हरि शर्मा
परासी, माघ २१ । सेवाग्रहीहरुलाई प्रदान गरिने सेवा सुविधामा ढिलाई हुने गरेको जन गुनासो बढेपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले आइतबार मालपोत कार्यालय परासीको निरीक्षण गर्नुभएको छ ।
सामान्य कामका लागि पनि हप्तौ दिन कुर्नुपर्ने र पैसा बिना काम नहुने जनगुनासो बढेपछि प्रजिअ लामिछानेले त्यसबारे कार्यालय प्रमुख ईश्वरचन्द्र अर्यालसँग सोधपुछ गर्नुभएको थियो । निरीक्षणका क्रममा प्रजिअ लामिछानेले कुनै पनि बहानामा सेवाग्रहीको काममा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई निर्देशनसमेत दिनुभएको छ । अनलाइन सेवा सुरु भएपछि कार्यालयले काममा ढिला सुस्ती गर्ने गुनासो बढेको हो । प्रयाप्त जनशक्ति र नेट अवरोधका कारण सेवाग्रहीलाई तत्काल सेवा दिन नसकेको कार्यालय प्रमुख अर्यालले प्रजिअसमक्ष बताउनुभएको थियो । सेवाग्रहीहरुले अनलाइनको कारण देखाउँदै सामान्य कामका लागि पनि एक हप्तापछि बोलाउने गरेको गुनासो गरेका थिए । जग्गापासका लागि पुगेका सुस्ता गाउँपालिका–४ का महेन्द्र राजभरले हप्ता दिनदेखि काम नभएको गुनासो प्रजिअसमक्ष राख्नुभएको थियो ।
त्यसैगरी सुनवल नगरपालिकाको रामनगरबाट जग्गापासका लागि पुगेका गुनाखर बस्यालले आठ दिनअघि कागजपत्र बुझाएपनि काम नभएको गुनासो गर्नुभएको थियो । काम गर्न समय लाग्ने भन्दै फकाईएका सेवाग्रहीहरुले रकम दिए मात्र आजै काम हुने भन्दै प्रजिअ लामिछानेको ध्यानआकर्षण गराउनुभएको थियो । लेखापढी व्यवसायीलाई अतिरिक्त पैसा दिएर छिटो काम गराउने गरेको पनि सेवाग्रहीले गुनासो गरे ।
त्यसक्रममा प्रजिअ लामिछानेले लेखापढी व्यवसायीसँग पारिश्रमिकबापत र अन्य रकमको भपाई माग्नसमेत सेवाग्रहीलाई आग्रह गर्नुभएको थियो । लेखापढी व्यवसायीले लेखापढी गरेबापतको दस्तुर तोकेका छन् । तर कस्ले उक्त दर रेट कायम गरिएको र कति पारिश्रमीक लिन्छन् भन्नेमा प्रशासन अनविज्ञ रहेको उहाँले बताउनुभयो । पारिश्रमीकबारे आन्तरिक राजश्व कार्यालयलेसमेत ध्यान दिन आवश्यक रहेको प्रजिअ लामिछानेको भनाइ थियो ।
कार्यालयमा टोकन प्रणाली लागू नगरेका कारण पनि सेवाग्रहीहरुले पालोअनुसारको सेवा लिनबाट वञ्चित छन् । सेवाग्रहीहरुको गुनासोपछि प्रजिअ लामिछानेले टोकन प्रणाली लागू गर्न, हरेक दिन कम्प्युटर र रजिष्ट्ररमा इन्ट्री गरिने समय उपलव्ध गराउन, कम्प्युटर र रजिष्टरमा उल्लेख गरिएको राजश्व विवरण उपलव्ध गराउन कार्यालयलाई निर्देशन दिनुभएको छ ।
कार्यालयमा दैनिक ३ सय बढी सेवाग्रहीहरु आउने गरेका छन् । तर एक सयभन्दा बढी सेवाग्रहीको काम हुन नसकेको कार्यालयले जनाएको छ । अनलाइनमा काम गर्ने कर्मचारीहरु दक्ष नभएको र नेट अवरोधका कारण धेरै सेवाग्रहीको काम गर्नमा समस्या भएको कार्यालय प्रमुख अर्यालले बताउनुभयो । अहिले तीन जना कम्प्युटर अप्रेटरबाट काम हुँदै आएको छ ।
अर्यालका अनुसार सेवाग्रहीको चापअनुसार अझै दुई जना कम्प्युटर अप्रेटर आवश्यक छ । त्यसैगरी अन्य कर्मचारी अभावका कारण पनि सेवा दिन समस्या भएको अर्यालले बताउनुभयो । कार्यालयमा उपसचिवको दरबन्दी छ तर कार्यालयमा उपसचिव पठाइएको छैन । १० जना खरिदारको दरबन्दी रहेकोमा ७ जना छन् । ४ जना नासुको दरबन्दीमा ४ जना छन् । ३ जना मालपोत अधिकृतको दरबन्दीमा ३ जना मात्र रहेकाले पनि सेवा दिन समस्या भएको कार्यालयले जनाएको छ ।
जनगुनासोपछि मालपोतमा सिडिओको निरीक्षण
on: