रमेश कुर्मी
कपिलवस्तु, माघ १९ । विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले आफू समृद्ध गाउँपालिका निर्माणमा लागेको बताउनुभएको छ । विकास निर्माणमा तीव्र गतिले काम गर्नुभएको अध्यक्ष थापाले विकासको अभियानमा साथ दिन सबै पक्षलाई आग्रह गर्नुभएको छ । विजयनगर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको संयोजनमा भएको कार्यक्रममा सर्वसाधारण जनताले सोधेको प्रश्नको जवाफ दिँदै गाउँपालिकाको काम कारवाहिलाई पारदर्शी रुपमा जनता समक्ष राख्न सार्वजनिक सुनुवाई गरिरहने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख लक्ष्मी चौधरीले गाउँपालिकामा रहेको न्यायिक समितिमा यस आर्थिक वर्षको पुष मसान्तसम्म ८४ वटा उजुरी परेको जानकारी गराउँदै हालसम्म २८ वटा मेलमिलाप भएको बताउनुभयो । साथै ५ वटा मुद्धा कारवाहीबाट टुंग्याइएको उहाँले बताउनुभयो । न्यायिक समितिमा उजुरी परेपछि पनि छलफलका लागि दुवै पक्ष नआउँदा मेलमिलापमा लामो समय लाग्ने गरेको उहाँले सुनाउनुभयो । कार्यक्रममा स्थानीयले भौतिक पूर्वाधार, विकास निर्माण, स्वास्थ्य, सिंचाइ, पशु सेवा, कृषि सेवालगायतका बारेमा आफ्नो जिज्ञासा राखेका थिए । गाउँपालिकाको आन्तरिक आयतर्फ पुष मसान्त सम्म विभिन्न शिर्षकमा गरी कुल ३८ लाख राजश्व संकलन भई सकेको प्रमुुख प्रशासकीय अधिकृत चौधरीले जनाउनुभयो ।
आवको आन्तरिक राजश्व संकलन लक्ष्य २ करोड ३० लाख रहेको बताउँदै स्थानीय नदीजन्य पदार्थको निकासी खुलेपछि लक्ष्यमा पुग्न सकिनेसमेत चौधरीले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष विषयगत शाखाका प्रमुखहरुले जवादेहिताको आसनबाट जवाफ दिएका थिए । पत्रकार महासंघ कपिलवस्तु शाखा कोषाध्यक्ष दिपक खड्कको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार रामप्रघट कोरीले गर्नुभएको थियो ।
‘समृद्ध गाउँपालिका निर्माणमा कटिबद्ध छु’
