प्रहरी निरीक्षक बोहरालाई सम्मान तथा फेरी भेटौंला कार्यक्रम

मेचीकाली संवाददाता

९ भाद्र २०८०, शनिबार
352 shares

पार्वती आचार्य

कपिलवस्तु । साथी संस्था कपिलवस्तु र महिला मानव अधिकार रक्षक संजाल कपिलवस्तुको आयोजनामा सम्मान तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाद्वयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक शैलेश्वरी बोहराको १ वर्ष ४ महिना कपिलवस्तु जिल्लाको महिला बालबालिका तथा जेष्ठ नागरिकका सवालहरुको क्षेत्रमा सकृय रुपमा अग्रणी भूमिका निर्वाह गरेको कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरेको हो ।

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष प्रकाश गैरे, साथी संस्थाका प्रमुख बिमला घिमिरे र महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष पुष्पा रेग्मीले प्रहरी निरीक्षक बोहरालाई एक कार्यक्रमको आयोजना गरी महिला बालबालिका तथा जेष्ठ नागरिकका सवालहरुको क्षेत्रमा सकृय रुपमा अग्रणी भूमिका निर्वाह गरेकोमा कार्यको उच्च मुल्यांकन गर्दै आगामी दिनमा उक्त कार्यको निन्तरताको अपेक्षाका साथै पदोन्नतीको शुभकामना सहित कदर पत्र , मायाँको चिनो र खादाले सम्मान गर्नु भएको हो ।

कार्यक्रममा महिला आश्रय गृहका संचालक सदस्य तथा कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले शान्ति सुरक्षामा सक्रियता हुनुका साथै प्रहरीमा सेवा दिंदा आउने विविध समस्याहरुलाई मुस्कान सहितको सेवाबाट समाधान गर्नु नै महत्वपूर्ण भएको बताउनु भयो ।

कपिलवस्तुमा एक वर्ष भन्दा बढीको अवधिमा महिला बालबालिका माथि हुने हिंसा न्यूनिकरणका लागि बिभिन्न क्षेत्रका बिद्यालयहरुलाई लक्षित गरी लैंगिक हिंसा सम्बन्धिका अभियानहरु संचालनले अभिभावक सचेत हुने कार्य भएको भन्दै प्रहरी निरीक्षक बोहराको कार्यको प्रशंसा गर्नु भयो । हाल कपिलवस्तु देखि सरुवा भई बर्दिया जिल्लाको मोतिपुर ईलाका प्रहरी कार्यालयको ईन्चार्जको रुपमा सरुवा भएर गए पनि उहाँको कार्य सेवाको उच्च मुल्यांकन होस भन्ने सुभकामना दिनु भयो ।

सो अवसरमा प्रहरी निरीक्षक बोहोराले कपिलवस्तु जिल्लामा एक बर्ष चार महिनाको सेवा अवधिमा जिम्मेवारीलाई पूर्ण रुपमा पालना गरेको बताउनु भयो । घरेलु हिंसाको तथ्यांक हेर्ने हो भने यस जिल्लामा डर लाग्दो अवस्था छ । महिला बालबालिका तथा जेष्ठ नागरिक माथि हुने लैंगिक हिंसाहरुलाई आफुले हेरी उनिहरुलाई सहज रुपमा न्याय दिलाएको बताउनु भयो ।

कैलाली, रुपन्देही र कपिलवस्तुमा महिला बालबालिको क्षेत्रमा एकदमै नजिकबाट सेवा गर्न पाएको बताउँदै तिन जिल्लामा काम गर्दा महिला बालबालिकाको क्षेत्रमा सबै भन्दा बढी कपिलवस्तुका महिलाहरु धेरै हिंसामा परेको उहाँको भनाई छ । महिला बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरु स्थानिय तहहरुसंग समन्वय गरेर अभियानहरु संचालन गरे थप प्रभावकारी हुने बिस्वास व्यक्त गर्नुभयो । यस जिल्लामा रहँदा सम्पूर्ण सरोकावालाहरुको राम्रो सहयोग पाउनुका साथै यस सम्मानले आफूलाई कार्य सेवा क्षेत्रमा थप उर्जा मिल्ले बताउनु भयो ।

यस्तै गैर सरकारी संस्था महासंघ कपिलवस्तु शाखा अध्यक्ष जय प्रकाश पाण्डेय, इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले प्रहरी निरीक्षक बोहोराको सेवा अवधिमा देखिएको लगनसिलताको प्रशंसा गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।

साथी संस्थाका प्रमुख बिमला घिमिरेले महिला आश्रय गृह संचालन गर्दा महिला सेवा केन्द्रमा महिला नै रहेको हुँदा काम गर्न एकदमै सहज भएको बताउनु भयो । अलपत्रमा परेका बालबालिका, लैंगिंक हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई न्याय दिलाउने कार्यमा अहोरात्र रुपमा खटिई प्रशंसनिय कार्य गरेको बताउँदै उच्च सम्मान सहित सफल कार्यकालको शुभकामना दिनुभयो ।

उक्त कार्यक्रम महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष पुष्पा रेग्मीको अध्यक्षतामा फातिमा फाउण्डेसनका अध्यक्ष रुपैया खातुन, साथी संस्थाका काउन्सीलर सुस्मा गुरागाई, महिला मानव अधिकार रक्षक संजालका सुस्मा आचार्य, संगिता चौरासिया लगाएको उपस्थित रहेको थियो ।