टोपलाल अर्याल
गुल्मी, माघ १८ । मालिका गाउँपालिका वडा नम्बर ३ ह्वाङ्गदीमा ‘जिरो होम डेलिभेरी’ अभियान सुरु भएको छ । मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापाले स्थानीय गर्भवती महिला उमा घर्तीको घरमा हरियो झण्डा झुन्डाएर अभियानको सुरुवात गर्नुभयो । ह्वाङ्गदीमा सुआहारा गुल्मीको प्राविधिक सहयोगमा मालिका गाउँपालिकाले अभियान सञ्चालन गरेको छ । बुधबार नै स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयसेविका र सरोकारवालालाई जिरो होम डेलिभेरीको महत्वका बारेमा सचेतना प्रदान गरिएको छ । सुआहारा जिल्ला संयोजक कृष्ण गुरुङ्गले जिरो होम डेलिभेरीको महत्व, सूचक र पोषणको महत्व र सुनौला हजार दिनका बारेमा सहजीकरण गर्नुभएको थियो । सोही अवसरमा एकीकृत ग्रामीण विकास समाजका अध्यक्ष हिरा एसीले जिरो होम डेलिभेरीको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँले आफूहरुको सानो प्राविधिक सहयोग मात्रै भएकाले यो अभियानलाई पूर्णता दिने काम स्थानीयको भएको बताउनुभयो ।
त्यस्तै गाउँपालिका प्रमुख रितबहादुर थापाले घरमै बच्चा जन्माउँदा आमा र बच्चाको मृत्यु हुने सम्भावना कम गर्न यो अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले जोखिमका कारण मृत्यु हुने र अपाङ्ग बच्चा जन्मिएर परिवार र समुदायमा त्यसको पीडा धेरै हुने भएकाले सवैले यो बिषयलाई गम्भिर रुपले लिएर अगाडि बढ्न आग्रह गर्नुभयो । यो अभियानलाई पूर्णता दिन वडाध्यक्ष राजकुमार विकको अध्यक्षतामा १२ सदस्य वडास्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको समेत गठन गरिएको छ । स्थानीय महिला सदस्य, दलित महिला सदस्य, विद्यालयका प्रतिनिधिसमेत सहभागी समितिले पोषण र जिरो होम डेलिभेरीको क्षेत्रमा काम गर्ने सुआहाराका फिल्ड संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । यो समितिले प्रत्येक गर्भवती महिलाको तथ्याङ्क संकलन, गर्भवती महिलाको घरमा हरियो झण्डा राख्नेलगायतका कामहरु गर्ने र सबै सूचक पुरा भएपछि जिरो होम डेलिभेरी वडा घोषणा गरिने स्वास्थ्य संयोजक बसन्तराज भुसालले बताउनुभयो ।
गर्भवती महिलाको पहिचान हुने, त्योसंगै गर्भवतिले पाउने सेवा–सुविधा तथा गर्भ जाँच गराउन सबैले प्रेरित गर्ने उद्धेश्यले हरियो झण्डा टाँसिएको भुसालले जानकारी दिनुभयो । मालिका गाउँपालिकाले गत वर्षदेखि नै जिरो होम डेलिभेरी अभियान संचालन गरेको छ । वडा नम्बर ६ अर्जैबाट सुरु भएको यो अभियान अब ह्वाङ्गदीसंगै अर्खबाङ्ग र घमिरमा सञ्चालन गरिने छ । यो वर्ष नै अर्जैलाई जिरो होम डेलिभेरी वडा घोषणा गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताउनुभयो ।
गर्भवतीको घरमा हरियो झण्डा
on: