२०३० सालको किसान आन्दोलनः जसको इतिहास रगतको मसीले लेखिएको छ

मेचीकाली संवाददाता

२० श्रावण २०८०, शनिबार
370 shares

दीपक विश्वकर्मा (छविलाल)

तेस्रो सम्मेलनले पारित गरेको नयाँ जनवादी कार्यक्रमअनुसार पार्र्टीले लुम्बिनी अञ्चलमा किसान आन्दोलन चलाएको थियो । बनारसबाट ‘राजनीतिक दमन बन्द गर, राजबन्दी रिहा गर’जस्ता नारा लेखिएको पम्प्लेट ल्याइएको थियो । किसान आन्दोलनको उत्कर्ष २०३० कात्तिक २६ मा भएको थियो । साबिक लुम्बिनी अञ्चलका ६ जिल्लाका किसानहरूको सहभागितामा सबै जिल्ला सदरमुकाममा ठूलो जुलुस प्रदर्शन भएको थियो । (मुकेश पोख्रेल, उकालो अनलाइन)

५० वर्ष पहिले भएको त्यो विशाल किसान आन्दोलनलाई संझनेहरूले आजपनि जिब्रो टोक्छन्— त्यत्रो विशाल मानवसागर तम्घासको चिदीचौरसम्म आइपुग्दा प्रशासनले कसरी सुइकोसम्म पाएन ? हुन पनि उत्तर, दक्षिण, पूर्व, पश्चिम हरदिशाबाट आन्दोलनकारीहरूको विशाल जुलुस गगनभेदी नारा घन्काउँदै तम्घासमा ओइरिएको थियो । पराल्मी, रातामाटा, रिडी, थोर्गा, सिमीचौर, दुबीचौर, चारपाला लगायत गाउँहरूबाट जनताहरू उपल्लो तम्घासहुँदै बजार झरेका थिए । पराल्मी केशरमणिको जन्मथलो भइहाल्यो, पराल्मी र रातामाटाका मानिसहरूको भेल गर्जुरा, खानीगाउँ, छापटोलाहुँदै तम्घासको चिदीचौरमा ओइरिएको थियो ।

विगत केहीदिनदेखि फेसबुक म्यासेन्जरमा तम्घासस्थित महेन्द्र माविबाट पासआउट भएका पुराना विद्यार्थीहरूले आफुले सो विद्यालयमा पढ्दा देखेका, सुनेका, भोगेका अनेकौ किस्सा कहानीहरू एकआपसमा सेयर गर्दै इतिहासलाई संझना गरिरहेका छन् । पाकापुराना साथीहरू वीरेन्द्र शिल्डको रौनक, थुम्काका मास्टर प्रेमबहादुर थापामाड्साबको लौरोको पिँडुलामा लोला उठ्नेगरि बर्सिने स्वाँठदेखि चस्मेबुढीयाँको पिपलगेडीको मिठासको स्वाद चाखिरहेका छन् । इश्वरी, निर्मलाको सिंगानको कथा, सातै कक्षामा पढ्दैगर्दा रहरैरहरमा भएको कल्पना थापाको बिहेको कथादेखि अतिआदरणीय गुरुले मित्र बालकृष्ण पन्थीउपर “तिमीले त मलाई फल्नोकेटीसँग लागेको छ भन्ने झुटो कुरो काट्दै हिड्याछौ रे बालकृष्ण जस्ता” हुँदैनभएका चुक्लीसम्मका रमाइला संझनाहरू एकादेशका कथा बनेर मनोरंजन दिइरहेका छन् । व्यक्तिगत हाइहेलो र फेसबुक लाइक कमेण्टमा रमाउने पाकापुराना सबै अग्रजहरू विगत संझेर आत्मविभोर मात्र हुने गरेका छैनन्, संझनाको तरेलीमा डुबुल्की मार्दै विगतलाई ताजा बनाइरहेका छन् ।

अनेकौ विषयको उठानमध्ये २०३० सालमा तम्घासको चिदीचौरमा उर्लिएको मानवसागरले सबैलाई छोएको भान हुन्छ । ३० साल भनेको आजभन्दा ५० वर्ष अथवा आधा सताब्दी पहिलेको कुरो हो । सो आन्दोलनमा भाग लिएका अधिकांश सहभागीहरूको परलोकगमन भइसकेको छ र जो जिवित छन् उनीहरूले पौने सताब्दीको उमेर पार गरिसकेका छन् । जिवित रहेकाहरूको लागि सो आन्दोलन यसैपनि गौरवको विषय हुने नै भयो, उनीहरूले सो घटनालाई गौरवगाथाकोरुपमा लिने, मनमा संयोजन गरेर राख्ने गरेका छन् । सो बेलाका हामी केटाकेटी जसले सो आन्दोलनलाई टाढैबाट भएपनि देख्यौं, र पुलिसको बर्बरताको गवाहा बन्यौ । यी र यस्तै घटनाहरू त थिए, पञ्चायतविरुद्धको आन्दोलका स्रोतहरू, जसले हामीसबैको लागि उर्जाको स्रोत बन्न पुग्यो र निरंकुश पञ्चायती शासनको विरुद्ध कुनै न कुनै रुपमा भाग लिने प्रेरणा बन्न पुग्यो ।

सबैलाई सबैकुराको संझना नहोला, तर हामीमध्ये धेरैले बाटैभरि छरिएका आन्दोलनकारीका च्यादर, आस्कोट, कोट, जुत्ताचप्पल र नयाँ—पुराना ढाकाटोपीको असरल्ल चाङ्गसमेत देख्यौं । रगतपच्छे भएर कालिदास होटेलको बगलको गुहेखोलामा खसाइएका मानिसहरूको चाङको साछी बन्यौं । माथिको कथनलाई पुनः होहोराएर भन्नुपर्दा सोही बर्बरताको कारणले नै कलिलोवयदेखिनै पञ्चायती व्यवस्थाको निरंकुश चरित्र हाम्रो दिलोदिमागमा छाप बनेर बस्यो र कुनै न कुनैरुपमा सो निरंकुश व्यवस्थाको विरुद्ध लाग्ने प्रण ग¥यौं ।

३० सालमा कक्षा ६ मा अध्ययन गर्नुहुने तम्घास निवासी गणेश विश्वकर्माले आफ्नो पढाइको मितिको गणना गर्दै सो आन्दोलन ३० सालमै भएको बताउनु हुन्छ । अन्यस्रोतबाट पनि सो मिति पुष्टी हुनगएकोले कुनै विवाद गर्नु परेन । तर महिना र गतेको सवालमा सबैका आआफ्ना संझना रहे । त्यस विवादलाई खुद आन्दोलमै अगुवाइ गर्नुभएका र हालसम्म स्वस्थ जीवन जिइरहनुभएका लिलामणि ढुंगानाको हवाला दिँदै चुरामणि मरासिनीले कार्तिक ३० गते सो आन्दोलनभएको प्रमाण पेश गर्नु भयो । यो पंतिकार पनि सो आन्दोलनको गवाहामधये एक भएको हुँदा कतिपय दृष्य मेरो मानसपटलमा आजसम्म पनि जिवित छन् ।

यद्यपि मैले शुरुमा २९ सालको कुरो गरेर बहसलाई अगाडि बढाएको थिएँ । मितिको बारेमा उकालो अनलाइका सम्पादक मुकेश पोखरेलले सो आन्दोलको संयोजक तथा अगुवा केशरमणि पोख्रेलसँगको कुराकानीको फेहरिस्त तिथिमतिसकित प्रकाशित गर्नुभएकाले सो आन्दोलन २०३० कार्तिक २६ गते नै भएको कुरोमा कुनै दुईमत रहेन । २०३३ सालमा एसएलसी पास गर्नुभएका महेन्द्र माविकै विद्यार्थी बालकृष्ण पन्थीहुँदै महेन्द्र माविका विद्यार्थीहरू तिलक श्रेष्ठ, टोप थापा, मिठु सेरचन, युवराज श्रेष्ठ, गोमा सेन, बाबुराम मरासिनी, बाबुराम बंजाडे, गुमानसिंह थापा, गोकर्ण मरासिनी, मेघनाथ आचार्य, प्रकाश नेपाल, शिव मरासिनी, मिना श्रेष्ठ, यज्ञ पन्थी, ओम श्रेष्ठ, शेरजंगबहादुर बस्नेत, लगायतका अग्रज तथा समकालिन मित्रबन्धुहरू सो ऐतिहासिक आन्दोलनका गवाह हुन् । ग्रुपमा सक्रिय नभएतापनि पढाइको कालको हिसावले बिन्दु श्रेष्ठ, रमा जिसी, प्रकाश श्रेष्ठ, विजया दिदी(थर थाहा भएन), कान्ता दगामी, ज्ञानु श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, किरण पौडेल(कृष्ण पौडेल), चन्द्रबहादुर केसी लगायत अग्रज तथा समकालिनहरू कुनै न कुनैरुपमा सो किसान आन्दोलका साछी हुन् ।

घटनाबृतान्तअनुसार आन्दोलन लुम्बिनी अञ्चलस्तरको थियो । सो आन्दोलनलाई सफल पार्न केशरमणि पोख्रेलको कमाण्डमा मोहनलाल आचार्य र माधव ज्ञवालीसहित ३ जनाको सेक्रेटरीएट बनेको थियो । अर्घाखाँची जिल्ला इन्चार्ज तथा सचिव नेत्र पन्थीको कथनअनुसार सोही कमाण्डको नेतृत्वमा गुल्मी जिल्ला संयोजक थोर्गा निवासी हरिप्रसाद ज्ञवाली थिए । आन्दोलनकै समयताका जीवराज आश्रित पाल्पा जेलबाट छुटेर अर्घाखाँची पुगेका थिए । उनले त्यहिँ बसेर आन्दोलनको कमाण्ड गरेका थिए । सो समयमा भूगोलको हिसाबले रुपन्देही र नवलपरासी एउटै जिल्ला मान्थ्यिो । रुपन्देही सेक्रेटरी मदन पौडेलकाअनुसार नवलपरासीमा पनि ससानो विरोधसभा भएको थियो । त्यहाँ प्रशासनले दमन समेत गरेको थियो ।

रुपन्देही जिल्ला इन्चार्ज तथा सेक्रेटरी मदनलाल पौडेल थिए । कपिलवस्तुको कमाण्ड कसको हातमा थियो भन्ने सम्बन्धमा नेत्र पन्थी स्वयम् अनभिज्ञ छन् । आन्दोलनको सम्बन्ध र स्वरुपको बारेमा पन्थी भन्छन्—अर्घाखाँचीमा कार्यक्रम सफल भयो । त्यहाँ प्रशासनले दमन गर्न सकेन । पाल्पामा आठदश जना साथीहरूले श्रीनगरडाँडामा गएर नारा लगाएका थिए । त्यहाँ प्रशासनले चाल पाएर साथीहरूलाई तितरवितर पारेको थियोे । उनै नेत्र पन्थीको भनाइअनुसार रुपन्देहीमा आन्दोलन नगर्ने निर्णय ग¥यो जिल्ला पार्टीले । नेतृत्वको सो निर्णयलाई तत्काल पार्टी केन्द्रले बेसरी आलोचना गरेको थियो । तर पछि जब आन्दोलन भएका जिल्लाहरूबाट गिरफ्तारीबाट बच्न कमरेडहरू रुपन्देही ओइरिन थाले, रुपन्देही सेक्रेटरी मदन पौडेलले बेस्सरी स्यावासी पाए र पार्टीले उनीप्रति गरेको आलोचना पनि फिर्ता लियो । स्वयम् मदन पौडेलले पनि आफुले पार्टीलाई तहसनहस हुनबाट जोगाउन बोल्ड निर्णय गरेको बताउँछन् । सो समय रुपन्देही त्यसमा पनि बुटवल प्रशासनीक केन्द्र थियो । चारैतिरबाट कमरेडहरू जम्मा हुने ठाउँ थियो बुटवल । यदि सो समयमा हामीले पनि आन्दोलन गरेको भए पार्टीलाई ठूलो धक्का लाग्ने निश्चित थियो । नेत्र पन्थीको भनाइअनुसार कपिलवस्तुको ठूलो पैमानामा आन्दोलन हुन सकेन । थोरै साथीहरू बाणगंगा आसपासको जंगलमा गएर नारा लगाएका थिए र कपिलवस्तुले पार्टी संगठन जिवित रहेको राज्यलाई जनाउमात्र दिएको थियो ।

