बर्दियामा एमाले प्रवेशको लहर

मेचीकाली संवाददाता

२० श्रावण २०८०, शनिबार
336 shares

यज्ञप्रसाद सापकोटा

बर्दिया । बर्दियामा विभिन्न पार्टी परित्याग गरी ३४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले गुलरिया नगरकमिटीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं विस्तारीत बैठकमा राजेन्द्र गोडियाको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी उनीहरु पार्टी प्रवेश गरेका हुन् । अन्य पार्टी भन्दा नेकपा एमाले पार्टी राम्रो र जनताको पक्षमा काम गर्ने हुनाले प्रवेश गरेको राजेन्द्र गोडियाले बताउनु भयो । आगामी दिनमा पार्टी र जनताको हितमा काम गर्ने उहाँले बताउनु भयो ।

मिसन २०८४ अन्तर्गत बर्दियाको सबै पालिकामा पार्टी प्रशिक्षण एवं विस्तारीत बैठकको आयोजना भईरहेको छ । सोही क्रममा गुलरिया नगरपालिकामा पार्टी प्रशिक्षण एवं विस्तारीत बैठकको आयोजना गरीएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री, पार्टी पोलिव्युरो सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज लिला गिरीले गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गिरीले विगतको तिक्ततालाइ विर्सेर आगामी दिनमा पार्टीलाई थप संगठित र सुदृढ बनाउन तर्फ लाग्न निर्देशन दिनु भएको छ । बर्दियामा विगतको निर्वाचनमा भएका कमिकमजोरीबाट पाठ सिकेर अगाडी बढ्नका लागि सबै जना लाग्नु पर्ने उहाँको भनाई छ । गएको निर्वाचनमा जितेकाहरु नमातिन, नजितेका र टिकट नपाएकाहरु नआतिन भन्दै सबैले आ आफ्नो तर्फबाट पार्टीको काम गरेमा आगामी चुनावमा सफलता हात पर्ने बताउनु भयो ।

प्रमुख अतिथी गिरीले भन्नुभयो ‘नेकपा एमालेले जुन दृष्टिकोणका साथ काम गरेका छौँ त्यो अरुपार्टीले गरेका छैनन् । हामीले त्यो जनता समक्ष पुर्याउन सकेनौँ, जनता समक्ष जान सकेनौँ । केही कमिकमजोरी भयो त्यसैले हामी कमजोर भयौँ, अब सुधारेर जानुपर्दछ ।’ उहाँले भन्नुभयो ‘डेढ सय भोटले हारेर निरास भएर बस्ने कसैलाई अधिकार छैन, फेरी अर्काे चुनाव पनि आउँछ अर्को चुनाव जितिन्छि । तर सबैजना जिम्मेवारी पुर्वक अगाडी बढ्नुपर्यो ।’

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं लुम्बीनी प्रदेश स्कुल विभाग प्रमुख लक्ष्मण राज ज्ञावलीले पार्टीलाई अनुशासित, मर्यादित र संगठित बनाउँदै जनताको समस्या समाधान गर्न तर्फ लाग्नु पर्ने बताउनु भयो । उहाँले विगत्का निर्वाचनबाट सबैले पाठ सिक्नुपर्ने बताउँदै सबैले विगतका कमिकमजोरीबाट पाठ सिकेर आगामी अभियानको तयारीमा जुट्नुपर्ने बताउनु भयो ।

नेकपा एमाले लुम्बिनी प्रदेश सहसचिव लिला रानाले अरु पार्टी भन्दा छुट्टै भिजन राखेर पार्टी अगाडी बढेको बताउनु भयो । समृद्ध नेपाल सुखी नेपालीको लागि नेकपा एमालेले छुट्टै परिकल्पना लिएर अगाडी बढेको बताउँदै प्रदेश सहसचिव रानाले आम जनता समक्ष पार्टीको परिकल्पना र गरेका कार्यहरुलाई पुर्याउनु पर्ने बताउनु भयो । नेकपा एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले विगतको स्थानीय चुनावमा हाम्रो सानो कमजोरीले नगरपालिकामा पराजय भोग्नु परेको बताउनु भयो । सामान्य व्यवस्थापकिय कमजोरीले चुनावी परिणाम नेकपा एमालेको हातबाट गुमेको बताउनु भयो । अबका दिनमा त्यसलाई सुधारेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

नेकपा एमाले गुलरिया नगरपालिका अध्यक्ष अमर खड्काले गुलरिया नगरपालिकाको हालको पार्टीको अवस्थाको बारेमा जानकारी गराउनु भएको छ । विगतमा भएका कमीकमजोरीहरु सच्याएर पार्टीलाई अगाडी बढाउन सबै लाग्नु पर्ने अध्यक्ष खड्काले बताउनु भयो । कार्यक्रममा गुलरिया नगरपालिकाका १२ वटै वडाका वडाध्यक्षहरुले पार्टीको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।