बुटवल, माघ १६ । तिलोत्तमा–५ स्थित न्यू इन्भाइरन्मण्ट विद्यालयमा रजत जयन्तीको सवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु जारी छन् । विद्यालयको २५ औं वार्षिकउत्सवको अवसरमा विभिन्न सिर्जनात्मक तथा रचनात्मक प्रतियोगिाताहरु सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
यसैबीच मंगलबार तिनवटा कार्यक्रमहरु सञ्चालन भएका छन् । पहिलो चरणमा सञ्चालन भएको महिला सचेतना गोष्ठी तिलोत्तमा नगरपालिका वडा नं. ५ न्यू इन्भाइरन्मण्ट स्कूलमा वृहत् रुपमा सम्पन्न भएको छ । नेत्रलाल वनको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख जागेश्वरी देवी चौधरी गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख चौधरीले महिला सशक्तिकरणको लागि आफ्नै परिवारबाट सुरु हुनुपर्ने र सरकारी निकायहरुमा महिलाहरुको व्यवहारिक सहभागिता हुनुपर्ने विचार राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख वक्ता माइती नेपाल रुपन्देही इञ्चार्ज माया क्षेत्री र कदम नेपाल, जिल्ला अध्यक्ष इन्दिरा आचार्यले सहजीकरण गर्नुभएको थियो । यस्तै कार्यक्रममा ब्लु डाइमन्ड सोसाइटी रुपन्देहीका अध्यक्ष आनिक रानालगायतले बोल्नुभएको थियो । मानव अधिकार, महिला अधिकार, महिला हिंसा एवम् महिला सचेतनालगायतका विषयहरुमा गहकिला विचारहरु राख्नुभएको थियो । कार्यक्रमको संयोजन र सञ्चालन शिक्षिका कविता पन्थीद्वारा गरिएको थियो । कार्यक्रममा तिलोत्तमा नगरपालिका भित्रका २५ वटा आमा समूहको सहभागिता रहेको थियो ।
यस्तै मंगलबार नै दोस्रो कार्यक्रमको रुपमा चित्रकला र रचनात्मक कार्यक्रम ‘मैले जे देखेँ’ प्रतियोगिता सम्पन्न भएको छ । चित्रकलामा १५ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । सहभागीमध्ये एपेक्स स्कूलका आशिष चिडी, एभरेष्ट ई.से.स्कूलका सुजन राना र दिप बोर्डिङ्ग हाई स्कूलका क्रिस रानाले क्रमशःप्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका छन् । त्यस्तै ‘मैले जे देखेँ’ प्रतियोगितामा १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा न्यू होराइजन मा.वि., एपेक्स स्कूल र न्यू इन्भाइरन्मण्ट ई.से.स्कूल क्रमशःप्रथम, द्वितिय र तृतिय भएका छन् । यसैगरी आज राष्ट्रिय एकतासम्बन्धी राष्ट्रियस्तरको गोष्ठी र फोटो प्रतियोगिताको नतिजा प्रकाशन कार्यक्रमहरु गरिने जानकारी ‘रजतमहोत्सव २०७५’ सञ्चार व्युरो प्रमुख रोशन खनालले जानकारी दिनुभयो । रजतजयन्तीको मूल समारोह माघ १९ गते हुनेछ । विद्यालयले रजत होत्सवलाई धुमधामसँग मनाउन शिक्षामा सरोकार राख्ने सबैसँग आग्रह गरेको छ ।
इन्भाइरन्मण्टमा खेलकुद प्रतियोगिता जारी
