बाबाको त्याग

मेचीकाली संवाददाता

२८ भाद्र २०८०, बिहीबार
407 shares
सीमा बन

सधै सुखी देखिन्छन उनी
सधै खुसी देखिन्छन उनी
दुख्दैन उनको मन, दुख्दैन उनको तन
खै कसरी गरुं बयान तिम्रो
कुन शव्दको लिउं सहारा
नथाकी बस्ने तिमी सन्तानको पहरा ।।

आमालाई गितमा भेटें
आमालाई गजलमा भेटें
आमालाई कविले लेखे
आमालाई संगीतले देखे
कसैले लेखेन तिम्रा वेदना
कसैले देखेन तिम्रा पसिना
पसिना सुकाउने, वेदना लुकाउने
तिम्रो बर्णन गर्न कुन शव्दको लिउं सहारा
कति सहज तिम्रालागि सन्तानको अभिभारा ।।

तिमीले बांजो जोतेर मेलो सम्मायौ
पाखुरीको बलमा धन कमायौ
पसनिा बेचेर जवानी सकायौ
अंह थाकेनौ कहिले, गलेनौ कहिले
सन्तान सुखमा सधै रमायौ
कसैले देखेन तिम्रा दुखका खेला
परिपक्क भएर हो कि बाबा
बल्ल छामछुम गर्ने मन छ, तिम्रा हातका ठेला ।।

आमाको सपर्शले मांया ममता सिकायो
बाबाको हातको ठेलाले संघर्ष सिकायो
गुरुको गृहकार्यले अनुशासन सिकायो
बेन्चमा संगै बस्ने साथीले मित्रता सिकायो
हिंड्दा लागेका ठेसहरुले अगि बढ्न सिकायो
तर कसैले सिकाएन बाबा, तिम्रा पसिना पुछ्न
तिमी शव्दको कुनै भण्डारमै छैनौ
भाग्यमानी हुनुपर्छ तिमीलाई पुज्न ।।

आमाले चिनाईदिएको नाता तिमी
पानी आउंदा ओत लाग्ने छाता तिमी
पाना पानामा सजाएर हामीलाई
सुरक्षा दिने गाता तिमी
आफू अनपढ बनिकन सन्तानलाई
अशल शिक्षा दिने ज्ञाता तिमी
तर कसैले लेखेन तिम्रा वेदनाका गित
कसैले देखेन तिम्रो मनभित्रको प्रित
मर्द भएर रुनुहुन्न भन्थ्यौ
घरमा सधै कठोर बन्थ्यौ
कुन शव्दले बयान गरुं
तिम्रो कठोरता भित्रको घाउ
बुझ्दै जांदा गाह्रो रैछ
बन्नलाई सन्तानको बाउ ।।

तिमी सधै फक्रेको फूल बन्यौ
आफू जागा बसी परिवारलाई झुल बन्यौ
चाउरीन थाले गाला तर बदलिएन तिम्रो चाला
आखीर जीवन त हो नि थाहै नपाई गल्यौ तिमी ।
थला पर्दा पनि छैन पिर आफू मर्छु भन्ने
बरु पिर छ सन्तानको भोकको
भन्छौ खाना खाई बस भर छैन रोगको
अन्तीम श्वाससम्म पनि तिमी
सन्तानको आहारा खोज्छौ
ढाडस दिैदै सन्ततीलाई पहरा बन्न खोज्छौ
सांच्चै बाबा तिम्रो साथमा
सुरक्षाकर्मीको जत्था भन्दा सुरक्षीत लाग्छ

विश्वास छ तिमी बोल्न सक्ने मात्रै बन
तिम्रो आवाजले सैतानी भुत पनि भाग्छ ।।

तिमी पहरा हौ, शितलता दिने छहरा हौ
किन महशुस गर्दैन कोही तिम्रो शितलताको
किन सुरक्षा ठान्दैन कोही तिम्रो पहराको
दवाावमा होईन अभावमा बुझ्छ मान्छे
जिवनले कोल्टो फेर्दै जांदा
तिम्रो बाटोलाई हेर्दै जांदा
बुझ्ने भएकि छु बाबा
सन्तानप्रतिको तिम्रो मांया
अनि तिम्रा त्याग र योगदानहरु
नमेटिने गरी छापिएका छन
मेरा मानसपटलमा
सकुंला नसकुंला तिम्रो अभिभारा तिर्न
तर तिम्रो त्याग र योगदानलाई
सधै सलाम गर्नेछु बाबा ।।