गुल्मी, माघ १८ । मालिका गाउँपालिकाले यो बर्ष गाउँगाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिरहेको छ । गत वर्ष मालिका गाउँपालिकाले वडा नं २ दर्लिङ्ग र वडा नं ७ घमिरमा शिविर आयोजना गरेको थियो । यो वर्ष बाँकी छ वडामा निःशुल्क पशु स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिकाका पशु स्वास्थ्य संयोजक झविन्द्र जिसीले बताउनुभयो । सोहीअनुसार मालिका गाउँपालिका वडा नं १ नेटा र वडा नम्बर ३ ह्वाङ्दि र वडा नं ४ को अर्खबाङ्गमा एकदिने निःशुल्क पशुस्वास्थ्य शिविर सम्पन्न भएको जिसीले बताउनुभयो ।
गाउँमै आफ्ना पशुको निःशुल्क उपचार गर्न पाउँदा नागरिक खुसी भएका छन् । ‘पहिले गाउँमा शिविर नहुँदा तम्घास जानुपथ्र्यो खर्च पनि धेरै हुन्थ्यो,’ स्थानीय खगेश्वर घिमिरेले भन्नुभयो,‘गाउँमै निःशुल्क शिविर आएपछि खुसी भएका छौँ ।’ शिविरबाट स्थानीयले भैँसी, बाख्रा र गाईको लागी जुका, जुम्रा, भिटामिनलगायतका औषधी प्राप्त गरेका छन् । १८ माघमा वडा नम्बर ५ छापहिले, १९ गते वडा नम्बर ६ अर्जै र २० गते वडा नम्बर ८ मर्भुङमा शिविर संचालन गर्ने प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो । शिविरको लागि यो बर्ष गाउँपालिकाले चार लाख विनियोजन गरेको छ ।
गाउँपालिकाले यो आर्थिक वर्षमा पशु स्वास्थ्यको क्षेत्रमा कुल २० लाख विनियोजन भएको गिरीले बताउनुभयो । जसबाट बोयर पाठी वितरण, शिविर संञ्चालन, डाले घाँस नर्सरी, कृत्रिम गर्भाधानलगायतका काम गरिने गाउँपालिकाले जनाएको छ । शिविरको उद्घाटन गर्दै गाउँपालिका प्रमुख रितबहादुर थापाले गाउँपालिकालाई कृषि र पशुमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिनुभयो । पाँच वर्षभित्र गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्धेश्य भएकोले बाख्रापालनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । ‘कृषि र पशुपालनबाट मात्रै हाम्रो समृद्धि सम्भव छ,’ उहाँले भन्नुभयो,‘तपाईहरु काम गर्नुस्, सहयोग गाउँपालिकाले गर्छ ।’ निःशुल्क पशु स्वास्थ्य शिविरमा बंगुर, कुखुरा, बाख्रा र भैँसीको उपचार तथा औषधी वितरण गरिएको छ । मालिका गाउँपालिका वडा नं १ को नेटामा एक सय पाँच, वडा नं ३ ह्वाङ्गदीमा एक सय ३० र वडा नं ४ को अर्खाबाङ्गमा एक सय २५ जनाले सेवा लिएको गाउँपालिकाका पशु स्वास्थ्य कार्यकर्ता बसन्त भुसालले जानकारी दिनुभयो ।