लुम्बिनीमा आत्महत्या घट्दोः रूपन्देहीमा सबैभन्दा बढी आत्महत्याका घटना, रुकुम पूर्वमा कम

किन हुन्छन् एकपछि अर्को आत्महत्या ?

मेचीकाली संवाददाता

१२ श्रावण २०८०, शुक्रबार
662 shares

रमेश पराजुली

बुटवल । लुम्बिनी प्रदेशमा पछिल्ला वर्ष आत्महत्या गर्नेको संख्या घट्दै गएको पाइएको छ । पछिल्लो ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा आत्महत्या गर्नेको संख्या घटेको पाइएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार ३ वर्षमा ४ हजार ६० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् ।

लुम्बिनीमा आर्थिक वर्ष ०७७/७८ मा एक हजार ४१५ जनाले आत्महत्या गरेका थिए । आ.व ०७८/७९ मा एक हजार ३४१ जनाले आत्महत्या गरेकोमा आ.व ०७९/०८० मा एक हजार ३०४ जनाले आत्महत्या गरेका छन् । यो तथ्याङ्कले प्रदेशमा आत्महत्या गर्नेको दर क्रमशः घट्दो क्रममा रहेको देखाउँछ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ३ वर्षमा रूपन्देहीमा सबैभन्दा बढी आत्महत्याका घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । रुपन्देहीमा सबैभन्दा बढी ७५७ जनाले आत्महत्या गरेका छन् भने सबैभन्दा कम आत्महत्या रुकुम पूर्वमा भएको पाइएको छ । सो अवधिमा रुकुम पूर्वमा ४१ जनाले आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशमा समग्रमा आत्महत्याको दर घटेपनि पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा पाल्पा, गुल्मी, प्यूठान र बाँकेमा आत्महत्याका घटना बढेका छन् । रुपन्देही, दाङ, अर्घाखाँची र रोल्पामा आत्महत्या स्थिर छ भने अन्य जिल्लामा घटेको देखिएको छ ।

