ज्ञानगंगामा निःशुल्क आँखा शिविर

मेचीकाली संवाददाता

३० श्रावण २०८०, मंगलवार
714 shares

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित ज्ञानगंगा पाठशालाले दुई दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । देशव्यापीरुपमा फैलिएको आँखा दुख्ने तथा पाक्ने रोगले सताएको अवस्थामा विद्यालयले समस्या निराकरणका लागि शिविर आयोजना गरेको हो ।

समूहगत रूपमा जमघट हुने स्थान भएकाले विद्यार्थीहरुलाई उक्त रोग नियन्त्रणको लागि यस कार्यक्रमको आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोकायाले जानकारी दिए ।

श्री कृष्ण नेत्रालय बुटवलसँग समन्वय गरी आयोजना गरिएको शिविरमा करिब एक हजार विद्यार्थीसहित पचास शिक्षकले प्रत्यक्ष लाभ लिएका थिए । विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानको अलवा स्वास्थ्य प्राथमिकतामा पर्नुको साथै शिक्षण सिकाई हुने भएकोले छिट्टै दन्त शिविरको आयोजना गर्न लागिएको विद्यालयका प्राचार्य चन्द्र अधिकारीले बताए ।

विगतका वर्षमा पनि आम्दा अस्पतालका बालरोग विशेषज्ञ विनोद पराजुलीसँग समन्वय गरी विद्यार्थीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरिएको विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानेले बताए ।

आँखा शिविरमा श्रीकृष्ण नेत्रालयबाट नेत्र चिकित्सक मोलहु गुप्ताले सङ्क्रमीत विद्यार्थीलाई सरल तरिकाले परीक्षण गरि आँखाका जटिल समस्या देखिएका बिरामीलाई अस्पताल पठाइएको बताए । उक्त शिविरमा आँखा अस्पतालबाट एन्जिला श्रेष्ठ, तानिया राजाकर, दीव्या जैसवालले समेत सहजीकरण गरेको विद्यालयका सहप्राचार्य केशवराज पन्तले बताए ।