कपिलवस्तु, माघ १४ । विद्यालय क्षेत्रलाई स्वच्छ हराभरा र फोहरमैलारहित बनाऔँ भन्ने अभियानका साथ कपिलवस्तुका २ वटा पालिकाका ८५ सामुदायिक विद्यालयलाई तीन सयवटा फोहरदानी वितरण गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुको आयोजना, बुटवल पब्लिक स्कुलको ३ लाख ५० हजारको आर्थिक सहयोगमा चन्द्रौटामा फोहरदानी वितरण गरिएको छ ।
सरसफाइ र जनचेतनाका हिसाबले पछि परेका जिल्लाको शिवराज नगरपालीका र विजयनगर गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई थोरै भएपनि राहत मिलोस् भन्ने उदेश्यका साथ उक्त कार्य गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कपिलवस्तु क्षेत्र नम्वर १ का प्रदेश सांसद विष्णु पन्थीले हरेक हिसाबले सम्भावना बोकेर पछि परेको कपिलवस्तुलाई आगामी दिनमा अगाडि बढाउन सबैको सहयोग उतिकै जरुरी रहेको बताउँदै विकास निर्माणलगायतका काममा सघाउ पुग्न यी यस्ता कार्यहरु फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि सोही क्षेत्रका प्रदेश सांसद अर्जुनकुमार केसीले आगामी दिनमा केन्द्र, प्रदेश, स्थानीय तहबाट समेत सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धि गर्न विभिन्न कार्यक्रम ल्याउन आफूलगायत लागिपरेको बताउनुभयो । कार्यक्रममा नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोखरेलले कुनै बेला कपिलवस्तुको नाम शिक्षा क्षेत्रमा बदनाम गर्ने भएकोमा क्रमशः सुधार हुँदै गएकाले विद्यालय सुधार गर्न शिक्षकको इच्छा शक्ति हुनुपर्नेमा जोड दिनुभयो । फोहरदानी सहयोगी बुटबल पब्लिक स्कुलका हेमलाल भुसालले शिक्षा क्षेत्रमा सुधारका लागी शिक्षकले पढाउनभन्दा सिकाइ माध्यम बढिी उपयोगी हुने बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शिवराज सुवेदी, सन्ञलन प्रकाश अधिकारी गर्नुभएको थियो । यस अगाडिसमेत नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुले जिल्लाका ४ वटा पालिकाका सामुदायिक विद्यालयमा सरसफाइ गर्ने उद्धेश्यले ९ सयवटा फोहरदानी वितरण गरेको थियो ।