जुन रोगको समस्या ज्यादा छ, त्यसैको सेवा निम्छरो

मेचीकाली संवाददाता

२८ भाद्र २०८०, बिहीबार
340 shares

लुम्बिनी प्रादेशिक अस्पतालले युरोलोजिस्ट, ग्यास्ट्रोइन्टेरोलोजिस्ट र क्याथल्याब सेवा विस्तार गर्दै । झण्डै एक वर्षदेखि थन्काइएका करोडौं मूल्यका उपकरण प्रयोगमा ल्याउने तयारीमा हालको समिति ।

अमृत गिरी

बुटवल । खानपान, रहनसहन र जलवायु परिवर्तनका कारणले जनस्वास्थ्यमा धेरै प्रकारका घातक स्वास्थ्य समस्या देखिने गरेका छन् । नसर्ने रोगको भयावह अवस्था छ । तर, उपचारका लागि सहज, सुलभ, प्रभावकारी र स्तरीय सेवा छैन ।

उपलब्ध भएको पनि पालो कुर्दा उस्तै परे ज्यान जाने, भएभरको सम्पत्ति सकिने र बिरामीको ज्यान पनि सकिने जस्ता दर्दनाक व्यथा धेरैले भोग्नुपरेको छ । बुटवलमा रहेको मुलुककै पुरानोमध्येको विशेषज्ञ सेवासहितको लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २५०० को हाराहारीमा बिरामीहरु आउँछन् । यीमध्ये पछिल्ला समयमा अधिकांशमा नसर्ने प्रकारका जटिल रोगसमेत देखिने गरेका छन् ।

मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीका लागि सहज, सुलभ र प्रभावकारी उपचारको प्रबन्ध छैन । जटिल अवस्थाकालाई तत्कालै रिफर गरिन्छ भने थप परीक्षण गर्नुपर्नेलाई समेत बाहिर जानुपर्ने बाध्यता छ ।
यहीँ अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रादेशिक अस्पतालले अहिले केही विशेषज्ञ सेवा थप गर्न लागेको छ । युरोलोजिस्ट, ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजिज र क्याथल्याबका सेवा विस्तारको तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए । यद्यपि यसको तारतम्य मिलाउने निकायका रुपमा रहेको प्रदेश सरकारले ‘फास्टट्रयाक’ मा काम गरिरहेको छैन ।

ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजिज अन्तर्गत् पेट, कलेजो, आन्द्रा र पाचन प्रक्रियालगायतमा हुने समस्या हो । यसप्रकारका समस्या भएका बिरामी दैनिक रुपमा आउने गरेका छन् ।
युरोलोजिस्ट भन्नाले मुत्र रोग विशेषज्ञ बुझिन्छ । जसले महिला, पुरुष, बच्चा तथा वृद्धको मुत्र प्रणालीका अंगहरु (जस्तैः मिर्गौला, मुत्र बाहिनी नली, मुत्रथैली, मुत्रनली र लिङ्ग) सम्बन्धी रोगको निदान र उपचार गर्छन् । यसबाहेक प्रजनन प्रणाली र एड्रिनल ग्रन्थीसम्बन्धी अवस्थालाई पनि उपचार गर्ने गर्दछन् ।

यसक्षेत्रको सबैभन्दा पुरानो विशेषज्ञ सेवा दिने अस्पतालमा सामान्य अवस्थाका धेरै बिरामी आउँदा अरु जटिल रोगका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ । यसलाई व्यवस्थापन गर्दै अत्यावश्यक देखिएका सेवा विस्तार गर्ने तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको भनाइ छ ।

हाल अस्पतालमा आउनेमध्येका अधिकांश बिरामीमा मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका छन् । तर, तिनीहरुको परीक्षण र उपचारको सहज प्रबन्ध प्रादेशिक अस्पतालमा छैन । कतिपय नसर्ने रोगको त यहाँ परीक्षणसमेत हुँदैन । बिरामीहरु महँगोमा अन्यत्र र निजी तथा सामुदायिकमा धाउनुपर्ने बाध्यतामा छन् । यता सेवा उपलब्ध रहेको सामुदायिक अस्पताललाई पनि न त जग्गाको प्रबन्ध छ न त आवश्यक भवनको नै । राज्यको समग्र स्वास्थ्य नीति मै परिवर्तनको खाँचो महसुश भइरहेको विज्ञहरुको गुनासो छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा करिब ७ करोडको लागतमा ग्यास्ट्रोइन्टेरोलोजिस्टको सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षअघि नै इआरसिपी मेसिन र मोटराइज्ड स्पाइलर इन्टेरोसेपी मेसिन गरिद गरेर राखिएको छ । आधुनिक प्रकारको यो उपकरणसहितको यो सेवा सञ्चालन गर्न इआरसिपी, इन्स्टरोस्कोपी विषयमा तालिम लिएको डीएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट चाहिन्छ । बुटवलमै रहेका यस्ता विशेषज्ञलाई अस्पतालले हायर गरेर नयाँ सेवा थप गर्न सक्ने भएपनि त्यसतर्फ ध्यान गएको छैन ।
यस्तै क्याथल्याबको मेसिनसमेत करिब १० करोड रुपैयाँमा खरिद गरेर जडान गरी राखेको झण्डै १० महिना भयो । अहिले नयाँ समिति आएर यसका सरोकारवालासँग ताकेता गरेपछि अबको दुईतीन महिनामा क्याथल्याब सञ्चालन ल्याउनेगरी तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले बताए ।