लुम्बिनी प्रदेशमा ३ वर्षमा आत्महत्या गरेका पुरुष र महिलाको संख्या

कुन जिल्लामा कति जनाले गरे आत्महत्या ?
आर्थिक वर्ष ०७७/७८ मा रुपन्देहीमा १३१ जना महिला र १३७ जना पुरुष गरी २६८ जनाले आत्महत्या गरेका छन् । पश्चिम नवलपरासीमा ४१ जना महिला र ७२ जना पुरुष गरी ११३ जनाले आत्महत्या गरेका छन् । कपिलवस्तुमा ५९ जना महिला र ९२ जना पुरुष गरी १५१ जनाले आत्महत्या गरेका छन् । गुल्मीमा २८ जना महिला र ७० जना पुरुष गरी ९८ जनाले आत्महत्या गरेका छन् । पाल्पामा ३८ जना महिला र ३९ जना पुरुष गरी ७७ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै, अर्घाखाँचीमा ४४ जना महिला र ३६ जना पुरुष गरी ८० जनाले आत्महत्या गरेका छन् । दाङमा १०१ जना महिला र १४५ जना पुरुष गरी २४६ जनाले आत्महत्या गरेका छन् । प्युठानमा ५५ जना महिला र ५६ जना पुरुष गरी १११ जनाले आत्महत्या गरेका छन् । रोल्पामा ३७ जना महिला र ४४ जना पुरुष गरी ८१ जनाले आत्महत्या गरेका छन् । बाँकेमा २० जना महिला र २० जना पुरुष गरी ४० जनाले आत्महत्या गरेका छन् । बर्दियामा ६९ जना महिला र ८२ जना पुरुष गरी १५१ जनाले आत्महत्या गरेका छन् । रुकुम पूर्वमा ९ जना महिला र ८ जना पुरुष गरी १७ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष ०७८/७९ मा रुपन्देहीमा ११४ जना महिला र १५२ जना पुरुष गरी २६६ जनाले आत्महत्या गरेका छन् । नवलपरासी पश्चिममा ३१ जना महिला र ७० जना पुरुष गरी १०१ जनाले आत्महत्या गरेका छन् । कपिलवस्तुमा ८६ जना महिला र ८३ जना पुरुष गरी १६९ जनाले आत्महत्या गरेका छन् । गुल्मीमा १६ जना महिला र ५५ जना पुरुष गरी ७१ जनाले आत्महत्या गरेका छन् । पाल्पामा २९ जना महिला र ४६ जना पुरुष गरी ७५ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै, अर्घाखाँचीमा २१ जना महिला र ३८ जना पुरुष गरी ५९ जनाले आत्महत्या गरेका छन् । दाङमा ४६ जना महिला र १६१ जना पुरुष गरी २२७ जनाले आत्महत्या गरेका छन् । प्युठानमा ३३ जना महिला र ३५ जना पुरुष गरी ६८ जनाले आत्महत्या गरेका छन् । रोल्पामा ३४ जना महिला र ३९ जना पुरुष गरी ७३ जनाले आत्महत्या गरेका छन् । बाँकेमा २३ जना महिला र ३५ जना पुरुष गरी ५८ जनाले आत्महत्या गरेका छन् । बर्दियामा ६९ जना महिला र ९३ जना पुरुष गरी १६२ जनाले आत्महत्या गरेका छन् । रुकुम पूर्वमा ६ जना महिला र ६ जना पुरुष गरी १२ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष ०७९/८० मा रुपन्देहीमा ९७ जना महिला र ११४ जना पुरुष गरी २४१ जनाले आत्महत्या गरेका छन् । नवलपरासी पश्चिममा ३६ जना महिला र ३७ जना पुरुष गरी ७३ जनाले आत्महत्या गरेका छन् । कपिलवस्तुमा ६० जना महिला र ८७ जना पुरुष गरी १४७ जनाले आत्महत्या गरेका छन् । गुल्मीमा ३० जना महिला र ५१ जना पुरुष गरी ८१ जनाले आत्महत्या गरेका छन् । पाल्पामा २८ जना महिला र ५८ जना पुरुष गरी ८६ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै, अर्घाखाँचीमा ३६ जना महिला र ३४ जना पुरुष गरी ६० जनाले आत्महत्या गरेका छन् । दाङमा १०० जना महिला र १२० जना पुरुष गरी २२० जनाले आत्महत्या गरेका छन् । प्युठानमा ३५ जना महिला र ३९ जना पुरुष गरी ७४ जनाले आत्महत्या गरेका छन् । रोल्पामा ३० जना महिला र ३७ जना पुरुष गरी ६७ जनाले आत्महत्या गरेका छन् । बाँकेमा ५६ जना महिला र ६६ जना पुरुष गरी १२२ जनाले आत्महत्या गरेका छन् । बर्दियामा ४७ जना महिला र ७४ जना पुरुष गरी १२१ जनाले आत्महत्या गरेका छन् । रुकुम पूर्वमा ३ जना महिला र ९ जना पुरुष गरी १२ जनाले आत्महत्या गरेका छन् ।

मान्छे किन आत्महत्या गर्छ ?
कुनै पनि मान्छेले त्यत्तिकै आफ्नो अमुल्य जीवन समाप्त पार्दैन । यसका पछाडि धेरै कारणहरु हुन्छन् । त्यसमध्ये उदासीनतालाई आत्महत्याको मुख्य कारण मानिन्छ। सामान्यतः धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकता भन्दा बढी उतार–चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नु आदि उदासीनताका कारणहरु हुन् ।

रक्सी र अन्य लागूऔषधको प्रयोग आत्महत्याको अर्को कारण हो। केही मानिसहरु नयाँ अनुभव लिन, उदासीनता, निराशापन, नकारात्मक भावनालाई हटाउनका लागि भन्दै मद्यपान वा अन्य लागूऔषधको प्रयोग गर्दछन् । यसले कार्य शिथिलता ल्याउने तथा उदासीनता बढाउने गर्छ । साथै यसको प्रयोगले धेरै प्रकारका शारीरिक, मानसिक, भावनात्मक र आर्थिक समस्या निम्त्याउँछ । जसले गर्दा विस्तारै बाँच्ने रहरमा कमी हुदै जाँदा आत्महत्या बढ्ने गरेको पाइन्छ । दीर्घरोग पनि आत्महत्याको एउटा कारण हो । कुनै पनि शारीरिक रोगबाट लामो समयसम्म ग्रसित भइरहेर बाँच्नुको अर्थ नदेखेर कतिपय मानिसले आत्महत्याको बाटो रोज्छन् । त्यसैगरी सामाजिक, व्यक्तिगत वा मनोसामाजिक समस्याहरुले पनि आत्महत्या बढाउने गरेको छ ।

