भविश्वर पाण्डे
कावासोती, माघ ११ । पूर्वी नवलपरासी नवलपुरमा अवैध क्रसरहरु सञ्चालनमा रहेको खुलेको छ । क्रसर उद्योगहरु दर्ता (अनुमती) विना सञ्चालनमा रहेको पाइएको हो । जिल्ला समन्वय समिति नवलपुरले बुधबार विनयी त्रिवेणी गाउँपालिकामा गरेको नदीजन्य तथा ढुङ्गा, गिट्टी र उत्खनन तथा विक्रि वितरणको अनुगमनमा क्रसर उद्योगहरु घरेलु कार्यालयमा दर्ता नगरी सञ्चालनमा रहेको भेटिएको हो । उद्योग सञ्चालनको लागि स्थानीय तहबाट लिनुपर्ने अनुमती र अनुमती पूर्व तयार गर्नुपर्ने इआइएको शर्त पालना नगरेको पाइएको जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला अनुगमन समितिका संयोजक चेसराम आले मगरले बताउनुभयो ।
विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ मा रहेको त्रिवेणी क्रसर उद्योग, पारसमणी गिट्टी–बालुवा प्रशोधन केन्द्र र विनयी बालुवा प्रशोधन केन्द्रमा अनगुमन गरिएको हो । पारसमणी गिट्टी–बालुवा प्रशोधन केन्द्रले घरेलु कार्यालयमा र गाउँपालिकामा दर्ता प्रक्रिया पुरा नगरी संचालनमा ल्याएको पाइएको हुँदा अब दर्ता र अनुमतीको प्रक्रिया पु¥याएर मात्र उद्योग संचालन गर्नको लागि अनुरोध गर्दै प्रक्रिया पुरा नहुँदासम्मको लागि उद्योग बन्द गराइएको छ । नदीजन्य तथा ढुङ्गा, गिट्टी र उत्खनन तथा विक्रि वितरणको लागि प्रदेश सरकारले जारी गरेको मापदण्डअनुसार क्रसर उद्योगहरु अनुगमन गरिएको बताउँदै जिल्ला समन्वय समितिका अधिकारी कृष्णप्रसाद अधिकारीले सञ्चालनको लागि छुटेका विवरण एक हप्तामा उपलब्ध गराउन र संचालनको अनुमती नलिएका उद्योगहरुले स्थानीयतहरुसँग यथाशिघ्र अनुमती लिएर मात्रै सञ्चालन गर्नको लागि अनुरोध गर्नुभयो । नवलपुर जिल्लामा जम्मा १२ वटा क्रसर उद्योगहरु सञ्चालनमा आएका छन् ।
सञ्चालित अधिकांश उद्योगहरु दर्ता नगरी, दर्ता भएका नवीकरण नगरी सञ्चालन हुँदै आएको जिल्ला समन्वयले जनाएको छ । गण्डकी प्रदेशले नदीजन्य तथा ढुङ्गा, गिट्टी र उत्खनन तथा विक्रि वितरण र व्यवस्थापनको लागि ल्याएको नीतिनियम अनुसार उद्योगहरुलाई नियमन गर्ने जिसस प्रमुख एवं जिल्ला अनुगमन संयोजक आलेले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले जारी गरेको मापदण्डमा तालतलैया, धार्मिक महत्वको पोखरी, शिक्षण संस्था, स्वास्थ्य संस्था, निकुञ्ज, आरक्ष क्षेत्र, घनाबस्ती र वन क्षेत्रको १ किलोमिटर बाहिर र हाइटेन्सन लाइन, पक्की वा झोलुङगे पुलबाट बाट ५ सय मिटर पर उद्योग सञ्चालन गर्न पाउने उल्लेख गरेको छ । अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति उपाध्यक्ष शारदा विश्वकर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासन प्रमुख आनन्द भुसाल, जिल्ला वन अधिकृत कृष्णबहादुर देवकोटा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारी, जिसस सदस्य मुरारी घिमिरे, विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अजितकुमार थापा र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नवलपुरमा अवैध क्रसर उद्योग
on:
