वालिङमा आधुनिक बसपार्क निर्माण हुने

मेचीकाली संवाददाता

९ आश्विन २०८०, मंगलवार
233 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङमा बसपार्क नहुँदा अस्तव्यस्त रूपमा सडकको दायाँबायाँ सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता अब भने हट्ने भएको छ ।

बढ्दो सवारीसाधन र अव्यवस्थित पार्किङको समस्याको भोगाईको अन्त्य गर्नका लागि वालिङमा सुविधा सम्पन्न बसपार्क निर्माण हुने भएको छ ।

वालिङ नगरपालिका वाड नं ८ स्थित शितलनगरमा आधुनिक बसपार्कको निर्माणको लागि नगरपालिकाले नगरविकास कोषसँग सम्झौता गरेको छ । बसपार्क निर्माण गर्न सम्झौता गरेपछि नगर प्रमुख कृष्ण खाँण सफल भएका छन् ।

सोमबार नगरविकास कोषसँग कुल १२ करोड २७ लाख ५७ हजार रुपैयाँको सम्झौता भएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए ।

खाँणका अनुसार कुल सम्झौता रकममध्ये नगर विकास कोषसँग ६ करोड ७५ लाख १६ हजार ३ सय ५० ऋण लिइएको हो भने नगरपालिकालाई १ करोड २२ लाख ७५ हजार ७ सय रुपैयाँ नगरविकास कोषबाट नै अनुदान प्राप्त भएको हो ।

त्यसैगरी ४ करोड २९ लाख ६४ हजार ९सय ५० रुपैयाँ वालिङ नगरपालिकाले लगानी गर्ने नगर प्रमुख खाँणले जानकारी दिए ।

स्मार्ट सिटीको अवधारणा लिएर अगाडी वढेको वालिङ नगरले सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साघुरो बनेको थियो । सवारी पार्किङको समस्या समाधानको लागि विस्तृत परियोजना प्रतिवेदन९डीपीआर० अनुरुप नगर विकास कोषले ऋण लगानी गर्न तयारी भएको र सोही अनुरुप बसपार्क निर्माण हुने नगर प्रमुख खाँणले बताए ।

नमुना बसपार्क निर्माणको लागि शहरी विकास कोषको ९० प्रतिशत तथा वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार भएको थियो ।

नमुना बसपार्कको टर्मिनल भवन, घेरा पर्खाल, वर्कशप, आन्तरिक बाटो लगायत सम्पूर्ण निर्माणको लागि १४ करोड ४१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । यसको लागि शहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा काम सम्पन्न हुनेछ ।

निर्माण सम्पन्न भएपश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिनेछ ।

जीप, मिनीबस, माइक्रोबस लगायतका छोटो दुरीमा चल्ने सवारी साधनहरु प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । त्यसैगरी लामो दुरीमा चल्ने बसहरु प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरु प्रतिघण्टा ८ वटा, प्रतिघण्टा २ पाङ्ग्रे १० वटा, निजी सवारी कारहरु २० वटा अटाउन सक्ने क्षमताको रहने नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले बताए ।

बसपार्क निर्माणको लागि यसै आर्थिक वर्षमा टेण्डर आह्वान हुने इन्जिनियर रेग्मीले बताए । बसपार्क संचालनमा आएपछि वालिङ नगरपालिकाको बजार अस्तव्यस्तको समस्या हल हुने बताइएको छ ।