निर्माण व्यवसायीहरु आन्दोलितः सम्पन्न भएका योजनाको भुक्तानी नपाएको गुनासो

मेचीकाली संवाददाता

२४ श्रावण २०८०, बुधबार
257 shares

बुटवल । निर्माण ब्यवसायीहरुको दोस्रो चरणको आन्दोलन सुरु भएको छ । व्यवसायीहरुले निर्माण व्यवसायी महासंघको अगुवाईमा काठमाडौमा प्रदर्शन गरेका छन् । निर्माण व्यवसायीहरूले सोमबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका थिए ।
निर्माण कार्य सम्पन्न गरे पनि सरकारले भुक्तानी नदिँदा व्यवसायीहरू आन्दोलनमा छन् । दोस्रो चरणको आन्दोलन यहीँ साउन २६ गते शुक्रबारसम्म जारी रहने बताइएको छ । त्यसपछि तेस्रो चरणका आन्दोलन गरिने उनीहरुले बताएका छन् । तेस्रो चरणको आन्दोलन भने अली कठोर हुने व्यवसायीहरुले बताएका छन् ।

महासंघले सरकारसँग विभिन्न निकायमा काम गरे वापतको रकम तुरुन्त भुक्तानी हुनुपर्ने, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, अव्यवहारीक माइलस्टोन खारेज गर्नुपर्ने, बीमा निर्देशिका–२०७८ खारेज गर्नुपर्नेलगायतका माग राख्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।

यस्तै उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर्नुपर्ने, सार्बजनिक खरिद ऐन तथा नियमावलीका कतिपय प्रावधानलाई संशोधन गर्नुुपर्ने, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागु गर्नुपर्नेलगायत निर्माण व्यवसायीका माग छन् । यिनै माग राख्दै प्रदर्शन गरिएको बुटवलका निर्माण व्यवसायी तथा अगुवा जविन कक्षपतिले बताए ।

उनीहरुले माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने बताएका छन् । सेफ्टी हेलमेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर विगत केही दिनदेखि दैनिक महासंघको कार्यालयदेखि संसद् भवनसम्म सिठ्ठी जुलुस गरी संसद् भवन अगाडि कोणसभा गर्ने तथा त्यहाँबाट माइतीघर मण्डला, बबरमहल हुँदै हनुमानस्थानसम्म सिठ्ठी जुलुससहित धर्ना दिएको निर्माण व्यवसायी कक्षपतिले जानकारी दिए ।

तेस्रो चरणको आन्दोलन कठोर हुने
महासंघले तेस्रो चरणको आन्दोलन भने कठोर हुने बताएको छ । यहीँ साउन २८ गतेदेखि तेस्रो चरणको आन्दोलन हुने महासंघले जनाएको छ । अत्यावश्यकबाहेकका सबै निर्माण कार्य अनिश्चितकालसम्म बन्द गर्ने गरी तेस्रो चरणको आन्दोलन गर्ने महासंघले विज्ञप्ति मार्फत जानकारी गराएको छ । त्यसैगरी, विकासे विभागहरूमा बिहान १० देखि ११ बजेसम्म धर्ना र तालाबन्दी गर्ने, थानकोट र साँगामा दैनिक एक घण्टा सडक चक्काजाम गरी नाकाबन्द गर्ने महासंघको चेतावनी छ ।
व्यवसायीले दुई दिन अघि प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद भवन अगाडि धर्ना दिएका थिए । निर्माण व्यवसायीहरूका जायज मागप्रति राज्य अनुदार भएका कारण महासंघ आन्दोलनमा उत्रिएको लुम्बिनीका निर्माण व्यवसायी नारायण भुसालको भनाइ छ । उनले चरणबद्ध आन्दोलनमा उत्रिएको बताए ।

काम सम्पन्न भएको अर्बौं रकम नपाएको गुनासो
निर्माण व्यवसायीहरुले सम्झौता अनुरुप प्रक्रिया पूरा गरेर काम सम्पन्न गरेका कैयौं आयोजनाको रकम निकासा नपाएको गुनासो गरेका छन् । काम सम्पन्न भएका अर्बौं रकम बराबरका बील भुक्तानी नभएको व्यवसायीहरुले बताएका छन् । नेपाल सरकारका विभिन्न मन्त्रालयमा १० अर्ब रुपैयाँ हाराहारीको बिल र बिल बन्न बाँकी ४० अर्ब रुपैयाँ हाराहारीको भुक्तानीका लागि स्रोत नै नभएको जवाफ पाएको निर्माण व्यवसायीको आरोप छ ।

महासंघका अनुसार खानेपानी, स्वास्थ्य, सडक विभाग अन्तर्गत पुल, सडक, मध्य पहाडी राजमार्ग, नदी नियन्त्रण, रेल्वे विभाग, स्थानीय अस्पताल, सहरी विकास परियोजनासहितका धेरै आयोजनामा सम्पन्न भए अनुसारको रकम भुक्तानी रोकिएको हो ।