रूपन्देहीमा स्तरीय होटेलहरू खुल्ने क्रम तीव्र छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु हुने समय नजिकिँदै जाँदा होटेल खुल्ने क्रम तीव्र्र बनेको हो । जिल्लामा १ वर्षमा १ सयजति ठूला होटेलहरू खुलेका छन् । ‘स्टार लेभल’को सुविधा दिने गरी खुलेका होटेलहरू बाह्य पर्यटक लक्षित छन् । यस्ता होटेलहरुमा तालिमप्राप्त जनशक्तिको माग अत्याधिक छ । रूपन्देहीमा रहेका सानाठूला गरी करिब २ हजारभन्दा बढी होटेल तथा रेस्टुरेण्टहरुमा मागअनुसारको जनशक्ति आपूर्ति हुन सकेको छैन । यस्तै बढ्दो होटेल व्यवसायसँगै जनशक्तिको मागलाई सम्बोधन गर्ने उद्देश्यले विगत ३ वर्षदेखि बुटवल मैत्रीपथमा विज्डम लुम्बिनी कलेज सञ्चालनमा छ । हस्पिटालिटी क्षेत्रमा हालसम्म कलेजबाट उत्पादन भएका ३ सय जना भन्दा धेरै जनशक्ति देश विदेशका तारे होटेलहरुमा रोजगारी पाइरहेका छन्् । अन्य केहीको लागि भने स्वरोजगारीको मार्गदर्शक बनेको छ कलेज । प्रस्तुत छ–कलेज प्रमुख चिरन अर्यालसँग मेचीकाली दैनिकका संवाददाता जीवराज चालिसेले गरेको कुराकानीको सम्पादति अंश :
के हो हस्पिटालीटी भनेको ?
हस्पिटालिटी भनेको सेवा उद्योग हो । यसअन्तर्गत होटेल, रेष्टुरेण्ट, क्लब, , इभेन्ट म्यानेजमेण्ट (कार्यक्रम प्रवन्ध), पर्यटन व्यवसायलगायतका उद्योगहरुमार्फत सेवा प्रदान गरिन्छ । ती सेवाहरुको व्यवस्थापनलाई नै हस्पिटालीटी म्यानेजमेण्ट भनिएको हो ।
किन पढ्ने हस्पिटालीटी म्यानेजमेण्ट ?
यो प्रश्न महत्वपूर्ण छ । खासमा भन्ने हो भने हस्पिटालीटी म्यानेजमेण्ट भनेको सेवाको अध्ययन हो । सेवा उद्योगमा तपाईंले ग्राहकलाई प्रदान गर्ने सर्विसले तपाईंको गुणस्तरको मापन गर्छ । गेष्टहरु जति धेरै सन्तुष्ट हुन्छन्, त्यति नै तपाईंको राम्रो विजनेस हुन्छ । आजको होटेल तथा टुरीजम क्षेत्रमा दक्षरुपमा सेवा प्रदान गर्न सक्ने जनशक्तिको अभाव रहेको छ । त्यो अभावलाई परिपूर्ति गर्नकै लागि हस्पिटालीटी म्यानेजमेण्टको अध्ययन जरुरी छ ।
तपाईं आफँै पनि हस्पिटालीटी पढाउने कलेजको सञ्चालक हुनुहुन्छ । यसरी कलेज नै स्थापना गर्नु पर्छ भनेर आवश्यकता बोध कसरी भयो ?
यो प्रदेशलगायत नेपालभर नै होटेल तथा पर्यटन क्षेत्र दु्रतरुपमा फैलँदै छ । यी क्षेत्रमा बढ्दो लगानीसँगै जनशक्तिको माग पनि अत्याधिक छ । त्यतिमात्र होइन, काम गर्न होस् वा विद्यार्थी भिसामा होस् बाहिर जाने व्यक्तिहरुले जानुभन्दा अगाडि नै होटेलसम्बन्धी तालिम लिन चाहन्छन् । यसरी सेवा क्षेत्रमा जनशक्तिको परिपूर्ति होस् र बाहिर जानेहरुले केही सीप सिकाउन सकियोस् भन्ने हेतुले नै यस विज्डम लुम्बिनी कलेजको सथापना गरिएको हो ।
हस्पिटालीटी कसले पढ्न पाउँछ ?
यो विषय जोसुकैले पनि पढ्न पाउँछ । यो व्यवसायिक विषय भएकाले होटेल तथा पर्यटनका क्षेत्रमा काम गर्न चाहने जो सुकैले पनि पढ्न पाउँछ । हस्पिटालीटीको हकमा हाल शैक्षिक संस्थाहरुलाई नै हेर्ने हो भने जिल्लामा मात्रै ५० औं को संख्यामा यो विषयमा अध्यापन भैरहेको छ । एसएलसी अथवा एसईई पास भएकाको हकमा डिप्लोमा र प्लस टू पास भएकाको हकमा स्नातक तहमा यो विषयको अध्यापन भइरहेको छ । हाम्रो कलेजमा पनि १८ महिने डिप्लोमाका कोर्षहरु सञ्चालन भइरहेका छन् । छिट्टै नै हस्पिटालीटी र प्राविधि विषयमा स्नातक तहका कार्यक्रमहरु ल्याउने सोंचमा छौं ।
अनि, यो विषयमा विद्यार्थीहरुको आकर्षण कस्तो पाउनु भएको छ ?
