उपकारको अधिवेशन र साधारणसभाको तयारीः उम्मेदवार बन्न सहकारी तालिम अनिवार्य

मेचीकाली संवाददाता

८ आश्विन २०८०, सोमबार
302 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङमा रहेको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारणसभा तथा नवौं अधिवेशन असौज २९ गतेदेखि सुरु हुने भएको छ । सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाको साधारणसभा तथा अधिवेशनसम्वन्धी जानकारी गराएको हो ।

सहकारीले अधिवेशनवाट नयाँ आउने कार्यसमितिलाई नेतृत्वसम्वन्धि दक्षता र पारदर्शी गराउन तालिम र परिक्षा आयोजना गरेको छ । नेतृत्व क्षमता विकास र सहकारी सम्वन्धी तालिम यहि असोज १० र ११ गते सन्चालन हुने उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यवाहक अध्यक्ष लक्ष्मीपति पौडेलले जानकारी गराए ।

कार्यक्रममा पत्रकारहरुले सहकारी ऐन नीति र कार्यविधि विपरित अधिवेशनमा उमेद्वारी हुन तालिम र परिक्षा अनिवार्य गरिनुले सहकारीको भावना र मर्म विपरित त भएन भन्ने प्रश्नमा का।वा अध्यक्ष पौडेलले कुनैपनि संस्थाको दिगो विकास र क्षमता विकासका लागि सन्चालकको दक्षता महत्वपूर्ण भएकाले यसो गर्न लागिएको वताए । यो विषयको कानुनी परामर्श भइरहेको समेत उनले जानकारी दिए ।
नेपाल सरहकारको सहकारी ऐन नियम र कार्यविधिमा भने यस्तो व्यवस्था छैन । तर सहकारी समस्या समाधान कार्यदलले बुझाएको प्रतिवेदनमा भने यो विषय उठान गरिएको पौडेलले बताए ।
सात हजार आठ सय १४ शेयर सदस्य रहेको सहकारीको साधारण सभा सबै इकाइहरुवाट सुरु भइ वालिङमा इकाइ प्रतिनिधि सभावाट सम्पन्न गरिने समेत जानकारी दिए । साधारण सभा सम्पन्न भएपछि अधिवेशन सुरु हुने समेत जानकारी दिए ।

सस्थाको कुल ८२ करोड कारोवार रहेको सहकारीको अधिकृत सेयर पुँजी २० करोड र चुक्ता सेयर पुँजी ७ करोड ६९ लाख ५३ हजार आठ सय रहेको छ । सहकारीमा सदस्यहरुको बचत रु ६२ करोड ६० लाख १३ हजार चार सय छ रुपैंया रहेको छ भने कर्जा लगानी ४७ करोड ७७ लाख ६४ हजार छ सय १० छ ।

वित्तिय हिसावमा पछिल्लो समय निकै सुधारिएको संस्थाका कार्यवाहक अध्यक्ष पौडेलले दावी गरेका छन् । उनले भने देशको विद्यमान परिस्थितीमा पनि सबै कोषहरुमा बाँडफाँड पछि पनि ६१ लाख खुद मुनाफा कमाउन सफल रहेको पनि जानकारी दिए ।

कार्यक्रममा संस्थाका सचिव यज्ञ प्रसाद अधिकारी, संस्थाका महाप्रवन्धक झलकनारायण पाण्डे लगायतले संस्थाका वित्तिय अवस्था र भावी रणनितीका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।