पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

मेचीकाली संवाददाता

१४ श्रावण २०८०, आईतवार
367 shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान ड्यामसाइड क्षेत्रमा ढुंगा र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरोले सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश विन्दुको रिबमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पहिरो हटाउने काम सुरु भएपनि सवारी सञ्चालन हुन केहि समय लाग्ने दोभान प्रहरी चौकीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी, अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने सवारी साधन बिच बाटोमै रोकिएका छन् ।

बुटवल–पाल्पा सडकखण्डको यो क्षेत्रमा हरेक वर्षायाममा निरन्तर पहिरो बग्दै आएको छ । पहिरो झरिरहने भएकाले बुटवलदेखि झुम्सासम्मको सडकलाई असुरक्षित मानिन्छ ।

यहाँ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । अहिलेपनि लगातार पानी परेकाले पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।