क्याथल्याब सञ्चालनका लागि कार्डियोलोजिस्टसहितका स्वास्थ्यकर्मीको अहिले बल्ल प्रबन्ध भएको छ । यद्यपि आपत्कालीन अवस्थाको सेवा यसबाट तत्काल दिन सकिने अवस्था नभएको मेसु थापाको भनाइ छ । सामान्य प्रकारका बिरामीलाई उपचार गर्न मिल्नेगरी अबको तीन महिनासम्ममा क्याथल्याब सञ्चालन गर्नेगरी काम भइरहेको मेसु थापाले बताए ।
यसमा एन्जिओप्लास्ट र एन्जिओग्राफका सेवा विस्तार गरिने छ । हृदयाघात भएर सामान्य अवस्थामा फर्केका र हृदयाघातको सामान्य लक्षण देखिएका बिरामीको परीक्षण गर्नेगरी क्याथल्याब चलाउने तयारी भइरहेको मेसु थापाको भनाइ छ ।
सर्वसाधारणका लागि निःशुल्क ओपिडी सेवा, अति विपन्नलाई बेडमा समेत छुट र बीमाको समेत प्रबन्ध गरिएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा सर्वसाधारणको आकर्षण बढाएको छ । यद्यपि नसर्ने प्रकारका गम्भीर रोगको परीक्षण र उपचार दुवै प्रभावकारी हुन सकिरहेको छैन ।

बिरामीहरुको समस्या र अवस्थालाई हेरेर अहिले विशेषज्ञ सेवा थप गर्न लागेको, नयाँ नियमावली बनाउन लागेको, सर्वपक्षीय सम्मेलनमार्फत कार्ययोजना तय गर्न लागिएको समितिका अध्यक्ष श्रेष्ठले फेहरिस्त सुनाए । श्रेष्ठले आफ्नो नेतृत्वमा समिति बनेदेखि यहाँको यथार्थ अवस्था र समस्याको अध्ययन गरी सामूहिक रुपमा समाधानको प्रभावकारी पहल सुरु गरिएको दाबी गरे ।
बिरामीको अनुपातमामा न्यून रहेको जनशक्ति र उपलव्ध साधन स्रोतबाटै प्रभावकारी सेवा प्रावह गर्ने उद्देश्यले समितिको अगुवाईमा नयाँ नियमावली बनाइरहेको बताउँदै अध्यक्ष श्रेष्ठले २४ सै घण्टा अस्पताल सञ्चाल गर्दा सिफ्ट मिलान गर्नेदेखि काम गर्नेलाई जवाफदेही र प्रोत्साहित गराउने उद्देश्य लिइएको बताए ।

एनआइसीयू र एसएनआइसीयू पनि थप गरिँदै
मातृ तथा शिशु स्वास्थ्यलाई थप गुणस्तरिय बनाउन नवजात शिशु सघन उपचार (एनआइसीयू) विभागको ८ शैयालाई बिस्तार गरी १२ पु¥याउने र नवजात शिशु विशेष हेरचाह (एसएनआइसीयू) विभागलाई १३ शैयाको स्थापना गरी सेवा प्रदान गर्न लागिएको मेसु थापाले बताए । लुम्बिनी प्रदेशका १२ जिल्लासहित गण्डकी प्रदेशका स्याङ्जा, पर्वत र बागलुङ जिल्लाका नागरिकसमेत यहीँ अस्पतालमा स्वास्थ्य सेवा लिन आउने गरेको र अवस्था हेरेर कैयौंलाई निशुल्कसमेत सेवा प्रदान गर्दै आइएको छ ।

के–के छन् उपलब्ध सेवाहरु ?
अस्पतालमा विशेषज्ञ सेवासहित सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, बाल चिकित्सा, कार्डियोलोजी, न्यूरोलोजी, न्यूरोसर्जरी, युरोलोजी मनोरोग, अर्थोपेडिक शल्यक्रिया (फिजियोथेरापी सेवासहित) नाक, कान, घाँटी (इएनटी) शल्यक्रिया, स्त्री तथा प्रसूति रोग विभागहरू र मुख स्वास्थ्य तथा दन्त र छालाको लागि ओपिडीका सेवाहरू अस्पतालले उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिए ।

यसका अतिरिक्त अत्याधुनिक सेवासहितको प्रयोगशाला, रेडियोलोजी, इको, अल्ट्रासाउण्ड, इसिजी, इन्डोस्कोपीलगायतका सेवाहरू पनि उपलब्ध छन् । नियमित रुपमा खोप, एआरटी सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन सेवा, क्षयरोग नियन्त्रण कार्यक्रमलगायत डटस, कुष्ठरोग नियन्त्रण कार्यक्रम र मलेरिया नियन्त्रण कार्यक्रम प्रत्यक्ष अवलोकन थेरापी (डट्स) सेवा पनि अस्पतालले उपलब्ध गराउँदै आएको डा.रानाले बताए ।