सैनामैना, माघ १४ । कञ्चन गाउँपालिकामा १० औँ दानापुर ताल महोत्सव २०७५ सुरु भएको छ । वन वन्यजन्तु, सिमसार तथा पर्यापर्यटन क्षेत्रको उत्थान, राष्ट्र निर्माण,समृद्धि र पहिचान भन्ने नारासहित आइतबारदेखि १० औँ दानापुर ताल महोत्सव सुरु भएको हो । समयमाई सामुदायिक बन उपभोक्ता समूहको आयोजनामा सुरु भएको महोत्सवको राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले समुद्धघाटन गर्नुभयो ।
समुद्धघाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले दानापुर ताल सिँगो देशको चासोको रुपमा रहेको बताउनुएको छ । उहाँले यस क्षेत्रको विकाशका लागि दानापुर तालले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएको भट्टराईले ताललाई पर्यटन हबको रुपमा विकास गर्नका लागि प्रदेश र केन्द्रीय सरकारले सक्दो सहगोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पर्यटन विकासका सम्भावनाहरुलाई संरक्षण र उपयोग गर्न आग्रह गदैै भट्टराईले भन्नुभयो,‘आर्थिक अभाव हुन दिन्नौँ,मास्टर प्लान बनाउनुस् ।’
ताललाई आधुनिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने प्रदेश नं ५ का प्रदेश सभा सदस्य भूमिश्वर ढकालले बताउनुभयो । उहाँले तालको विकाशका लागि प्रदेश सरकारले २ करोड बजेट बिनियोजन गरेको बताउँदै ताललाई अझ राम्रो बनाउनका लागि गुरु योजना बनाउने काम भइरहेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथिसमेत रहनुभएको ढकालले पर्यटक भित्र्याउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष गोर्कणबहादुर क्षेत्री, नेकपाका दिनानाथ आचार्य, नेपाली कांग्रेसका देबबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका उमबहादुर थापा, नयाँ शक्तिका सोमनाथ पाण्डे, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, कृषि उद्यमी गंगाधर उपाध्ययलगायतले बोल्दै ताललाई संरक्षण गर्नुका साथै पर्यटकीय क्षेत्रको रुपमा पहिचान दिलाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । यस क्षेत्रलाई व्यवस्थित वनभोज स्थलको रुपमा समेत विकास गर्नुपर्ने बताउँदै उहाँहरुले सबैको सहयोगबिना यो कार्य सम्भव नरहेको बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्ने वक्ताहरुले १ हप्ते ताल महोत्सवले आर्थिक क्षेत्रमा समेत ठुलो टेवा पुग्ने उल्लेख गर्दै महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
१९ गतेसम्म सञ्चालन हुने महोत्सवमा भलिबल प्रतियोगिता, कञ्चन डान्स आइडल, डुंगा रेस प्रतियोगिता, कृषि व्यापार मेला, तलाउमा फिसिङ्ग कार्यक्रम रहनेछन् ।
सोमबार राष्ट्रिय लोक तथा दोहोरी गायक दिपु मगर, हाँस्यकलाकार विष्णु जी पाण्डे ( माइला बा ), लोक तथा दोहोरी गायिका सीता राना मगर,आधुनिक गायक अनिल पहाडी, दोहोरी गायक शुरेश परियार, नृत्यकार पुजा गहतराजलगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक खेम सुनारले जानकारी दिनुभयो ।
दानापुर तालको गुरुयोजना बनाउनुहोस्: भट्टराई
