बुटवल, माघ १९ । गएको पुस १९ गतेदेखि रुपन्देही बुटवल–१०, कालिकानगरमा अवस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजले प्राविधिक शिक्षा र यसको महत्व विषयक प्रदेश नं. पाच स्तरीय वक्तृत्वकला प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न गरेको छ ।
पाँच नं. प्रदेशका विभिन्न ठाउँमा केन्द्र राखी सम्पन्न भएका प्रतिस्पर्धाहरुबाट अन्तिम चरणमा पर्न गएका तेह्र प्रतिस्पर्धीबीच भएको प्रतिस्पर्धामा सेन्ट जोसेफ इ.स्कुल भलवारीका पूर्णिमा जोशीले प्रदेश प्रथम स्थान हात पार्न सफल भएकी छन् । त्यसैगरी द्वितीय, तृतीय र सान्त्वनामा क्रमशः सिद्धार्थ आवसीय मावि, तिलोत्तमाका महेश बन्जाडे, महाकवि देवकोटा मा.वि., सुनवल परासीका रेखा गैरै र महेन्द्र मावि गुल्मीकी मनिषा पौडेल भएका थिए ।
बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता, कलेजका सञ्चालक सदस्य होमराज बस्यालको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा विशेष अतिथि पूर्व जिशिअ टेकबहादुर थापा, अतिथिहरुमा फोरम फर हेल्थ एण्ड टेक्नीकल साइन्स प्रदेश नं ५ का अध्यक्ष प्रकाश राना, हिसान केन्द्रिय कमिटिका निर्देशक रामचन्द्र आचार्य, जनजागृति मा.वि.योगिकुटीका प्र.अ.टंकप्रसाद पौडेललगायत रहनुभएको थियो ।
प्रमुख आतिथि शिवराज सुवेदीले कलेजले आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमको लागि हार्दिक धन्यवाद दिँदै प्राविधिक शिक्षा लिएकाहरुले आफ्नो सिपलाई व्यवहारमा उतार्नुपर्ने कुरा बताउनुभयो । कार्यक्रममा सभापति होमराज बस्यालले दुई महिनादेखि अनवरत संघर्षले आज निष्कर्ष पाउने र त्यसबाट प्रदेश पाँचको एक वक्ता जन्मने कुरा व्यक्त गर्नुभयो । साथै संस्थाले यस्ता कार्यक्रमहरु गर्दै जाने कुरासमेत उहाँले व्यक्त गर्नुभयो । स्वागत मन्तव्य कलेजकी प्रिन्सिपल सुमित्रा कोइराला तथा कार्यक्रमको औचित्यताका बारे कलेजका कार्यकारी प्रमुख दिपक रोकाले गर्नुभएको थियो । कार्यक्रमको मूल ध्येय प्राविधिक शिक्षाको विषयमा प्रदेशभर नै छलफलको वातवरण बनोस् भन्ने रहेको साथै सामाजिक उत्तरदायित्व वोध गरी कलेजले कार्यक्रमको आयोजना गरेको कुरा रोकाले बताउनुभयो ।
शुभकामना मन्तव्यका क्रममा विशेष अतिथि टेकबहादुर थापाले सञ्जीवनी कलेजले एउटा सही एजेण्डामा वक्तृत्वकला गराई प्राविधिक शिक्षाको महत्व उजागर गराएको बताउनुभयो । अतिथि प्रकाश रानाले सञ्जीवनी कलेजले शुरु गरेको यस प्रकारको पुनीत कार्यको सबै कलेजहरुले अनुसरण गर्न सके उत्तम हुने बताउनुभयो । हिसान केन्द्रिय कमिटीका सल्लाहकार आरसी आचार्यले वक्तृत्वकलाले प्राविधिक शिक्षाका विभिन्न आयामहरुबारे चिरफार गर्ने र जसले प्रदेश र संघीय सरकारलाई प्राविधिक शिक्षाका क्षेत्रमा केही एजेण्डा तय गर्नसक्ने बताउनुभयो । निर्णायक मण्डलका संयोजक प्रा.डा. कपिल लामिछाने, सदस्यद्वयमा प्रा. दिल शाहनी र प्रा. ऋषीराम भुसालले फाइनलमा रहेका प्रतिस्र्धीहरुको मूल्याङ्कन गर्नुभएको थियो ।
प्रतिस्पर्धाका विजयीहरुमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः बीसहजार, पन्ध्र हजार, दश हजार र पच्चिस सय नगद, प्रमाणपत्र प्राप्त गरे । साथै दुई महिना लामो प्रतिस्पर्धामा अनवरत सल्लाहकारका रुपमा रहेका पूर्व जिशिअ टेकबहादुर थापालाई विशेष सम्मान गरियो । उक्त कार्यक्रमको सञ्चालन लेक्चरर सुस्मिता श्रेष्ठले गर्नुभयो ।
सेन्ट जोसेफकी पूर्णिमालाई उपाधि
