न्यूनतम सेवा मापदण्डका आधारमा पिपरा अस्पतालले पायो ५६ प्रतिशत अंक

मेचीकाली संवाददाता

२४ भाद्र २०८०, आईतवार
445 shares

पार्वती आचार्य

कपिलवस्तु । न्यूनतम सेवा मापदण्डका आधारमा बाणगंगा स्थित पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो । यस अघिको मापनमा यस अस्पतालले ४७ प्रतिशत अंक प्राप्त गरेको थियो । स्थानीय तहले संचालन गर्ने लुम्बिनी प्रदेशका ४ वटा अस्पताल मध्ये पिपरा अस्पताल दोस्रो भएको हो ।

वडा नं. २ को सभाहलमा भएको न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम अन्तरगत अस्पतालको अनुगमन मुल्यांकन समिक्षामा सो तथ्यांक प्रस्तुत गरिएको हो । उक्त तथ्यांक प्रस्तुत गर्दै विगतको तुलनामा अस्पतालको सुधारोन्मुख पाइएको प्रदेश स्वास्थ्य निर्देशनालय एवं भिम अस्पतालका निमित्त मेसु तथा न्यूनतम सेवा मापदण्ड कार्यन्वयन अनुगनम मुल्यांकन समितीका स्रोत व्यक्ति डा.मोहम्मद नरुल हुदाले जानकारी दिए ।

अस्पतालको संस्थागत व्यवस्थापन, सुशासन, मानवस्रोत व्यवस्थापन र विकास, मेडिकल रेकर्ड र सूचना व्यवस्थापन, गुणस्तर व्यवस्थापन लगायत ७ सय ६१ वटा मापदण्डहरु चुस्त, दुरुस्त पालना गरे÷नगरेको आधारमा अंक दिइने गरिएको उनको छ ।

कार्यक्रममा बााणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी अर्यालले अस्पताल व्यवस्थापन एवं गुणस्तरिय सेवा प्रदानका लागि यस आर्थिक बर्षमा ७० लाख बजेट विनियोजन गरिएको बताए । साथै पिपरा अस्पतालमा अब छिट्टै सबै सरोकारवाला पक्षको सहकार्यमा अप्रेसन सेवा समेत संचालन गर्ने तयारी भईरहेको मेयर अर्यालले जानकारी दिए ।

यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरीले अस्पताल व्यवस्थापन टोली, चिकित्सक, स्वास्थ्यकर्मी सबैको मेहनतले सो अंक प्राप्त गर्न सफल भएको भन्दै धन्यवाद दिइन् । उनले अस्पताललाई प्रदेशमै नमुना बनाउनका लागि स्थानीय सरकार सधै साथमा रहेने प्रतिबद्धता जनाइन् ।

यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख रामचरण कुर्मी, बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय राज कुमार तिवारी लगायतले मन्तव्य राखेका थिए । यस्तै अस्पतालको गतिविधि एवं संचालनबारे निमित्त मेसु राजेन्द्र चौधरीले प्रस्तुतिकरण दिएका थिए भने अस्पतालका चिकित्सक डा. गणेश क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

न्यूनतम सेवा मापदण्डका आधारमा आर्घखांचीको चिसा पानी अस्पताल ५८ प्रतिशत अंकका साथ प्रथम भएको छ भने लमही अस्पताल ४५ प्रतिशत अंक प्राप्त गरेको छ यस्तै शिवराज अस्पताल ४४ प्रतिशत अंक प्राप्त गरेको छ ।