सैनामैना व्यापार संघमा पदस्थापनः आर्थिक क्षेत्र उकास्ने योजना बनाउन आग्रह

मेचीकाली संवाददाता

६ आश्विन २०८०, शनिबार
255 shares

सैनामैना । विश्वव्यापी आर्थिक मन्दीको मार भोगीरहेका बेला राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको भन्दै सैनामैनाका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । सैनामैनामा रहेका उद्योगी, व्यवसायीहरुले उद्योग व्यापारदेखि आर्थिक सरोकार राख्ने सबैजसो क्षेत्र समस्याग्रस्त रहेकाले तीनै तहका सरकारले राहत प्याकेजसहितको विशेष कार्यक्रम बनाउन आग्रह गरेका छन् ।

सैनामैना व्यापार संघमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोहमा सहभागी व्यापारी तथा व्यवसायीहरुले समस्या समाधानका लागि तीनै तहका सरकार मिलेर राहत प्याकेजसहितको विशेष कार्यक्रम बनाउन आग्रह गरे ।
सैनामैना व्यापार संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र पौडेलले मारमा परेका उद्योगी, व्यापारी तथा व्यवसायीहरुको हक हीत र लगानीको सुरक्षाका लागि तीनै तहका सरकारले विशेष चासो दिएर कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

सैनामैनाको तय भएका समृद्धिको आधार साकार पार्न संघका तर्फबाट पनि भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको विषम परिस्थितिमा नगरपालिकाबाट पनि राहत प्याकेजसहितको विशेष कार्यक्रमको खाँचो रहेको बताए । उनले व्यापार, व्यवसायको विस्तारसँगै सम्भाव्य अध्ययन गरेर पालिकामै कुनै न कुनै उत्पादनमूलक क्षेत्रमा पनि लगानी बढाउनेगरी विज्ञहरुको परामर्श लिई कार्यक्रम बनाइने पनि बताए ।
अध्यक्ष पौडेलले सैनामैनामा स्थायी मेला स्थलको खाँचो रहेको बताए । उनले नगरपालिकाले उपयुक्त स्थानको खोजी गरी निजी क्षेत्रमा उत्साह जगाउनेगरी सहकार्य गर्न पनि आग्रह गरे । व्यापार व्यवसाय सञ्चालन र विस्तारका लागि लिइने र लिइएका विभिन्न प्रकारका कर, वित्तीय संस्थाबाट लिइने कर्जालाई सुभल र सहज बनाउन सम्बन्धित संघसंस्था र निकायसँग समन्वय गरेर प्रभावकारी कार्यक्रम बनाउने र बहाल कर सम्बन्धित घरधनीबाटै तिराउनुपर्नेमा उनको प्रतिबद्धता थियो ।

रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले विद्यमान आर्थिक संकटले मुलुकको सबैक्षेत्र प्रभावित भएको भन्दै मारमा परेका उद्योगी, व्यवसायी तथा व्यापारीलाई विशेष राहत प्याकेजसहितको योजना ल्याउन आग्रह गरे । उनले कर, वित्तीय कर्जालगायतका क्षेत्रमा साना लगानीकर्ताले राहतको अपेक्षा गरेको अध्यक्ष घिमिरेको भनाइ थियो ।
चेम्बर अफ कमर्शका महासचिव तथा उद्यमी जेपी कँडेलले साना करदातालाई प्रोत्साहन, पुरस्कार गर्नुका साथै स्थानीय स्रोतको उपयोग, सीपमूलक शिक्षा, कर प्रणालीजस्ता क्षेत्रमा आमूल सुधार गरी संघ तथा प्रदेश र स्थानीय तहकाबीच समन्वय र सहकार्यमा कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए ।

संघका सल्लाहकार तथा उद्यमी खुशीराम चौधरीले आयातमुखी रहेको मुलुकको व्यापार व्यवसायलाई विस्तारै उत्पादनमा जोड्ने कार्यक्रम बनाउन राज्यका निकायलाई आग्रह गरे । उनले पालिकालाई कुनै न कुनै उपजमा आत्मनिर्भर बनाउन किसानहरुसँग सहकार्य गरेर विशेष आकर्षणको कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।
सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले सैनामैनामा रहेका प्राकृतिक साधन तथा स्रोतको पहिचान गरि तत्काल उपयोग गर्न प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिए । उनले सैनामैनामा लाग्दै आएको महोत्सवमा नगरपालिकाले अभिभावीय भूमिका निर्वाह नगरेको गुनासो गरे । उद्योग बाणिज्य संघको आयोजनामा आगामी मंसिरमा सैनामैना महोत्सव लाग्दैछ ।

संघका महासचिव भीम सुवेदीले सैनामैनामा उपलब्ध रहेको मानव संसाधनको क्षमता, योग्यता र दक्षता वृद्धि गरी रोजगारी सिर्जना गर्न निजी क्षेत्र र पालिकाका बीचमा सहकार्य गरिने बताए । उनले संघले बृहत् अन्तत्र्रिmयामार्फत सैनामैनाको सामथ्र्य र समृद्धिमा निजी क्षेत्रको भूमिकाका विषयमा विशेष छलफल सञ्चालन गरिने बताए ।
कार्यक्रममा सहभागी उद्यमी तथा व्यवसायीहरुले कृषिक्षेत्रलाई आधुनिक, व्यावसायिक र विविधीकरण बनाउन पालिकालाई आग्रह गरेका थिए । उनीहरुले राहत र अनुदानलगायतका कार्यक्रमलाई पारदर्शी, वैज्ञानिक बनाउन पनि आग्रह गरे । निजी क्षेत्रको लगानीको सुरक्षको प्रभावकारी वातावरण बनाउन हौसला र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारसँग उनीहरुको आग्रह थियो । कार्यक्रममा स्थानीय अगुवा चन्द्रकान्त भण्डारी, कृष्णप्रसाद बस्याललगायतले मन्दीबाट परेका असरलाई कम गर्ने खालका विशेष कार्यक्रम बनाउन पालिकासंग आग्रह गरेका थिए ।

‘निजी क्षेत्रको सहकार्यमा मात्रै सैनामैनाको समृद्धि’
सैनामैना नगरपालिका प्रमुख फणिन्द्रप्रसाद शर्माले निजी क्षेत्रको सहकार्यमा मात्रै सैनामैनाको समृद्धिको सम्भव रहेको भन्दै सोहीअनुरुपका नीति नियम बनाइने बताए । सैनामैना व्यापार संघको पदस्थापन समारोहको उद्घाटन गर्दै प्रमुख शर्माले नगरमा रहेका विकार र समृद्धिका सम्भावनालाई साकार पार्न सरकार एक्लैले नसक्ने भएकाले निजी र सहकारी क्षेत्रको भूमिका अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रममा सहभागी उपप्रमुख बिना रानाले नगरपालिकाले उद्यमीलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम बनाइरहेको बताइन् । उनले आर्थिक गतिविधिलाई प्रभावकारी बनाउन, उपभोक्ताको हीतका कार्यक्रम सञ्चालन गर्न र अनुगमनका कार्यलाई पारदर्शी र प्रभावकारी बनाउन पनि निजी क्षेत्रसंग विशेष सहकार्य गरेर कार्यक्रम बनाइने बताइन् ।