बुटवल, माघ १८ । सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि.को रजत महोत्सव मूल समारोह कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चूडामणि खरेलको अध्यक्षता माननीय उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यता, तिलोत्तमा नगरकार्यपालिकाका नगर प्रमुख वासुदेव घिमिरेको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रुद्रप्रसाद श्रेष्ठले संस्थाको छोटो पृष्ठभूमिसहित स्वागत गर्नुभएको थियो ।
२०५० सालमा २६ जना शेयर सदस्य र रु.२६०० शेयर पूँजीवाट शुरु भएको यस सहकारी संस्थाको मिति २०७५ माघ १६ सम्म जम्मा शेयर सदस्य संख्याः ६७३२ जना पुरुष ः २९६१ महिला ३७७१ सदस्य, शेयर पूँजी रु.१७ करोड ४० लाख ९१ हजार, लगानीमा रहिरहेको, ऋण १ अर्व ५७ करोड ४२ लाख १४ हजार ५ सय ४५, सदस्यहरुको जम्मा निक्षेप १ अर्व ४६ करोड ९६ लाख ८२ हजार १ सय ५०, जगेडा कोष १० करोड १० लाख ९८ हजार ९ सय ३७, अन्य कोषहरुमा रहेको रकम ६ करोड ९१ लख ५४ हजार ८ सय ४४ र कूल सम्पत्ति १ अर्व ८९ करोड ७७ लाख ९ हजार ८ सय २८ रहेको छ । संस्थाले गत आर्थिक वर्षमा कूल संचालन मुनाफा रु.४ करोड ५ लाख गरेको थियो ।
कारोवारको हिसावले ५ नं. प्रदेशमै ठूलो र उत्कृष्ठ सहकारीको रुपमा परिचित यो संस्थाले आफ्नो रजत महोत्सवको अवसरमा गत २०७५ श्रावण ५ गते पत्रकार सम्मेलनमार्फत कार्यक्रमको घोषणा गर्दै वृक्षारोपण कार्यक्रम, अपाङ्ग आश्रमलाई खाद्यान्न सहयोग, प्रादेशिक सहकारी गोष्ठी, प्रादेशिक कविता गोष्ठी, निशुल्क पाठेघर परीक्षण कार्यक्रम, रक्तदान कार्यक्रम गर्दै बिहीबार मूल समारोह गरेको हो । रजत महोत्सवकै अवसर पारेर संस्थाले बिहीबार मूल समारोहमा शिलावृत्ति विशेष अंक विमोचन, संस्थाको वेबसाइट र ए.टि.एम.बिहीबारबाट संचालन गर्ने गरी समुद्घाटन गरेको थियो ।
मूल समारोहमा संस्थाले संस्थापक अध्यक्ष, स्थापनाकालका सदस्यहरु, विभिन्न विधामा विद्यावारीधि गर्नुहुने शेयर सदस्यहरु, पूर्व अध्यक्ष, वर्तमान अध्यक्ष, पूर्व तथा वर्तमान उपाध्यक्ष, पूर्व तथा वर्तमान संचालक तथा लेखा समितिका पदाधिकारीहरु, पूर्व तथा वर्तमान कर्मचारीहरु लगायत विशेष सहयोग गर्ने संघ संस्था तथा सदस्य तथा शुभेच्छुकहरुलाई यसै अवसरमा सम्मान गरिएको थियो । यसै अवसरमा संस्थाले रजत महोत्सव पत्रकारिता पुरस्कार रेडियो लुम्विनीका पत्रकार लक्ष्मण पौडेललाई रु ९,९९९÷ पुरस्कार प्रदान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लिला गिरी, विशिष्ट अतिथि वासुदेव घिमिरे, नेफ्स्कुनका सदस्य कृष्णप्रसाद नेपाल, राष्ट्रिय सहकारी वैंकका संचालक समिति सदस्य माधवलाल देवकोटा, वरिष्ठ पत्रकार दिपक ज्ञवाली, सल्लाहकार सुरेन्द्रकुमार वर्मालगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । उक्त कार्यक्रमको संचालन संचालक समितिकी सदस्य माया घिमिरेले गर्नुभएको थियो ।
सामूहिक सहकारीको रजत महोत्सव
