कोरियाको भाषा र शैली दुवै सिकाउने कमल

मेचीकाली संवाददाता

२३ श्रावण २०८०, मंगलवार
841 shares

रमेश पराजुली

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–७ देउपारका कमल गिरी सन् २०१५ मा वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गए । पारिवारिक विपन्नता र स्वेदशमा रोजगारीको अवसर नदेखेर रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया पुगेका उनले पाँच वर्ष कोरियामै बिताए ।

दक्षिण कोरिया नेपाली युवाका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिन्छ । कमलले त्यहाँ उत्पादनमूलक क्षेत्रमा काम गर्ने अवसर पाए । सुरुमा ग्रीलसम्बन्धी काम गरेका उनले दुई वर्षपछि भने ठूलो प्रिन्टिङ प्रेसमा काम गरे । त्यहाँ बस्दा कमलले सिपसँगै अन्य धेरै कुराहरु सिक्ने अवसर पनि पाए । त्यतिमात्र होइन उनले त्यहाँ रहँदा कोरियाको भाषाका बारेमा थप अध्ययन पनि गरे । कमलले काम गर्ने कम्पनीमा सातामा दुई दिन बिदा हुन्थ्यो शनिबार र आइतबार । कोरिया पुगेर काम सुरु गरेको केही समयमै उनले आफूजस्तै इपीएसमार्फत रोजगारीका लागि आएका कामदारहरुका लागि विदेशी प्रवासी केन्द्रले निःशुल्क कोरियन भाषा कक्षा सञ्चालन गर्छ भन्ने जानकारी पाए ।

सानै उमेरदेखि केही न केही कुरा सिक्न खोज्ने, जिज्ञासु र शान्त स्वभावको देखिने कमललाई औपचारिक शिक्षाका कुनैपनि कक्षामा कहिल्यै पछि पर्नुपरेन । उनी स्कुल तहका कक्षामा सधैं उत्कृष्ट हुन्थे । नयाँ नयाँ कुराहरु सिक्ने स्वभाव भएकै कारण उनी कोरियामै गएर पनि थप अध्ययन गर्ने कामतिर आकर्षित भए । उनलाई बिदाको दिनको सदुपयोग गर्दै पढ्ने र केही सिक्ने जाँगर चल्यो । त्यसपछि उनले आवश्यक प्रक्रिया पूरा गरेर ‘कोरियन भाषा प्रोगाम’ अध्ययन सुरु गरे ।

कम्पनीले तोकेको कामसँगै अध्ययन गर्न उनलाई समस्या त भयो तर पनि उनले अध्ययनलाई निरन्तरता दिए । कमलले भाषा कमजोर हुँदा धेरै ठाउँमा ठक्कर खाएका नेपालीका पीडा र व्यथामा जानकार थिए र कतिपय ठाउँमा त आफँैलाई पनि समस्या परेको थियो । सामान्य भाषा मात्रै जान्ने भन्दा पनि त्यहाँको शैलीमा उच्चारण गर्न नसक्दा धेरैलाई आपत् आइलागेको उनलाई थाहा थियो । त्यहीँ भएर जसरी हुन्छ कोरियन भाषामा अब्बल हुनुपर्छ र पछि पर्ने कुरै हुँदैन भन्ने उनमा हुटहुटी चल्यो । कक्षा लिए, सफल भए पनि । आफ्नो इच्छा पूरा गर्न कमलले धेरै मिहेनत गरे र अन्त्यमा उत्कृष्ट हुन सफल भए । उनी कोरियामै पढेर अब्बल बन्न सके ।

‘बिदाको दिनमा साथीहरु विभिन्न ठाउँमा घुम्न जाने रमाइलो गर्थे तर मलाई आफ्नो लक्ष्य पूरा गर्नु थियो त्यसैले म पढाइमै व्यस्त हुन्थेँ ।’, विगतका दिन सम्झदै कमलले भने । पाँच वर्ष कोरिया बसाइको क्रममा उनी आर्थिक रुपमा बलियो भए, त्योसँगै उनले आफ्नो सिप र क्षमता पनि बढाए । कोरियामै छँदा उनले नेपाल फर्किएपछि आफ्नै ठाउँमा केही फरक काम गर्नुपर्छ भन्ने सोचेका थिए ।

