पनि युग पुरुष श्रद्धेय नेता पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । (लेखक नेकपा एमाले तिलोत्तमा नगर कमिटीका सचिव हुन् ।)