केपी ओली कप क्रिकेट प्रतियोगिता मंसिर ७ गतेबाट

मेचीकाली संवाददाता

११ आश्विन २०८०, बिहीबार
243 shares

बुटवल । पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० प्रतियोगिता’ यहि मंसिर ७ गतेबाट १६ गतेसम्म हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिता मंसिर १६ गते सम्म सञ्चालन हुने भएको हो ।

एकेडेमीले पोखरामा बिहिबार पत्रकार सम्मेलन गरि सो बारे जानकारी दिँदै एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ क्लब र एकेडेमीका यू–१९का दुई टिम गरी १२ टिमको सहभागिता हुने जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु.५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २ लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आचार्यले बताए । आइसिसीको नियमअनुसार खेलाइने उक्त प्रतियोगितामा म्यान अफ द सिरिजले नगद रु.३० हजार रूपैयाँ, बेस्ट बलरले नगद रु.२० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद रु.५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ २०६६ साल पुस १७ गते जननेता मदन भण्डारीको नाममा स्थापना भएको एकेडेमीले मुलुकको खेलकुद विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले भने,‘ युवालाई खेलकुदसँग अन्तरसम्बन्धित गराई राष्ट्रव्यापी रूपमा व्यवसायिक खेलाडी उत्पादन गरी अनुशाशित, मर्यादित र राष्ट्रप्रेमी नागरिक बनाउने लक्ष्यअनुरूप यसले आफ्ना सिर्जनात्मक गतिविधिहरू अगाडि बढाइरहेका छौं ।’ उनले आयोजना हुने टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता त्यसैको एक शृंखलासमेत रहेको बताए ।

पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय क्रिकेटर तथा एकेडेकी क्रिकेट विभाग प्रमुख शक्ति गौचनले क्रिकेट खेलको विकासका लागि एकेडेमीका संरक्षक तथा पूर्वप्रधानमन्त्री केपी ओलीको नाममा हुने प्रतियोगिताले सबै खेलाडीहरुलाई हौसला दिने बताए । सो अवसरमा गण्डकी प्रदेश सभाका पूर्वसांसद एवं एकेडेमीका सल्लाहकार मोहन रेग्मीले एकेडेमीले आयोजना गर्ने गरेको टी–२० राष्ट्रिय प्रतियोगिताले खेलाडी उत्पादनसँगै खेलकुद विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले खेलकुदको विकासका लागि तल्लोतहबाट (ग्रास रुट) गर्नुपर्ने सुझाव दिँदै खेलकुदबाट नै अनुशाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिश्पर्धी नागरिक उत्पादन गर्न सकिने उल्लेख गरे ।

उक्त प्रतियोगिता हरेक वर्ष विभिन्न प्रदेशमा आयोजना हुने गरि तय गरिएको उनले जानकारीसमेत दिए । कार्यक्रममा एकेडेमीका उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज राजेशकुमार गुरुङले पोखरामा आयोजना हुने प्रतियोगिताका लागि सबैले सहयोग गर्न आग्रह गरे । सो अवसरमा एकेडेमीका केन्द्रिय सदस्य कृष्ण तिमिल्सिनाले समेत आफ्ना भनाइ राखेका थिए ।