कोरियामा पाँच वर्षको अवधि पूरा गरेर नेपाल फर्किने तयारी गर्दा विश्वभर नै कोरोनाको महामारी थियो । दैनिक हजारौँ मानिसको मृत्यु भएका खबरहरु आइरहन्थे । कम्पनीभित्र आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर काम गरेपनि त्यो समयमा घर परिवारको धेरै याद आउने उनले बताए । नेपालमा पनि त्यतिबेला कोरोनाको त्रास बढ्दो क्रममा थियो । अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण उनले एक महिना होल्ड गर्नुप¥यो । एक महिनापछि मात्र चार्टर जहाजमार्फत उनी नेपाल फर्किए ।

तीन दाजुभाइमध्येका जेठा छोरा हुन् कमल । घर परिवारको जिम्मेवारी सम्हाल्दै उनले आफ्नो करियर बनाइरहेका छन् । कमलले अहिले रुपन्देहीको सैनामैना नगरपालिका–८ बाँसगढी चोकमा ‘फुछनीम कोरियन भाषा इन्स्टिच्यूट’ सञ्चालन गरिरहेका छन् । इन्स्टिच्यूटमा आफैँले कोरियन भाषा पढाउँछन् । फुछनीम भनेको नेपाली अर्थ बुद्ध हो । उनले कोरियामा रहँदापनि बुद्ध र नेपाली राष्ट्रियता झल्कने चिनारीको प्रयोग गर्ने गर्थे । यहाँ आएर पनि उनले कोरियन भाषमा बुद्धलाई जोडेर नाम राखे– फुछनीम ।

उनले विद्यार्थीलाई बुझ्न सजिलो हुनेगरी प्रयोगात्मक विधिबाट कक्षा सञ्चालन गरिरहेका छन् । कमाउने मात्रै होइन आफुकहाँ आउने विद्यार्थीलाई अब्बल कसरी बनाउन सकिन्छ र कोरिया पुगेपछि कसरी आइपर्ने समस्याको समाधान गर्न सकिन्छ भन्ने पनि सिकाउँछन् । कोरियामा लामो समय आफूले सिकेको ज्ञान र सिप विद्यार्थीहरुलाई सिकाउन पाउँदा खुशी लागेके कमलको प्रतिक्रिया छ । इन्स्टिच्यूटमा पढ्ने विद्यार्थीहरु पनि उनको पढाउने शैलीबाट सन्तुष्ट छन् । सतप्रतिशत नजिता दिने योजना उनको छ ।

कोरियन भाषा तरिका लगाएर पढ्ने र सिक्न खोज्नेका लागि यो छिचोल्नै नसकिने पहाड नभएको उनी बताउँछन् । ‘भाषा सिक्नका लागि कक्षा लिनु त अनिवार्य जस्तै छ । फेरि क्लासकै भरमा मात्रै भाषा परीक्षा पास भइन्छ भन्ने सोचियो भने त्यो मूर्खता हुन्छ । आफ्नो लगनशीलता नै त्यसपछिको मुख्य हतियार हो ।’, कमलले भने ।

धेरै विद्यार्थीले कोरियन भाषा परीक्षामा सबैभन्दा अप्ठेरो सुनेर चिन्ह लगाउनुपर्ने परीक्षालाई मान्छन् । यसैमा धेरै विद्यार्थी फेल हुन्छन् । कोरियन भाषाको सही उच्चारण नबुझ्दा विद्यार्थीलाई गाह्रो हुने गरेको उनको बुझाइ छ । ‘विशेष गरी उच्चारण ख्याल गर्न नसक्दा धेरै विद्यार्थीहरु यसमा चुक्छन् । तर, विभिन्न माध्यमबाट कोरियन भाषा बोलेको सुनियो र हेरियो भने विस्तारै त्यसमा अभ्यस्त भइन्छ ।’ उनले भने ।

सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच श्रमका लागि नेपाली कामदार लाने विषयमा सहमति भएको थियो । कामदारहरू जाने क्रम भने सन् २००८ बाट सुरु भएको हो । पछिल्लो १४ वर्षमा झण्डै ९० हजार नपाली कामदार कोरिया पुगेको र हाल त्यहाँ झन्डै ४५ हजार नेपाली श्रमिकहरू कार्यरत रहेको बताइएको छ । बेरोजगारी बढिरहेको र अन्यत्रको वैदेशिक रोजगारी पनि त्यत्ति सुरक्षित नरहेको अवस्थामा वैधानिक तरिकाले कोरिया जाने चाहना आम युवामा हुनु स्वभाविक रहेको कमलको भनाइ छ ।