जीवराज चालिसे
बुटवल, माघ १७ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले हायर पर्चेज कर्जा प्रवाहमा कडाइ गरेपछि निजी सवारी साधनको खरिद विक्री घटेको छ । बैंकहरुले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गर्न कडाइ गरेसँगै निजी सवारी खरिदविक्रीमा करिब ५० प्रतिशतले कमी आएको हो ।
रुपन्देहीका सवारी विक्रेताहरुले उपलब्ध गराएको तथ्याङ्कले एक बर्षयता निजी प्रयोजनमा प्रयोग हुने सवारी साधनको विक्रीमा ५० प्रतिशतले कमी आएको देखाउँछ । सुजुकी कम्पनीको आधिकारीक विक्रेता अटोमार्ट इण्टरनेशनलले गत वर्षदेखि निजी सवारी विक्री आधाले घटेको जनाएको छ । अटोमार्टका सेल्स एक्जिक्युटिभ नवीन नेपालले यस वर्ष २ सय ३० ओटा सवारीमात्र विक्री गरेको जानकारी दिनुभयो । जबकि अघिल्लो वर्ष सोही अवधिसम्म यो संख्याको दोब्बर सवारी विक्री भएको उहाँको दावी छ ।
त्यस्तै टाटा कम्पनीको आधिकारीक विक्रेता सफल अटो इण्डरनेशनलले गाडीको विक्रीमा ५० प्रतिशतले कमी आएको बतायो । इण्टरनेशनलका सेल्स एण्ड मार्केटिङ कोअर्डिनेटर सन्दीप पोखरेल बैंकहरुले निजी सवारी खरिदका लागि कर्जा दिन नसकेकै कारणले विक्री घटेको बताउनुहुन्छ ।
बुटवलको कालिकानगरस्थित हुन्डाइको आधिकारीक विक्रेता सिद्धिविनायक मोटो कर्पले गत वर्षको पुस महिनादेखि हालसम्म २ सय ७५ वटा वटामात्र सवारी विक्री ग¥यो । विक्रेताका अनुसार सवारी विक्रिमा अघिल्लो सालभन्दा ५० प्रतिशतले गिरावट आएको छ । एमजी कम्पनीको आधिकरिक विक्रेता मणिग्राममा रहेको स्पीड एण्ड साइन अटो जोन प्रालिका वर्कसप म्यानेजर सुशिल पाण्डेले सवारी विक्रीमा ७५ प्रतिशतले ह्रास आएको जानकारी दिनुभयो । एमजी कम्पनीका गाडीहरु ३५ लाख रुपैंयाँदेखि माथि पर्ने र थोरै सवारी कर्जामा खरिद गर्न नसकिने भएकाले विक्रीमा अत्याधिक गिरावट आएको उहाँको भनाइ छ ।
त्यति मात्रै होइन रेनल्टको आधिकारिक विक्रेता भैरहवा अटो कम्पनी प्रालि, ड्याटसनको भैरव अटो सेण्टर, निसानको हाइवे अटो भिल्लालगायतका निजी सवारीका डीलरहरुले गाडीको विक्रीमा आधा घटेको बताउँछन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले सवारी खरिदको ५० प्रतिशतमा मात्रै कर्जा लगानी थालेपछि सवारी विक्रि सुस्ताएको हो । लगानीयोग्य पूँजीको अभाव भएपछि राष्ट्रबैंकले यस्तो निर्देशन दिएको थियो । यस भन्दाअघि निजी सवारी खरिदमा ६५ प्रतिशतसम्म बैंकहरुले कर्जा दिन पाउँथे । अनुत्पादक क्षेत्रमा ऋण बढी प्रवाह भएपछि राष्ट्र बैंकले ५० प्रतिशतको सिमा तोकेको हो । यसको प्रत्यक्ष असर सवारीको विक्रिमा परेको छ ।
उत्पादक ‘भर्सेज’ अनुत्पादक क्षेत्र
अहिले उत्पादक क्षेत्रमा तुलनात्मक रुपमा लगानीको माग बढिरहेको छ । प्रदेशमा स्थापना भइरहेका ठूलाठूला उद्योग तथा प्रतिष्ठान, होटेल तथा रेष्टुरेण्ट, कृषि फर्महरुमा कर्जाको माग अत्याधिक छ । बैंकमा रहेको सीमित तरलताले उत्पादनशील क्षेत्रमा समेत कर्जा प्रवाह हुन नसकिरहेको अवस्थामा निजी सवारी र घर जग्गा जस्ता अनुत्पादक क्षेत्रमा बैंकहरुले लगानी गर्न आनाकानी गर्ने गरेका छन् ।
बैंकमा सेयर होल्डरहरुको लगानी र निक्षेप संकलनबाट तरलता सिर्जना हुन्छ । बैंकहरुले चाहे जति निक्षेप संकलन गर्न नसकेका कारण तरलता सीमित मात्रामा मात्र उपलब्ध छ । राष्ट्र बैंकको तथ्याङ्कले दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको वृद्धिदर निक्षेपमा (५.७८ प्रतिशत) भन्दा कर्जामा (५.९५ प्रतिशत) बढी देखाउँछ । ‘त्यो सीमित तरलतालाई कता प्रवाह गर्र्ने त ? यो बैंकहरुको नीतिमा भर पर्छ,’ नेपाल राष्ट्र बैंक भैरहवा कार्यालय प्रमुख अशोककुमार पौडेल बताउनुहुन्छ । उहाँका अनुसार बैंकहरुले उत्पादनशील क्षेत्रलाई प्रथामिकता दिएको भएर नै निजी सवारी तथा घर जग्गा खरिदका लागि कर्जा प्रवाह हुन नसकेको हो ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने सवारी खरिदको ५० प्रतिशतमा मात्रै कर्जा लगानी थालेपछि सवारी विक्री सुस्ताएको हो । यस भन्दाअघि निजी सवारी खरिदमा ६५ प्रतिशतसम्म बैंकहरुले कर्जा दिन पाउँथे ।
किन पाइँदैन कर्जा ?
आर्थिक वर्ष २०७५÷७६ का लागि राष्ट्र बैंकले लिएको मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको तुलनामा निक्षेप र प्राथमिक पूँजी (सीसीडी) को अनुपात ८० प्रतिशत अनुरक्षण गर्नुपर्ने नीति छ । यसको अर्थ उनीहरुले सिसिडीको ८० प्रतिशत सम्ममात्रै कर्जा प्रवाह गर्न सक्छन् तर पुस मसान्त सम्ममा केही बैंक तथा वित्तिय संस्थाहरुले यो अनुपात नाघिसकेका छन् भने अधिकांश बैंकहरु नाघ्ने अवस्थामा छन् । नेपाल राष्ट्र बैंक कै तथ्याङ्कअनुसार यस पुस मसान्तसम्ममा बैंकहरूले निक्षेप र प्राथमिक पूँजी योगको ७९ दशमलव ९ प्रतिशत कर्जा प्रवाह गरिसकेका छन् । जसले गर्दा बैंकहरुमा तलरताको अभाव रहेको छ । यद्यपी कर्जा प्रवाहको यस सिमाले सहुलियत कर्जालाई केही असर गरेको हुँदैन ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले पुस मसान्तसम्म २५ खर्ब ५४ अर्ब निक्षेप संकलन गरेका छन् भने २३ खर्ब ४४ अर्ब रुपैंयाँ कर्जा दिएका छन् । २८ वाणिज्य बैंकको प्राथमिक पूँजी तीन खर्ब ८० अर्ब जति छ । यसबाट औसतमा हिसाब निकाल्दा करिब ८० प्रतिशत हाराहारीमा कर्जा विस्तार भइसकेकाले अब बैंकहरूले कर्जा विस्तार गर्ने ठाउँ छैन । अब कर्जा विस्तार गर्न बैंकहरु निक्षेपको संकलनमा भर पर्नुपर्ने हुन्छ ।
यद्यपि यो तरलताको अभाव अनुत्पादक क्षेत्रमा लगानी गर्नेहरुको लागि मात्रै हो भन्नुहुन्छ डेभलपमेण्ट बैंकर्स एसोसिएसनका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल । उहाँका अनुसार लगानी योग्य पूँजीको अभाव हुँदा बैंकहरुले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाहलाई रोकी उत्पादनशील क्षेत्रमा लगानी बढाएका छन् । उहाँले कर्जा प्रवाह गर्ने सिमा सहुलियत कर्जाको हकमा लागु नहुँने हुनाले पनि उत्पादनशिल क्षेत्रमा कर्जाको प्रवाहमा कमि नआएको बताउनुहुन्छ ।
‘तपाईंले आफ्नो व्यवसायका लागि गाडी खरिद गर्दै हुनुहुन्छ भने तपार्इंलाई कर्जा पाउन गाह्रो छैन, ६५ प्रतिशतसम्म लगानी गर्न बैंकहरु राजी छन् ।’ उपाध्यक्ष पौडेल भन्नुहुन्छ, ‘तर निजी गाडीको लागि हो भने बैंकहरुले तरलताको अभाव देखाउँछन्, किनभने त्यहाँ लगानी गरेमा पूँजीको परिचालन हँुदैन । बजारमा पूँजीको चलायमान नभएमा अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्न सक्छ ।’