आउनमिल्ने हरगौडाबाट मानिसहरूको विशाल जुलुस जिल्ला प्रशासन अगाडिको लाकुरीबोटमा बनेको मञ्चलाई घेराहालेर जम्मा भएको थियो । तत्कालिन् अर्घाखाँची पार्टी सचिव नेत्र पन्थी संझना गर्दै भन्छन्— आन्दोलनको कमाण्डर क.केशरमणि पोख्रेल हुनुहुन्थ्यो । उहाँ जिल्लाको कुनै गाउँमा बसेर आन्दोलनको परिचालन गरिरहनुभएको थियो । सो जनसागरलाई सम्बोधन गर्ने जिम्मा गुल्मी जिल्लाको पूर्कोट निवासी प्रेमप्रकाश(चन्द्र) भुसालको थियो । (प्रकाश वा चन्द्र एकीन भएन) पार्टीमा उहाँलाई सबैले क.पसिना उमनामले चिन्थे । उहाँ वस्तुस्थितिको सही चित्रण गर्नसक्ने प्रखरवक्ता हुनुहुन्थ्यो ।

हामी सबै, जो त्योबेला कलिला विद्यार्थी थियौं । हामीले जे देख्यौं त्यसको शब्दाङ्कन गर्दा यस्तो आकृति बन्छः लाकुरीबोट अगाडि, पछाडि, बालमन्दिरको आगन, चिदीचौरको पर्खाल, हाल किरणपुस्तकालय रहेको भवनको आगन, केशव होटेलको बगलको काठेपुल सर्बत्र मानिसहरूका टाउकै टाउकाले पाटिएको थियो । नाराहरू घन्किरहेका थिए । एकजना ब्यक्ति मञ्चमा उभिएर भाषण गर्न थाले । उनले एकदुई मिनेट के बोलेका थिए, एकजना पुलिस अफिसरले सिटी फुकिहाल्यो । सिटी फुक्नु र कटबासका लौरा मानिसहरूका टाउका टाउका बर्सिनु एकै साथ भयो । मानिसहरू ज्यान जोगाएर भाग्न थाले । भाग्दाभाग्दै पनि उनीहरूले नारा लगाइरहेका थिए ।

देखे जानेका कुराः

तत्कालिन जिल्ला प्रहरी कार्यालय तम्घासमा दुईजना प्रहरीहरूको जगजगी थियो । उनीहरूलाई मानिस पिट्न हाकिमको अनुमति चाहिँदैन थियो । के निहु पाउँ, कनिका बुकाउँ जस्तै मानिस पिट्न उनीहरूलाई आइतबार कुर्नु पर्दै पर्दैनथियो । ती दुई होनहार राष्ट्रसेवकमा एकजना पाण्डेथरका हवलदार थिएभने अर्का घर्तीथरका जवान थिए । पाण्डे हवलदार असईमा रिटायर भएसायद, घर्तीचाँहि हवलदारमा सेवानिबृत भए । ती दुईजना प्रहरीहरूले आन्दोलकारीहरूलाई कटबासका लौराले पिटेको कुरो जब देख्ने सुन्नेले बयान गर्थे, बयान गर्दागर्दै आँसु झराल्थे र भक्कानिदै धारेहात लगाउँदै सराप्न थाल्थे । उपल्लो तम्घासको गौडो, बाख्रेछेडाको चोक र अर्घाखाँची, अर्खले झर्ने गौडामा रगतैपच्छे हुनेगरी मानिसहरूलाई निर्ममतापूर्वक पिटेको कुरो लामो समयसम्म चर्चाको विषय बनेको थियो । तत्कालिन तम्घासे साहुका छोरा युवराज श्रेष्ठ संझिन्छन्, हाम्रो घरको अगाडि ओखरको बोट थियो । त्यहिँ नजिकै काठको पुल पनि थियो । त्यो पुलबाट हामफलेर ज्यान जोगाउँदै मानिसहरू भागेका थिए । लत्ताकपडा, जुत्ताटोपीले खोला पाटिएको थियो । ती आन्दोलनकारीका छोडिएका जुत्ताचप्पलहरू उठाउने मान्छिेहरू धेरै थिए । एकजनाले उठाएर सकिने खालको थिएन त्यो थुप्रो । सबैको एकमत रह्यो— ती लत्ताकपडा, टोपीलगायत सामानहरू टन्टे नामका एक मान्छेले उठाएका थिए, जो सो समय अनेक बिसंगतिपूर्ण कुराहरूको लागि (कु)प्रख्यात थिए ।

यो कथनमा पनि सबैको एककत छः

कालिदास होटेलनिरको गुहेखोलामा खसेका मानिसहरूलाई हात उठाएर आत्मसर्पण गर्दापनि माथिबाट पिट्न छोडिएको थिएन । भीमचोकको उकालो रगतले लत्पतिएको थियो । जताततै एरीको च्यादर(आमभाषामा रेडियोको च्यादर), जुत्ताचप्पल र नयाँपुराना ढाका टोपीले भीमचोक निस्कने उकालोको सिडी भरिएको थियो । सो समयमा आम मानिसहरूले टोपी लगाउने भएको हुनाले पनि त्यसरी असरल्लै टोपी छरिएका होलान् ।

यो आलेख समुहबाट समुहको लागि तैयार गरिएको आलेख हो । म्यासेन्जरमै मित्र बन्नुभएका अग्रजपुस्ता दाजु चुरामणि पन्थीले सो आन्दोलनमा भागलिनुभएका अर्घाखाँची निवासी लिलामणि ढुंगानालाई सम्पर्क गरेर तिथिमिति बारे स्पष्ट हुने काम गर्नु भयो । मैले सो बेलाका नेतृत्वपंतिका जिवित सदस्यहरूलाई सम्पर्क गरी यथार्थ खोज्ने जमर्को गरेँ । उहाँहरू सबैको कुरालाई सारमा राख्दा के भन्न सकिन्छ भने—तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको लुम्बिनी अञ्चल सचिव हुनुहुन्थ्यो, केशरमसण पोख्रेल । उहाँको कमाण्डमा माधव ज्ञवाली र मोहनलाल आचार्य सहित तीनजनाको सेक्रेटरीएट बनेको थियो । अर्घाखाँचीको जिल्ला इन्चार्ज क. नेत्र पन्थी हुनुहुन्थ्यो भने आन्दोलनको कमाण्ड गर्दै जीवराज आश्रितले अर्घाखाँची मै बसेर सो आन्दोलनलाई हाँक्नुभएको थियो । जीवराज पाल्पा जेलबाट रिहा भएर त्यहाँ पुग्नु भएको हो । गुल्मी जिल्ला पार्टी सेक्रेटरी हुनुहुन्थ्यो बलेटक्सार निवासी हरिप्रसाद ज्ञवाली । रुपन्देही पार्टी जिल्ला सक्रेटरी हुनुहुन्थ्यो मदन पौडेल । जो आज अग्रज पत्रकारको रुपमा चिनिनु हुन्छ ।

कार्तिक ३० गते भएको त्यो विशाल आन्दोलनमा पार्टीले केही नाराहरू तय गरेको थियो । नेत्र पन्थीका अनुसार केशरमणिले नै बनासरबाट पर्चा छपाएर ल्याउनु भएको थियो । मदन पौडेल र नेत्र पन्थीका अनुसार नाराहरू थिए—१.बचत फिर्ता गर । २.चरीचरन कर खारेज गर । ३.रेडियो कर खारेज गर । ४. बन्दुक कर बन्द गर आदि आदि । यद्यपि सो आन्दोलनको अन्तर्यको बारेमा वर्तमानमा पार्टीका सबै गतिविधिलाई त्यागेर विपश्यनामा दिन बिताइरहनुभएका कपिलवस्तु निवासी तत्कालिन माओवादीका नेता मेघराज ज्ञवालीका अनुसार वास्तवमा २०३० सालको किसान आन्दोलन केशरमणि र पुष्पलाल बीचको व्यक्तित्वको टकरावको परिणति थियो । पुष्पलालले भन्दा मैले बढी पढेको छु भन्ने अहम् थियो केशरमणिमा । फलस्वरुप आफुलाई अब्बल ठान्थे । सोही टकरावस्वरुप पुष्पलालले केशरमणिलाई सुदुरपश्चिम खटाए । केशरमणि सुदुरपश्चिम जान त गए, तर लामो समय टिकेनन् । लुम्बिनी अञ्चलमा आएर किसानहरूको बीचमा काम गर्न थाले ।

जे होस् आन्दोलन सफल भएको थियो । सो ३० साले आन्दोलनका गवाह नेत्र पन्थी तथा मदन पौडेलका अनुसार आन्दोलन अञ्चलब्यापी भएको थियो । अर्घाखाँचीमा पनि विरोध प्रदर्शन भयो । सो जिल्लामा कुनै दमन भएको थिएन र कोही पनि गिरफ्तार हुनु भएन । नेत्र पन्थीको संझनामा पाल्पामा ससानो पैमानामा कार्यक्रम भएको थियो । श्रीनगर डाँडामा आठदश जना साथीहरू जम्मा भएर सांकेतिक रुपमा भएपनि कार्यक्रम गरे । नारा लगाए । प्रशासनले थाहा पाएपछि तितिरवितिर पारेको थियो । रुपन्देहीको तत्कालिन पार्टी सेक्रेटरी मदन पौडेललाई रुपन्देहीमा आन्दोलन गर्ने कुराको विरोध गरेकोमा कुनै पछताउ छैन । उहाँको मत अनुसार पार्टी भरखर भरखर बन्दै थियो । यदी त्यो कार्यक्रम हुन दिएको भए, पार्टी छिन्नभिन्न हुन्थ्यो । हामी माथि नाका बन्दी हुन्थ्यो र संगठन छिन्नभिन्न हुन्थ्यो । नेत्र पन्थीका अनुसार मदन पौडेलले तत्कालिन समयमा आलोचना खेपेता पनि पछि पार्टीबाट स्यावासी पाउनु भयो । उहाँको आन्दोलन नगर्ने निर्णयलाई पार्टीले समर्थन ग¥यो । किनकि आन्दोलन पश्चात गुल्मी, अर्घाखाँची र पाल्पाका कमरेडहरूको रुपन्देही आश्रयस्थल बन्यो । साथीहरू गिरफ्तार हुनबाट बचे ।

रुपन्देही निवासी सो बेलाका पेशेवर कार्यकर्ता देवेन्द्र घिमिरेका अनुसार सो बेलाका आन्दोलनमा सहभागी अधिकाँस पार्टीका कार्यकर्ताहरूको मृत्यु भइसकेको छ । नेत्र पन्थीका अनुसार पुर्कोटवासी पार्टीका जुझारु नेता प्रेमचन्द्र भुसाल उर्फ पसिनाको कपिलवस्तुको चन्द्रौटामा साइकलमा सवारभएको बखत गाडीको ठक्करबाट असामयिक निधन भयो । उहाँको मृत्युको तिथिमितबारे नेत्र पन्थीलाई कुनै जानकारी छैन । उहाँको मृत्युले नेपाली कम्युनिष्ट आन्दोलनको एक इतिहासको पटाक्षेप भयो । धुर्कोट सजस्थल पुख्यौली घर भइ हाल तिलोत्तमा—३ शंकरनगर बस्नुहुने बुटवल बहुमुखी क्याम्पसबाट हालै सेवानिबृत्त प्राध्यापक लिलाबहादुर केसी भन्नुहुन्छ सो किसान आन्दोलनमा सहभागीमध्ये एक हुनुहुन्थ्यो धुर्कोट निवासी दोण पन्थी, हाल उहाँ रुपन्देही जिल्लाको तिलोत्तमा—११, महुबारीमा स्वस्थ जीवन जिइरहनुभएको छ । उहाँ थप्नुहुन्छ, कुलबहादुर घर्ती, खिमबहादुर थापा सो आन्दोलनमा सक्रिय सहभागी हुनुहन्थ्यो । पुर्कोट बाँझकटेरीका जयप्रकाश भुसाल, वेदुराम भुसाल तथा गणानिधि भुसाल समेत सो ऐतिहासिक आन्दोलनमा सहभागी भएको कुरो केसीलाई सम्झना रहेछ । केसीकै अनुसार धुर्कोटे अगुवा नेताको नाम प्रेमप्रकाश नभएर प्रेमचन्द्र भुसाल थियो । उहाँ शिक्षित व्यक्तित्व हुनुहुन्थ्यो र गुल्मीकै कुनै स्कुलको प्रधानाध्यपक हुनुहुन्थ्यो । बि.सं. २०५४÷५५ सालतिर चन्द्रौटाबाट शिवपुर घरतिर जानेक्रममा उहाँ सवार साइकललाई बसले ठक्कर दियो र घटनास्थलमै उहाँको मृत्यु भएको भयो । भुसालको सम्बन्धमा पन्थी र केसीको सम्झना लगभग मिल्न जान्छ ।

जीवनको अधिकाँश काल राजनीतिमा बिताउनु भएका सो समयका गुल्मेली हिरो केशरमणि पाख्रेलको राजनीतिक जीवन सुखद् रहेन । त्याग, बलिदान र आन्दोलनको प्रतिमूर्ति थिए उनी । नेकपा, नेकपा एमाले हुँदै कांग्रेससमेत बन्न पुगेका एक अविछिन्न सत्ता विरोधी धरोहर थिए उनी । पत्रकार मुकेश पोख्रेलका अनुसार अनेक उतारचढावका बीच अन्तिमसमयमा करेसाबारीको काम गर्दागर्दै करेसाबारीमै ढल्नु भएको थियो केशरमणि । र यो एकप्रकारको गुमनाम मृत्यु थियो केशरमणिको ।

इतिहास कहिल्यै मेटिदैन । ३० सालको लुम्बिनी अञ्चलब्यापी सो किसान आन्दोलनले गुल्मेली जनतालाईहरूलाई संगठिग हुन उर्जा प्राप्त ग¥यो । त्यसको लगत्तै भएको हर्रेबर्रे काण्ड केशरमणि पोख्रेलको नेतृतवमा भएको अर्को आन्दोलन थियो । सो काण्डपश्चात उहाँ गिरफ्तार हुनुभयो । सो बेलाका महेन्द्र हाइस्कुलमा पढ्ने विद्यार्थीहरूले ती राजबन्दीहरूको पत्रपत्रिका अध्ययनकोलागि किरण पुस्तकालय जाँदै गरेको दृष्य खुब चाख मानेर हेर्थे । प्रकाश नेपाल संझनुहुन्छ, उद्दवदेव ठकुरी हामीसँगै पढ्थे । उनैका बाबु हुन् गगन चन्द ठकुरी, जसले ३० सालको सो किसाल आन्दोलनलाई बल प्रयोग गर्न सिठी बजाएका थिए ।

केशरमणि रहनु भएन । उहाँको सेतो कुर्ता पाइजामा सजिएर किरण पुस्तकालय जाँदाको अनुपम व्यक्तित्व तम्घासबासीको दिलोदिमागमा आजसम्म पनि टाँसिएर बसेको छ । पत्रकार मुकेशका अनुसार केशरमणिको निधन २०७९ मंसिर २३ गते शनिबारका दिन भएको हो ।