बुटवल, माघ १६ । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा यही माघ २८ गते हुने भएको छ । मंंगलबार बुटवलमा भएको बैठकले साधारणसभा तयारीका लागि विभिन्न समिति गठन गरेको छ । साधारण सभा व्यवस्थापनका लागि दिनेश पाण्डेको संयोजकत्वमा स्वस्तिक श्रेष्ठ, वीरेन्द्र कुँवर, प्रकाश आचार्य, माया केसी, कृष्ण खनाल, हिक्मत चौधरी सदस्य रहेको आन्तरिक व्यवस्थापन समिति, निरु गौतमको संयोजकत्वमा संजय सौगात, सन्जु पौडेल, प्रकाश डुम्रे, वीरेन्द्र मिश्र सदस्य रहेको अतिथि सत्कार समिति रामप्रसाद आचार्यको संयोकत्वमा कमल रायमाझी, विनोद परियार, विकास पराजुली, कपिल अधिकारी सदस्य रहेको प्रतिवेदन तथा सचिवालय व्यवस्थापन समिति गठन गरिएको सचिव रामप्रसाद आचार्यद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैठकले महासंघले संयोजन गरेका सबै पुरस्कार समयमै व्यवस्थापन, पत्रकार दुर्घटना बिमा र राहत रकम संयोजन गर्न अध्यक्ष यानेन्द्र जिसीलाई जिम्मेवारी दिएको छ भने पुरस्कार छनौट समिति पनि गठन गरेको छ । जसअन्र्तगत उत्कृष्ट पत्रकारिता पुरस्कार २०७४ लागि सल्लाहकार डिआर घिमिरेको संयोजकत्वमा भरत केसी र छवि पाण्डे सदस्य रहेको छनौट समितिलाई जिम्मा दिने निर्णय गरेको छ । उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७४ का लागि सल्लाहकार माधव नेपालको संयोजकत्वमा सहसचिव विनोद परियार र वन कार्यालयका प्रतिनिधि सदस्य रहने गरी छनौट समिति गठन गरिएको छ भने सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार २०७३ र २०७४ छनौटका लागि सहसचिव कमल रायमाझी संयोजक तथा सिद्धार्थनगर उवासंघ महासचिव नेत्रप्रसाद आचार्य तथा संजय सौगात सदस्य रहेको मूल्यांकन समिति गठन गरिएको छ ।