मैले अगाडि नै भनिसकें यो विषय आजको समयको माग हो । बेरोजगारको जमात बढिरहेको समयमा हस्पिटालीटीको तालीमले स्वरोजगार र स्वावलम्बी वनाउन निकै मद्धत गरेको छ । हाम्रौ कलेजबाट तालिम लिएकाहरुले हालसम्म तीन सय जनाले विदेश तथा स्वदेशमा रोजगारी पाएका छन् । सेवा क्षेत्रलाई पेशागत रुपमा अंगाल्न चाहने विद्यार्थीको लागि हस्पिटालीटी पहिलो गन्तव्य बनेको छ ।
यो विषयमा तालिम प्रदान गर्ने तपाईंको कलेज एक मात्र त पक्कै होइन । कसरी आफ्नो कलेजलाई फरक ठान्नुहुन्छ ?
होइन, हाम्रो कलेज एक्लो होइन । मैले अघि नै पनि भनेँ रुपन्देही जिल्लामा मात्रै यस हस्पिटालीटी म्यानेजमेण्टका कलेजहरु निकै धेरै भइसकेका छन् । प्रतिस्पर्धा तिव्र छ तर हामी हाम्रो गुणस्तरमा विश्वस्त छौं । हस्पिटालीटीमा दक्षता हासिल गर्न विद्यार्थीहरुलाई राम्रो प्रयोगात्मक ज्ञानको आवश्यक पर्छ । कलेजमा ६ महिनाको अध्ययनपछि हामीले विद्यार्थीहरुलाई स्वदेशमा मात्र नभई विदेशमा समेत इन्टर्नसिपका लागि पठाउने गरेका छौं । यसबाट विद्यार्थीहरुले राम्रो एक्स्पोजर पाउने गरेका छन् । तिलोत्तमाको पाँच तारे टाइगर प्यालेस रिसोर्टदेखि लिएर चीन, दुवई, मलेसियालगायतका देशहरुमा रहेका तारे होटेलहरुमा हाम्रा विद्यार्थीहरु अहिले दक्ष बनिरहेका छन् । त्यतिमात्र होइन हाम्रो कलेज युरो स्कील्स् मलेसियाबाट सम्बन्धन प्राप्त संस्था भएकाले हाम्रो आधिकारिकता पनि अन्यको भन्दा बलियो छ भनने लाग्छ । यो कोणबाट पनि हामी अन्य भन्दा निकै फरक छौं भन्ने लाग्छ ।
गुणस्तरसँगै शुल्क पनि जोडिएर आउँछ । यो विषय पढ्न खर्चिलो होला नि त्यसो भए ?
हो, गुणस्तरीयतासँग शुल्क पनि जोडिएर आउँछ । तर, हाम्रो गुणस्तरअनुसार शुल्क अनुचित छैन । यो मैले भन्नुभन्दा पनि विद्यार्थीहरुले राम्रोसँग भन्न सक्छन् । शुल्क धेरै भएको भए हाम्रो कलेजमा विद्यार्थीहरु त्यति धेरै आकर्षित हुँदैनथे होला । त्यसो त हामीले विपन्न तथा गरिब विद्यार्थीहरुलाई आफ्नै लगानीमा तालिम दिएका पनि छौं । विद्यार्थीको विपन्नता हेरेर त्यस्तो सुविधासमेत प्रदान गरेका छौं ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
व्यवसायिकताका लागि दक्षता निकै महत्वपूर्ण कुरा हो । हस्पिटालीटीको क्षेत्रमा त झन् यो निकै महत्वपूर्ण छ । त्यसैले मैले होटेल तथा पर्यटनमा व्यवासायिक ढंगले लाग्न चाहेका व्यक्तिहरुलाई आफ्नो दक्षतालाई निखार्न सक्ने कलेज तथा शिक्षण संस्थाहरुमा मात्र तालिम लिन सुझाउँछु । जसले तपाईंको करियरको ग्यारेण्टी लिन सक्छ, त्यहाँबाट मात्रै तपाईंले ज्ञान आर्जन गर्नुहोस् भन्न चाहन्छु । हाम्रो कलेजको उद्धेश्य पनि त्यही हो । हामीले सिप मात्र दिँदैनौँ, त्यसलाई प्रयोग गरेर व्यवसायिक बन्ने बाटो पनि देखाउँछौँ ।