समग्रमा जीवनप्रति चरम वितृष्णा, मानसिक तनाव, निराशा, असफलता, अवैध यौन सम्बन्ध, लागुपदार्थको दुव्र्यसन, बढ्दो बेरोजगारी, आर्थिक अभाव, सामाजिक अपहेलना तथा उपेक्षाका कारण यस्ता घटना बढ्ने गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोगसँगै बढ्दै गरेको साइबर अपराधका कारण आत्महत्याका घटना बढ्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

निराशा, दुव्र्यसन र असफलता मुख्य कारण
नेपाल प्रहरीले आत्महत्या रोकथाम गर्ने उद्देश्यले विभिन्न प्रकारका जनचेतानामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि आत्महत्याका घटनामा भने खासै कमी आएको देखिँदैन ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेशराज जोशीले व्यक्तिको उच्च महत्वकांक्षा र विभिन्न कारणले मानसिक तनाब भएर धेरैजसोले आत्महत्या गर्ने गरेको बताए । ‘आत्महत्याको मुख्य कारण रोजगारी, गरिबी र हिंसासँग जोडिन्छ । मानिसमा आइपर्ने मानसिक विचलनलाई समयमा नबुझिदिँदा, व्यक्तिले आफ्ना समस्या व्यक्त नगर्दा आवेशमा आत्महत्या गरेको देखिन्छ,’ डिआइजी जोशीले भने, ‘मानिसले घाँटी हेरी हाँड निल्नुपर्छ, आफूलाई अरुसँग तुलना गर्न थालियो भने त्यहीँबाट समस्या सुरु हुन्छ र अन्त्यमा आत्महत्याको अवस्था पनि आउन सक्छ ।’

उमेश राज जोशी/प्रहरी नायब महानिरीक्षक लुम्बिनी प्रदेश

समाज आधुनिकीकरणतर्फ अघि बढ्दै गर्दा आत्महत्याको घटना बढ्नु आफैँमा चिन्ताको विषय भएको उनको भनाइ छ । पछिल्लो समय नयाँनयाँ प्रविधिको बिकाससँगै बालकालिका र अभिभावकबिचको दूरी टाढिँदै गएको बताउँदै उनले यसले बाल मस्तिष्कमा नकारात्मक कुराहरु थपिदै गएको बताए । ‘बालबालिका अधिकांश समय मोबाइल इन्टरनेटमा भुलिरहेका हुन्छन्, अभिभावकले आफ्ना बच्चाले मोबाइलमा के गरिरहेको छ भन्नेबारे वाच गर्नुपर्छ ।’ डिआइजी जोशीले भने, ‘बच्चाहरुले इन्टरनेटको दुरुपयोग गरी गलत कुराहरु सिकिरहेका हुन सक्छन् । लत बसेपछि त्यसले गम्भीर समस्या निम्त्याउँछ ।’
लुम्बिनीमा प्रदेश विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा आत्महत्या रोकथाम तथा न्यूनीकरण अभियान सञ्चालन भइरहेको डिआइजी जोशीले बताए । पछिल्लो एक वर्षमा मात्रै समुदाय प्रहरी साझेदारीअन्तर्गत नेपाल प्रहरीले स्थानीय तहका जनप्रतिनिधिसमेतको सहभागितामा झण्डै ५ सय सचेतनामूलक कार्यक्रम गरिएको उनले बताए । यस्ता कार्यक्रमले समाजमा सकारात्मक उर्जा दिने बताउँदै विभिन्न विद्यालय, संघसंस्था र समूहमार्फत गाउँ टोलमा सञ्चालन गर्नुपर्ने र यसमा सबैले सहयोग गर्नुपर्नेमा डिआइजी जोशीले जोड दिए ।

पारिवारिक कलह, आर्थिक विपन्नता, तनाव, लागुपदार्थको दुव्र्यसन, डिप्रेसनजस्ता कारणले पनि आत्महत्याको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । ‘दैनिक जसो आत्महत्याका घटना भइरहेका छन्’, उनले भने ‘वर्षौँदेखि आत्महत्या न्यूनीकरणका लागि समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम भइरहेका छन् तर, यस्ता कार्यक्रमले मात्रै आत्महत्या घट्ने अवस्था देखिएन । यसतर्फ सबै पक्षको ध्यानाकर्षण हुनु जरुरी छ ।’ मानसिक तनाबमा भएका व्यक्तिले आफ्नो मन बुझाउन नसक्दा आत्महत्याका घटना बढ्ने गरेकाले परिवारका सदस्य तथा नजिकका साथिहरुले समस्या बुझेर समाधानका लागि सहयोग गर्नुपर्ने डिएसपी अर्यालले बताए ।

प्रहरीको अनुसन्धानले आत्महत्या रोकथामसम्बन्धी प्रयासमा ज्ञान, सीप तथा जनचेतनाको कमी देखाएको छ भने रोकथामका लागि वैज्ञानिक अनुसन्धानसमेत भएको देखिँदैन । आत्महत्या गर्ने सोचाइ भएका व्यक्तिको मनोचिकित्सा गर्न मनोवैज्ञानिक परामर्शको समेत कमी छ ।

असफलता, कुलत र पारिवारिक स्नेहमा कमीले बढ्दो समस्या
आत्महत्याका घटना न्यूनीकरणका लागि त्यसको कारण पहिचान गरी भौतिक विकासमा जस्तै मानसिक र सामाजिक विकासमा पनि ध्यान दिनुपर्ने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका मनोचिकित्सक डा.असिम रेग्मीले बताए । ‘व्यक्तिले आत्महत्या एउटा मात्रै कारणले गर्दैन, ‘आत्महत्या गर्नेमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको अनुसन्धानले देखाएको छ ।’ उनले भने ।

पछिल्लो समय सबै उमेर समूहका मानिसमा डिप्रेसनको समस्या बढ्दै गएको डा. रेग्मीले बताए । ‘म आफैँले पनि दैनिक ५०–६० जना मानसिक रोगका बिरामीको चेकजाँच गर्दै आएको छु,’ उनले भने, ‘बेरोजगारी, प्रेम सम्बन्धमा असफलता, कुलत र पारिवारिक स्नेहमा कमीका कारण पनि मानिसमा मानसिक समस्या बढ्दै गएको देखिन्छ ।’ उनले अभिभावकको लापरबाहीले पनि किशोर–किशोरीमा मानसिक समस्या बढ्दै गएको बताए । डा. रेग्मीले थपे ‘समाज र परिवारबाट लगाव घट्दै जानु र सामाजिक व्यवस्थाप्रतिको चरम निराशाका कारण पनि मानिसमा डिप्रेसन बढ्दै गएको छ ।’

‘अहिले मान्छे शिक्षित छन् तर मनोवैज्ञानिक रूपमा कमजोर छन्, आत्मबल कमजोर छ यसले उसलाई आत्महत्यातर्फ डो¥याएको छ, यसका लागि विद्यालय तहदेखिनै मनोपरामर्श र मनोवैज्ञानिक शिक्षा दिन जरुरी छ ।’ डा. रेग्मीले भने ।
मानसिक तनाबकै कारण आत्महत्या हुने भएकाले यस्ता व्यक्तिलाई समयमै मानसिक उपचार र जीवनबारे बुझाउन सकिएमा आत्यहत्याका घटनामा कमी आउने उनले बताए । ‘सरकारले अस्पतालमा मनोचिकित्सकको व्यवस्था गरी मानसिक स्वास्थ्यको औषधी निःशुल्क गराउनुपर्छ ।’ उनले भने,‘मनोसामाजिक स्वास्थ्यका बारेमा गाउँ तहसम्म जनचेतना जगाउनुपर्छ ।’